|

तनहुँ : वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले टेवा पुर्‍याउने भएको छ।

तनहुँका चार स्थानीय तहहरूमा परियोजना सञ्चालन हुने भएको हो। तनहुँका १० स्थानीय तहहरूमध्ये धेरै वैदेशिक रोजगारीमा रहेका व्यास, शुक्लागण्डकी, भानु नगरपालिका र म्याग्दे गाउँपालिकामा परियोजनाले काम गर्नेछ।

परियोजना सञ्चालनका लागि सेवा प्रदायक संस्था ग्रामीण सशक्तीकरण समाज तनहुँ नेपालका अध्यक्ष सीतादेवी गुरुङ र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शुक्लागण्डकीका किसान गुरुङ, भानु नगरपालिकाका उदयराज गौली र म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेका छन्।

सामी परियोजनाका गण्डकी प्रदेश प्रमुख उमा शर्माले परियोजनाबारे जानकारी गराउँदै यसअघि दुई चरणमा ३९ वटा जिल्लामा परामर्शको काम भइरहेको र परियोजनाको तेस्रो चरणको पहिलो जिल्ला अन्तर्गत तनहुँका चारवटा स्थानीय तहसँग परामर्श कार्यान्वयनका लागि सम्झौता गरिएको हो। सम्झौता भएसँगै मंसिर १ गतेबाटै परामर्श सुरु भएको शर्माले बताइन्।

‘वैदेशिक रोजगारका सम्बन्धमा रोजगारकर्ता तथा वैदेशिक रोजगारमा जाने परिवारका लागि निःशुल्क सूचना तथा परामर्श सेवा निःशुल्क सीप, तालिम, अभिमुखीकरण, मनोसामाजिक परामर्श निःशुल्क कानुनी सेवालगायत अन्य विभिन्न प्रकारका सेवा प्रदान गरिनेछ’ उनले भनिन्।

वैदेशिक रोजगारीमा जाने युवालाई सुरक्षित आप्रवासनसम्बन्धी सूचना तथा सूचनाको अभिवृद्धि गर्ने परामर्श संस्थाको लक्ष्य रहेको शर्माले बताइन्। वैदेशिक रोजगारीमा जाँदा धेरै युवा ठगिरहेकोले परियोजना लागू भएसँगै यस्ता घटनामा स्वतह न्यूनीकरण हुने अपेक्षा गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विश्वास लिए। नगर प्रमुख न्यौपानेले वार्षिक १४ हजार बढीले श्रम स्वीकृति लिने गरेको भन्दै राहधानी बनाउने जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिने केन्द्रको परामर्शले टेवा पुग्ने बताए।

परियोजनाअन्तर्गत वैदेशिक रोजगारीमा जानेहरूलाई वैदेशिक रोजगारीमा कसरी जाने, जाँदा कति पैसा लाग्छ, कुन कुन देशमा रोजगारीका लागि जान पाइन्छ, कसरी ठगिन्छ, ठगिए के गर्ने, गन्तव्य मुलुकको अवस्था र हावापानी कस्तो छ, लगायतका बारेमा समेत सचेत गराइने परियोजनाका फोकल पर्सन व्यास नगरपालिकाको वरिष्ठ आलेप अधिकृत कुमार कञ्चन जिसीले जानकारी दिए।

‘सकेसम्म स्वदेशमै रोजगार गरौँ, यदी विदेश जाने भए सही सूचना लिएर र सीप सिकेर जाऔँ’ भन्ने नाराका साथ परियोजना अगाडि बढ्ने सेवा प्रदायक संस्था ग्रामीण सशक्तीकरण समाज नेपालकी अध्यक्ष सीता गुरुङले बताइन्। गुरुङका अनुसार स्थानीय तहमा परियोजना सञ्चालनका लागि २४ कर्मचारी खटिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.