हँसाउने विधा मात्रै होइन कार्टुन

|

काठमाडौं : हरेक दिन हुने घटना। तिनलाई प्रमाणित गर्ने तस्‍वीर। देशमा भइरहेका राजनीतिक सामाजिक, आर्थिक घटनाक्रमको विश्लेषण। कला र साहित्यको मिश्रणले भरिन्छन् पत्रिकाका पाना।

तिनै पत्रिकामा देख्छन् पाठकवर्गले राजनीतिक पार्टीको विचारधारा, समाजको मनोविज्ञान। समग्रमा पत्रिकामा देशको असली चित्र देखिन्छ। पाठकलाई पत्रिकामा हुने रंगीन र ब्ल्याक एण्ड ह्‍वाइट चित्र, चरित्र र घटनाले आकर्षित गर्छन्।

त्यही पत्रिकाभित्र एउटा स्तम्भ हुन्छ, कार्टुन। जुन धेरैको आकर्षणको केन्द्र हो। कार्टुनबिनाको पत्रिका खल्लो लाग्छ। धेरै पाठकले सबैभन्दा पहिले कार्टुनमै नजर पुर्‍याउँछन्। पत्रिकाका सबै पाना चहार्दा पनि नमिलेको सन्देश पाठकले एउटै कार्टुनबाट पाउँछन्। पछिल्लो समयमा पत्रिकाका हजारौँ शब्द भन्दा एउटै कार्टुन शक्तिशाली हुने गरेका छन्।

कार्टुन समग्र देशको घटनामध्ये सबैभन्दा रोचक र समय सान्दर्भिक घटनामा आधारित भएर बनाइने व्यंग्य चित्र हो। अचेल कार्टुनमा व्यंग्य मात्रै हुँदैन, सत्ता र शक्तिमा रहेकालाई घोच्ने गरी सन्देश पनि हुन्छ। जसले धेरैलाई सोच्च बाध्य बनाउँछ। कार्टुन हेरेर कोही रिसाउँछन्, कोही मुस्काउँछन्, कसैले मन दुखाउँछन्।

पत्रिकाका पानामा मुस्काइरहने कार्टुनसँग जोडिएको एउटा नाम हो रवि मिश्र। एक दशकदेखि कार्टुनसँग उनको साइनो जोडिएको छ। शब्द र आकृतिको गजब संयोजन गरेर कार्टुन बनाइरहेका उनी यसलाई अभिव्यक्तिको माध्यम ठान्छन्। 'कार्टुन विचार, घटना र सिर्जनामा आधारित रहेर व्यक्त गरिने अभिव्यक्तिको एउटा सुन्दर माध्यम हो', उनी भन्छन्।

हेर्दा सहज लागे पनि कार्टुन निर्माण आफैँमा चुनौतीपूर्ण काम हो। समाजका अनेक घटनामध्ये एउटालाई सरलरूपमा आमजनतालाई बुझ्‍ने कार्टुन बनाउनु कार्टुनिस्टको धर्म हो। 'जटिल विषयलाई अझै जटिल बनाउन सहज छ। तर, जटिल विषयलाई सरल बनाउनु झनै जटिल काम हो', मिश्र फिस्स हाँस्दै भन्छन्,'मलाई जटिल विषयलाई सरल बनाउने लत लाग्यो।'

साँघुरो परिधिमा जन्मिएको कार्टुनको लक्ष्य

नेपाली समाजमा बच्चाका सपना 'रेडिमेड' छन्। पढाईमा अब्बल हुनेलाई बुवाआमा शिक्षक, डाक्टर, पाइलट इन्जिनियर हुनुपर्छ भन्‍ने ट्याग लगाउँछन्। बाबुआमाको यो ट्यागबाट मिश्र पनि अछुतो थिएनन्।

