अवैधरूपमा कुवेत पठाउने म्यानपावरलाई कार्वाही गर्न माग

|
फाइल तस्विर

काठमाडौं : संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ। थुनामा राखेका उनीहरूको दण्ड जरिवानी तिरेर भए पनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए। थुनामा रहेका ती नागरिकका लागि ५४ लाख जरिवान तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासको भनाइ छ।

त्यसैगरी, समितिले उनीहरूलाई अवैधानिक ढंगले कुवेत पुर्‍याउने म्यान पावर कम्पनीमाथि पनि कडा कार्वाही गर्न सरकारलाई सचेत गराएको छ। सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ।

परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरूलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताए। उनले समितिको बैठकमा उनीहरूमाथि तोकिएको दण्ड जरिवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दूतावासले कुरा गरिरहेको पनि जानकारी दिए।

बैठकमा समितिका सदस्यहरूले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए। समितिका सदस्य प्रकाश रसाईलीले कुवेतमा बन्धक बनाइएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन पनि सरकारलाई सचेत गराए।

समितिका सदस्यहरूले नेपाली कामदारलाई अवैधानिक ढंगले वैदेशिक रोजगारमा लग्ने म्यानपावर कम्पनीको छानविन गरी कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.