|
फाइल तस्विर

पर्वत : बिग्रिएको एक्जाभेटर मर्मत गर्ने क्रममा चोट लागेर पर्वतमा एकजनाको ज्यान गएको छ।

जिल्लाको बिहादी गाउँपालिका ३ रानीपानीको इमीचौरमा पुल निर्माणका लागि प्रयोग भएको एक्जाभेटर चेन मर्मतका क्रममा चोट लाग्दा सोही एक्जाभेटरमा सहचालकको रूपमा कार्यरत प्युठान जिल्लाको मक्षी भन्ने ठाउँ बस्ने २३ वर्षीय महेन्द्र जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

उनका अनुसार शनिवार साँझ ६ बजेको समयमा एक्जाभेटर मर्मत गरिरहेको अवस्थामा चेनको टुक्रा उछिट्टिएर जिसीको छातीमा लागेको थियो। पीडा असह्य भएपछि राति नै पाल्पाको मिसन अस्पतालमा उपचारको लागि लगिएको भए पनि उपचारकै क्रममा उनको ज्यान गएको हो।

ज्यान गुमाएका जिसी छिमेकी जिल्ला गुल्मीको कालीगण्डकी गाउँपालिका ३ जयखानीबाट रानीपानी जोड्ने कालीगण्डकीको पुल निर्माण गरिरहेको एलाइड कन्स्ट्रक्सन प्रालिमा कार्यरत थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.