बाबुआमाका तिनै सपनामा बच्चाहरू बहकिने  बाध्यता अहिले पनि उस्तै छ। किनभने बच्चाले त्यहाँभन्दा पुगेर सोच्‍नै सक्दैन। उमेर बढ्दै जाँदा धेरैले आफ्नो बाटो आफैं तय गर्छन्। आफ्नो लक्ष्यको गोरेटो आफैं कोर्दै अघि बढ्छन्। बाबुआमाका सपना सबै बच्चाले पुरा गर्दैनन्। मिश्र तिनैमध्ये एकजना थिए। मिश्रलाई बच्चामा आफूलाई देखाएका कुनै पनि सपना चित्तबुझ्दा लाग्दैनथे। 

उनी कविता पढ्थे कविहरू ठूला हुन् सोच्थे। गीत सुन्थे। गायक ठूला लाग्थे। नयाँ-नयाँ कथा पढ्थे। लेखक ठूला लाग्थे। म केही बनेँ भने यिनैमध्ये एउटा हुन्छु भन्‍ने लाग्थ्यो उनलाई।

 तर, डाक्टर पाइलट इन्जिनियरहरू उनलाई कहिल्यै ठूला लागेनन्। किनभने उनीहरूबारे न उनले कहिल्यै पढे, न खोजी नै गरे।

एकदिन दामोदर अधिकारी नामका व्यक्ति उनको स्कुलमा आए। दामोदर अधिकारी ललितकलाका विद्यार्थी रहेछन्। विद्यार्थीका अगाडि उनले बुद्धको मूर्ति बनाउन थाले। सबै विद्यार्थीहरू उनीसामु झुम्मिए। सबैजना उनीसामु झुम्मिँदा ठूलो मान्छे भनेको यस्तो पो हुँदो रहेछ, उनको मनले भन्यो। 

त्यसपछि उनले ठानेँ, म अब पनि यस्तै ठूलो मान्छे बन्छु। त्यसको कयौं दिनसम्म उनको आँखामा त्यही भीड घुमिरह्यो। विस्तारै  कलाकार बन्‍ने सपनालाई आकार दिन उनले चित्र बनाउन थाले।  

गृहजिल्ला नुवाकोटबाट एसएलसी दिए। चित्रकला पढ्ने औधि रहर थियो। पढाइमा अब्बल ट्याग पाएका अब्बल विद्यार्थीको रोजाई कि साइन्स कि म्यानेजमेन्ट हुन्थ्यो। उनले पनि सरस्वती क्याम्पस काठमाडौंमा म्यानेजमेन्ट पढे। ब्‍याचलर पढ्दै गर्दा कार्टुनबारे सिक्ने मोह जाग्यो। उनले फाइन आर्ट इन्टरबाट पढ्न सुरु गरे। ब्‍याचलर ललितकला क्याम्पस हुँदै मास्टर्स त्रिभुवन विश्वविद्यालय  केन्द्रीय विभागबाट सके। 

कार्टुन कला

पत्रिकामा देखिने कार्टुन जति रमाइलो, रोचक, घोचक हुन्छ। त्यसको निर्माण पक्रिया भने एकदमै कठिन छ। हरेक दिन बनाउनुपर्ने भएकोले देशमा हुने हरेक घटनालाई पढ्दै, सुन्दै विश्लेषण गर्नुपर्ने हुन्छ।

मिश्रको अनुभवले भन्छ, 'कार्टुन कोर्नु पहिले सुन्‍ने, पढ्ने र घटनाको विश्लेषण गर्ने क्षमता त चाहिन्छ। त्यसको निचोडले मात्रै कार्टुनको स्वरुप लिन सक्छ। कहिलेकाहीँ कम समयमै कार्टुन बन्छ। कहिलेकाहीँ लामो समयमा पनि कार्टुन बनाउन सकिँदैन', मन बुझाउँदै मिश्र भन्छन्, 'सिर्जना सधैँ सिर्जित पनि त हुँदैन नि।'

कार्टुन सिर्जना या घटनापछिको प्रतिक्रिया?

