|

तनहुँ : भानु नगरपालिका तथा डिभिजन वन कार्यालय तनहुँले पासो बनाइ चितुवा पार्न सफल चार व्यक्तिलाई आइतबार सम्मान गरेको छ। कालीगढ हरिभक्त ढकाल र मनबहादुर राना एवं मद्दत पुर्‍याउनेहरू सहायक कालीगढ हिराबहादुर आले र लसबहादुर आलेलाई सम्मान गरिएको हो।

लामो समयदेखि तनहुँको भानु नगरपालिकामा चितुवाले बालबालिकालाई आक्रमणको क्रम बढेको छ। चिुतवा आक्रमण बढेसँगै भानु–२ निवासी ७७ वर्षीय हरिभक्त ढकाल र मनबहादुर रानाले चितुवा नियन्त्रणका लागि पासो निर्माण गरेका थिए।

नरभक्षी चितुवा पासो बनाइ पार्न सफल भएको तथा पुराना सीप नयाँ पुस्तामा हस्तान्तरण गरेको भन्दै सम्मान गरिएको हो। भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले दोसल्ला ओढाइ सम्मान पत्र तथा नगद प्रदान गरी संयुक्त रूपमा सम्मान गरेका थिए।

डेढ वर्षको अवधिमा भानु  नगरपालिकाको १,२,३ र ४ नम्बर वडामा नरभक्षी चितुवाको आक्रणबाट ६ बालबालिकाको मृत्यु भइसकेको छ भने चारजना घाइते भएका छन्।

सम्मानित व्यक्तिहरूले बनाएको पासोमा तीनवटा चितुवा परेको थियो। ढकालले निर्माण गरेको पासोमा दुइटा चितुवा परेकोले १० हजार र रानाले निर्माण गरेको पासोमा एउटा परेकोले ५ हजार तथा उनीहरूलाई मद्दत पुर्‍याउने आले र कुमाललाई दुई हजार ५०० रुपैयाँ नगद प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

नरभक्षी चितुवा धेरै भएकोले चितुवा सक्रिय हुने समय साँझ तथा बिहानपख बालबालिका तथा आफू पनि बाहिर ननिस्कने र चितुवा लुक्न सक्ने घर वरिपरीको झाडी हटाउने कार्य गर्न भानुवासीलाई डिभिजन वन प्रमुख बरालले आग्रह गरे।

सो अवसरमा चितुवाको खोर बनाउन मद्दत पुर्‍याउने विभिन्न ५ वटा सामुदायिक वन तथा वडालाई समेत सम्मान गरिएको छ। सामुदायिक वन र वडालाई पनि दुई हजार ५०० को दरले सम्मान गरिएको थियो। नगरपालिका र डिभिजन वनले २५/२५ हजार रुपैयाँ गरी ५० हजार रुपैयाँ सम्मानमा खर्च गरिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.