|

दमक : पर्यटन वर्ष २०२० नजिकिएसँगै झापाको दमक १० स्थित इन्द्रेणी तालको संरक्षण र प्रवर्द्धनमा संघ र प्रदेश सरकारको चासो बढेको छ।

दुवै तहका सरकारमार्फत यस वर्ष ३० लाख रुपैयाँ खर्च हुने भएको छ। यस तालको प्रवर्द्धन र संरक्षणमा नगरपालिका र संघीय सरकार मातहतको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत स्तरोन्नतिको काम हुन लागेको हो।

तालका लागि दमक नगरपालिकाको चालु आर्थिक वर्षको १५ लाख र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गतको १५ लाख गरी ३० लाख रुपैयाँको बजेट व्यवस्थापन गरेको दमक १० का वडा अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए। 

करिब १ हजार मिटर लामो तालको दुवैतर्फ यस अघि नै कच्ची सडक निर्माण गरी सकिएको छ। तर बर्षाका समयमा बाटो निर्माणका क्रममा लगाइएका ह्युमपाइपहरू बगेका र कतिपय स्थानमा बाटो समेत बिग्रिएकोले पहिलो चरणमा ती ह्युमपाइपलाई व्यवस्थित गर्दै क्षति पुगेको सडकमर्मत गरिने अध्यक्ष न्यौपानेको भनाई छ।

यस्तै तालको प्राकृतिक स्वरुपलाई नविगारी कनै पानीका स्रोतको विकास गर्ने जातका बिरुवा पनि रोपिने अध्यक्ष न्यौपानेले बताए। स्थानीय भालु खोलालाई करिब चार दशक अघि सो स्थानका स्थानीय माटोको कच्चीबाँध निर्माण गरी सिँचाइको सुविधा उपभोग गर्दै आएका थिए। यही स्थानमा सरकारको सहयोगमा पक्की बाँधमा परिणत गरिएपछि यसले तालको रुपमा लिएको हो।  

बजेट अभाव, राजनीतिक फेरबदल जस्ता कारणले यस तालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार हुन नसक्दा यसको दिगो विकासमा समस्या भएको इन्द्रेणी ताल तथा सिमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद दाहालले बताए। 

तालको प्रवर्द्धन गरी व्यवस्थित पार्न सके यो स्थान पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय तुलसी कुवँरले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.