हरेक व्यक्तिले देशको राजनीतिक घटनाक्रम, आफू बाँचेको सामाजिक तथा आर्थिक अर्थव्यवस्थासँग विमत्ति राख्‍न पाउँछ। अझ भनौं आफ्नो धारणा व्यक्त गर्न रूचाउँछ।

कार्टुन सिर्जना हो। कार्टुनका विषय असंख्य छन्। कार्टुन हेर्दा सामान्य लाग्छ। तर बनाउँदा अध्ययन गर्न जरुरी छ। हरेक विषय पढ्दै जाँदा तीसँग आफू कन्भिन्स हुन थालियो भने कार्टुन बनाउन सकिँदैन। हरेक विषयवस्तुलाई सुक्ष्म अध्ययन नै कार्टुनको पहिलो सर्त हो। जब कन्भिन्स भइँदैन, हुनुपर्ने यस्तो हो भन्‍ने जवाफ दिन मैले कार्टुनको प्रयोग गर्छु। 

 कार्टुन के हो

कलाको माध्यम हो। पत्रकारिताको विधा हो। कार्टुन भनेको हास्यव्यंग्य हो। कार्टुन सिर्जना र विचार हो।

 

 

कार्टुनिस्ट बन्‍नुअघि र अहिले के फरक पाउनुभयो

पहिले लाग्थ्यो कार्टुन सजिलै बन्‍ने काम हो जस्तो लाग्थ्यो। अरूको फाइनल कपी हेरेर यो सहज काम हो जस्तो लाग्थ्यो। तर, जब आफैँले कार्टुन बनाउन थालियो, तब बुझियो कार्टुन हँसाउने चिज मात्रै होइन। यो त गम्भीर विधा पो रहेछ। कार्टुन जोकको विषय होइन भन्‍ने लाग्छ। 

कार्टुन बनाउँदा एउटा कार्टुनिस्टले बजारलाई हेर्छ कि घटनाको प्राथमिकतालाई?

आफ्नो रूचिलाई हेर्छ। यद्यपि पत्रिकामा कार्टुन बनाइरहँदा पत्रिकाको प्राथमिकतालाई पनि ध्यान दिन जरूरी छ। अहिले पत्रिकाको प्राथमिकता राजनीति नै हो।  त्यसपछि अन्य विषय। 

विश्वका हरेक मिडियाले कार्टुन प्रकाशन गर्छन्। हामीले बनाउने र उनीहरुले बनाउने कार्टुनमा के फरक छ

व्यंग्य, कला र विचारमा  विश्वका अन्य मुलुकका कार्टुनिस्ट र हामीमा कुनै भिन्‍नता छैन। घटना, कला र विचार कार्टुनको प्राथमिकता रहेकाले फरक-फरक पर्न सक्छ।  

कार्टुनमा प्रतिस्‍पर्धा हुन्छ?

हरेक अग्रज अनुज र समकालीन साथीहरूले कार्टुन निर्माण गरिरहनुभएको छ। हरेक कार्टुनिस्टको आफ्नै टेस्ट हुन्छ। कुनै पनि कार्टुनिस्टको प्रतिस्पर्धा आफ्ना कार्टुनसँग हुन्छ। हामीले निर्माण गरेका कार्टुनको शाख जोगाउनु नै हाम्रो जोड हो।  योभन्दा पर गएर अरू प्रतिस्‍पर्धीबारे सोच्छ भन्‍ने मलाई लाग्दैन। मेरो कुरा गर्नुहुन्छ भने मेरो प्रतिस्पर्धा आफैँसँग हो।

नयाँ पुस्ताका कार्टुनिस्टका चुनौती के छन्? 

