|

बाग्लुङ : बाग्लुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ। 

देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बाग्लुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सबस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो।

विद्युत् मागभन्दा सबस्टेशनको भारवाहन क्षमता कम भएका कारण अनियमित विद्युत् कटौतीको समस्या भोग्दै आएका बाग्लुङवासीलाई सबस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै समस्या हटेर गएको नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बाग्लुङमा विद्युतको मागअनुसार सवस्टेशनले आपूर्ति गर्न नसक्दा अनियमितरूपमा विद्युत् कटौती हुने समस्या भएको भन्दै बाग्लुङ जिल्लालाई विद्युत् आपूर्ति गर्दै आएको बाग्लुङ नगरपालिका–१ रामरेखामा रहेको ३३/११ केभी क्षमता रहेको सवस्टेशनको क्षमता वृद्धि गरिएको वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशलीले जानकारी दिए। 

‘हामीले यही शुक्रबारबाट लागू गर्ने गरी सवस्टेशनको क्षमता थप गरेका छौँ,’ गोशलीले भने, ‘क्षमता थप गरेसँगै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ।’ छ एमभीए क्षमताको सवस्टेशनलाई क्षमता विकास गरी ११ एमभीए क्षमताको बनाइएको वितरण केन्द्रले जनाएको छ। 

सवस्टेशनको क्षमता विस्तार गरेसँगै बाग्लुङ जिल्लाको विद्युत् मागलाई पर्याप्तरूपमा धान्ने केन्द्र प्रमुख गोशलीले बताए। विद्युत् मागलाई ध्यानमा राखेर गलकोटको हरिचौरमा ३३÷११ केभी तीन एमभीए क्षमताको सवस्टेशनसमेत सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ। यससँगै बाग्लुङ जिल्लामा १४ एमभीए सबस्टेशनको क्षमता पुगेको छ। बाग्लुङमा चार एमभीए बराबरको विद्युत् माग रहेको छ। पर्याप्त विद्युत् आपूर्ति हुँदासमेत पर्याप्त सबस्टेशनको क्षमता नहुँदा बढी विद्युत् खपत हुने समय साँझ र बिहान विद्युत् अनियमितरूपमा कटौती हुँदै आएका कारण प्राधिरकणले सवस्टेशनको क्षमता वृद्धि गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.