|

डडेल्धुरा : पछिल्लो समयमा धेरै युवाहरु देशमा रोजगारी नपाएको भन्दै विदेश जाने गर्दछन्। विदेशमा पसिना बगाउँछन्। तर, आफ्नो देशमा भने विदेशमा जस्तै मिहिनेत गर्ने कमै मात्रै छन्। विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्ने झन् कम छन्।

डडेल्धुराको परशुराम नगरपालिका–४ कटालका २६ वर्षीय ओमप्रकाश जोशी भने विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्न जुटेका छन्। एक वर्ष इजरायलमा कृषिसम्बन्धी काम गरेका उनी त्यहाँबाट फर्किएपछि गाउँमै कृषि कर्ममा लागेका छन्।

जमिन भाडामा लिएर व्यवसायिक कृषि

परशुराम नगरपालिका–४ कटाल घरभएका ओमप्रकाश एक वर्षअघि सोही ठाउँको साना किसान सहकारी संस्थामार्फत ११ महिने कृषि प्राविधिक तालिममा सिफारिस भई इजरायल गएका थिए। ११ महिना इजरायलको बसाइ पश्चात स्वदेश फर्केका ओमप्रकाश हाल आएर आफूले सिकेको आधारमा आधुनिक कृषि प्रणालि तरकारी खेतीमा लागेका छन्। 

बिबिएसको अध्ययन सकेका उनले दुई बिघा जग्गा भाडामा लिएर खेती गरिरहेका छन्। उक्त जग्गाको वार्षिक भाडा २० हजार रुपैयाँ छ। 

दुई बिघामध्ये डेढ बिघामा आलु खेती गरेका छन्। उनले ‘मल्चिङ विधि’ प्रयोग गरेर आलु रोपेका छन्। ‘डेढ बिघामा १० देखि १२ क्विन्टल आलु लगाएको छु,’ उनले भने, ‘एक कठ्ठामा केरा खेती छ। एक कठ्ठा जतिमा टमाटर लगाएको छु।’ 

ओमप्रकाश कृषि खेतीबाट परशुराम नगरपालिकालाई नमूना नगरपालिका बनाउने लक्ष्यसहित अघि बढेको बताउँछन्। साथै, नगरपालिकामा बेरोजगार रहेका युवाहरुलाई आगामी दिनमा रोजगारी दिने उनको योजना छ।

‘हामीले वातावरण सुहाउँदो खेती गर्नुपर्छ,’ उनले भने, ‘परशुराम नगरपालिकालाई कृषिमा एउटा नमूना नगरपालिकाका बनाउन र यहाँका बेरोजगार युवाहरुलाई रोजगार दिनको लागि पनि म लागिरहेको छु।’

सीप सिकाउँदै 

आफ्ना छरछिमेकी र स्थानीयलाई समेत ओमप्रकाशले आधुनिक कृषि कसरी गर्ने भनेर सिकाइरहेका छन्। विगतमा परम्परागत कृषि खेती गर्ने यहाँका किसान ओमप्रकाशबाट सीप सिकेपछि आनुधिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्। 

परशुराम नगरपालिका–४ कटालकै नन्दादेवी जोशी परम्परागत खेती गर्थिन्। ओमप्रकाशले नयाँ आधुनिक तरिकाले खेती गर्न सिकाएपछि उनी पनि आनुधिक तरकारी खेती नै गर्न थालेकी छन्। 

‘विगतमा वर्षमा हामी अन्य तरिकाले खेती लगाउँथ्यौं। अहिले आधुनिक तरिकाले लगाएका छौँ,’ उनले भनिन्, ‘यो वर्ष राम्रो फलेमा आगामी वर्ष पनि हामी आधुनिक तरिकाले नै खेती गर्छौं।’

फिल्ड प्रतिवेदनका आधारमा किसान छनोट गरेर कृषि ज्ञान केन्द्र डडेल्धुराले ५० प्रतिशत अनुदान लागानी गर्ने गरेको छ। जसमा ५० प्रतिशत लगानी किसानको र ५० प्रतिशत लगानी कृषि ज्ञान केन्द्रले गर्ने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका योजना शाखा अधिकृत नित्यान्म जोशीले बताए।

विदेशिने युवालाई ओमप्रकाशको सुझाव

युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी गर्न सकिने उनी बताउँछन्। देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने उनको भनाइ छ। 

‘युवाले आफनै देशमा केही न केही गर्नुपर्छ। विदेशी भूमिमा हामीले बगाउने पसिना यही नेपालकै भूमिमा बगाऔँ,’ उनले भने, ‘विदेश गइरहनु पर्दैन। मलेसिया, कतारलगायतका देशमा कमाउन सकिने पैसा आफ्नै देशमा कामाउन सकिन्छ।’

विदेशी भूमिमा घण्टौं पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा नेपाली भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिने उनको बुझाइ छ। ‘आफ्नै देशमा मेहनत गरौं। यहीँ व्यवसायिक तरकारी खेती गरे मासिक ४० देखि ५० हजार रुपैयाँसम्म कमाउन सकिन्छ,’ उनले भने, ‘म सबै युवा साथीहरुलाई देशमै केही गर्न आग्रह गर्छु। विदेश जानु हुँदैन हामी युवाहरुले।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.