फिचर

ढोरपाटन शिकार आरक्षका कारण ओझेलमा पर्‍यो 'बराह' ताल

मंसिर १, २०७६

    म्याग्दी : अग्ला पहाडको बीचमा अवस्थित निलो तालनजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन र आसपासमा समथर भूभागमा प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याई दिएको गूर्जाको वार्मीपार्मी र बराह ताल। 

    म्याग्दीको सदरमुकाम बेनीबाट करिव २६ कोष टाढा रहेको धौलागिरी गाउँपालिका १ गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रापछि पुगिने हेपुडाँडामा दुईवटा सुन्दर ताल छन्। ढोरपाटन शिकार आरक्षको घुस्तुङ ब्लगमा पर्ने उक्त क्षेत्रमा सुन्दर दुई ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। 

    समुन्द्री सतहदेखि करिव ४ हजार ५ सय मिटर उचाइमा अवस्थित म्याग्दी र रूकुम जिल्लाको सीमा क्षेत्रनजिक पर्ने तालमा ढोरपाटन शिकार आरक्षबाट अनुमति लिएर विदेशी शिकारीसहित कर्मचारी पुग्ने गर्दछन्।

    मौसमअनुसार वार्मीपार्मी र बराहमा पानीको रंग फेरिने दृष्यले त्यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको गूर्जाका स्थानीय समाजसेवी केआइसिङ छन्त्यालले बताए। ‘तालसम्म पुग्नै गारो छ। पहाडभित्र लुकेका तालको धार्मिक महत्व छ’ छन्त्यालले भने। उनका अनुसार गाउँबाट गोठ लिएर उक्त क्षेत्रतर्फ जाने गरिए पनि पछिल्लो समय स्थानीयको आवतजावतमा कमी आएको बताए। 

    गूर्जाबासीले दशकौ अगाडि आवतजावत गर्ने उक्त स्थान हुँदै चुरेन हिमाल नजिकबाट देखिन्छ। जंगली जनावर थार, झारल, नाउर, मृग जस्ता सुन्दर र चञ्चल जंगली जनावर पाखामा चर्ने गरेको दृष्यले त्यहाँ पुग्नेलाई लोभ्याउने हेलिकोप्टरबाट त्यहाँ पुगेका मोना अन्तर्राष्ट्रियका उपाध्यक्ष एवं एनआरएनए अमेरिकाका सदस्य अमर छन्त्यालले बताए। 

    ‘पशुचौपायाको गोठ लिएर यहाँसम्म आउने गरिन्थ्यो। हेपुडाँडालाई रुकुमबासीसँगको सम्बन्ध स्थापित गर्ने माध्यम समेत हो’ छन्त्यालले भने। उनका अनुसार अत्याधिक जंगली जनावर पाइने भएकाले पनि वैधानिक शिकारका लागि ढोरपाटन शिकार आरक्षकै प्रख्यात स्थल समेत रहेको बताए। 

    गूर्जा गाउँदेखि स्थानीय निकै कठिनका साथ पहिलो दिन मनसुङ भन्ने ठाउँमा बास बसेर अर्को दिन यहाँ पुग्न सक्छन् भने केहीलाई भने तीनदिनसम्म लाग्ने गरेको धौलागिरी गाउँपालिकका प्रवक्ता समेत रहेका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए। 

    ‘ग्रामीण पर्यटनका लागि सुन्दर स्थान हो। बस्तीबाट धेरै टाढा जंगली जनावरलाई आँखै अगाडि देख्न सकिने स्थान हो’ छन्त्यालले भने। उनले  बाटोको असहजताले गर्दा यसको संभावना हराउँदै गएकोमा चिन्ता ब्यक्त गरे।

    आरक्षबाट बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आएर यस क्षेत्रमा बस्ने गर्दछन्। खर्चिलो र सहसी शिकारीले विदेशमा दुईवटै तालको प्रचारप्रसार समेत गर्ने गरेको बताए। नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, वन्यजन्तु जस्ता विभिन्न दृश्यले मन आनन्दित पार्ने भएकाले पनि पर्यटन विकासमा प्राथमिकता दिनुपर्ने बताए। 

    कसरी पुग्ने तालसम्म?

    देशका विभिन्न जिल्लाबाट यातायातका साधनको प्रयोग गरी बेनी आउन सकिन्छ। दोस्रो दिन यातायाताको साधनम बेनी नगरपालिका, मंगला, मालिका हुँदै धौलागिरी गाउँपालिकाको लुलाङमा बास बस्न सकिन्छ। लुलाङको लम्सुङमा बास बसेर तेस्रो दिन लम्सुङबाट पैदल यात्रामार्फत धना जंगल हुँदै करिव ८ घण्टाको यात्रामा गुर्जा गाउँमा पुग्न सकिन्छ।

    चौथो दिन आसपासका क्षेत्रमा रहेका जंगल र लामो यात्राको योजनासहितको पहिलो दिन मनसुङ भन्ने स्थानमा बास बसेर दोस्रो दिन यहाँसम्म पुग्न सकिन्छ। यस स्थानबाट रुकुम जिल्लाको चालुखे भन्ने ठाउँमा पुग्न सकिन्छ। त्यहाँबाट दोगानी, डोवान हुँदै लम्सार भन्ने ठाउँमा प्रमुख आयस्रोत मानिने यार्सागुन्बा पाइन्छ। तत्कालीन समयमा रुकुमबासीसँगको सहकार्यमा धेरैपटक गूर्जाबाट यसमार्ग हुँदै रुकुम गएका छन्।

    हिउँ पग्लिएर बाटोमा आवत-जावतमा समेत समस्या हुने गरेको दुईपटक त्यस क्षेत्रमा पुगेका हाल पोर्चुगल रहेका चित्र छन्त्यालले बताए। उनले नेपालको पर्यटन क्षेत्रमा प्रचारप्रसार गर्न सकिने दुईवटै ताल ओझेलमा परेको बताए। उनले अग्लो स्थानमा रहेको ताललाई म्याग्दी जिल्लाले आश्चर्यजनक गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए। 

    उक्त तालसम्म पुग्न ज्यानको बाजी राखेर समेत यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाई छ। पहिलोपटक गुर्जा जानेलाई पश्चिम म्याग्दीको रुट नै सहज हुन्छ। गुर्जा एउटा सहासिक पदयात्राका लागि समेत प्रख्यात मानिन्छ।

    उकाली र ओरालीमा यात्रा गर्दा थकान महसुस गरिए पनि आसपासमा रहेका जंगलका चराचुरुंगीको आवाजले मोहित गराउँछ।

ध्रुवसागर शर्मा

शर्मा थाहा खबरका म्याग्दी समाचारदाता हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]