|
प्रतीकात्मक फोटो

हेटौँडा : मकवानपुरको भीमफेदी कारागारबाट शनिबार राति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएपछि  गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।

गृह मन्त्रालयले घटनाको छानबिन गर्न आइतबार साँझ मन्त्रालयका उपसचिव दीपक नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ। मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने ‘समितिले कारागारमै पुगेर आवश्यक छानविन गरी प्रतिवेन गृहमा पेस गरेपछि प्रतिवेदनको आधारमा कारबाही अघि बढ्छ।’

शर्माका अनुसार छानबिन समिति गठनको निर्णय भएको छ  भने  सोमबार बिहान समितिका संयोजक नेपाललाई चिठ्ठी दिने तयारी गरिएको छ।

कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन्। धामीको खोजी कार्य व्यापक बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत सुरक्षा व्यवस्था कडा  गरिएको प्रहरीले बताएको छ।

कारागारमा रहेका कैदीहरूको आन्तरिक प्रशासनले राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्कालै खोजीकार्य अघि बढाइएको जेलर प्रकाश खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.