तीनजना धरौटीमा छुटे

|

बैतडी : जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

डोजर चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो। आइतबार जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता भानदेव जोशीले जानकारी दिए। 

यस्तै चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटी रिहा गर्ने आदेश भएको छ। गएको कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याएको थियो।

सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडप समेत भएको थियो। आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजरले महिलालाई हुत्याएको थियो।

डोजरले हुत्याउने चालक किशोर बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो। यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक भानीदत्त जोशी, स्थानीयहरू भोजराज जोशी र धर्मानन्द जोशीलाई कात्तिक ६ गते पक्राउ गरेको थियो।

सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले पक्राउ गरेको भए पनि जोशी पनि प्रहरी हिरासतमै रहेका छन्।

प्रहरी अनुसन्धान गरेर फाइल बुझाइसकेकाले सोमवार जिल्ला प्रशासन कार्यालयले टुंगो लगाउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए। 

छानबिन समितिले अझै प्रतिवेदन बुझाउन सकेन

बैतडी डोजर काण्डका विषयमा अदालतले निर्णय गरिसकेको भए पनि गत कात्तिक ५ गते स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउन नसकेको हो। सुरुमा छानबिन समितिको प्रतिवेदन समयसीमा ४८ घण्टाको राखिएको थियो। उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकेपछि पाँच दिनको म्याद थप गरिएको थियो। 

डोजर काण्डका विषयमा प्रतिवेदन तयार भएको तर प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएकाले बुझाउन नसकेको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। सो काण्डमा दोषी देखिएकाले कानुनअनुसार कारवाही हुनुपर्ने समितिले तयार पारेको प्रतिवेदनको सार रहेको नेगीले छानबिन समितिले जनाएको छ।

छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको रायसहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगमा पठाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। 

दशरथचन्द नगरपालिका ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रुप लिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.