जब मैले कार्टुन बनाउन थालेको थिएँ। त्यसबेला सोसल मिडिया थिएन। छापामा आउनुपर्थ्यो। अहिले आफ्नो कला देखाउने सहज माध्यम छन्। जसले गर्दा कार्टुन बनाउन सहज छ। अहिले छापा मिडिया बिस्तारै कम हुँदै गएका छन्। अनलाइन मिडिया प्रशस्त खुलेका छन्। तर, अनलाइन मिडियाले कार्टुनलाई महत्व दिएका छैनन्। यो नै चुनौतीको विषय हो। अनलाइन मिडियाले कार्टुनलाई पनि स्पेश दिन जरूरी छ।

कार्टुनको लत

कलेज समयदेखि नै पत्रिकामा आउने सानो कोलमको कार्टुनमा पर्थ्यो। उनी हरेक दिन फरकफरक पत्रिकामा आउने  कार्टुन हेर्न पुस्तकालय पुग्थे।  पत्रिकामा देखिएका कार्टुन आँखामा नाचिरहन्थ्यो।

उनी आफूले पढ्ने पुस्तकमा पनि कार्टुनको चित्र देख्‍न थाले। तिनै चित्र उनले कापीमा कोर्न थाले। 'कार्टुन बनाउँथे।। 'च्यात्थेँ। हार्न मन लाग्दैनथ्यो अनि फेरि बनाउँथे,' उनी ती दिन सम्झन्छन्। 

ब्याचलर्स पढ्ने क्रममा उनलाई लाग्यो कार्टुन बनाएर मात्र हुँदैन। देखाउने ठाउँ चाहिन्छ। त्यसबेला कार्टुन देखाउने भनेको छापा मिडिया थिए। देशमा जनआन्दोलनको आगो मत्थर हुँदैथियो। तर, मिश्रको मनमा कार्टुन बनाउने चाहनाको आगो झन् झन् बढ्दै गएको थियो। जनआन्दोलन मत्थर हुँदै जाँदा उनले पनि हिमालय टाइम्समा पुगेर मनभित्रको आगो निभाउन भ्याए।

सुरुमा नै नयाँ मान्छेलाई काम त्यति सहज थिएन। उनका कार्टुनको थिम र शैली हिमालय टाइम्सले मन परायो। उनले केही समय लगातार आफूले बनाएका कार्टुन बनाउँदै पत्रिका पठाउन थाले। 

तीन/चार महिनाको अन्तरालपछि उनलाई हिमालय टाइम्सले जागिरका लागि अफर गर्‍यो। त्यसदिन उनलाई लाग्यो, 'मैले देखेको सपना र मैले चाहेको काम पाएँ।' 

उनले साप्ताहिकमा काम गरे। आर्थिक दैनिकमा काम गरे। त्यसपछि कारोबार दैनिकमा ८ वर्ष कार्टुन बनाए। कारोबार दैनिकको ८ वर्षे बसाइबाट बिदा भएर उनी नयाँ पत्रिकामा कार्टुन बनाउँछन्।

कुनै घटनाको विमति हो कार्टुन

अभिव्यक्तिका फरक-फरक शैली हुन्छन्। ती शैलीमध्ये मिश्रले कार्टुन रोजे।

कार्टुनबारे हरेक उमेर समूहका व्यक्तिका लागि फरक-फरक परिभाषा हुन सक्छन्। कसैको लागि व्यंग्य मात्र हुन सक्छ।  कार्टुनिस्टको लागि कार्टुन विचारको अभिव्यक्ति हो। उसले भोगेको परिस्थिति, सामाजिक व्यवस्था, राजनीतिक अर्थ व्यवस्था, समसामयिक घटनाहरूको प्रतिक्रिया नै कार्टुनको माध्यमबाट देखाउने चिज हो। 

आफूले बनाउने कार्टुन पनि यिनै विषयमा आधारित हुने मिश्र बताउँछन्। कार्टुन धेरै मान्छेसम्म पुग्ने भएकाले पाठकले सहजै बुझून् भन्‍ने लाग्छ। उनीहरूलाई घत परोस् भन्‍ने पनि लाग्छ। बजारलाई हेरेर कार्टुन बनाइँदैन। तर, बजारले रूचाउने बनाउन चाहिँ एउटा कार्टुनिस्ट सदैव लागिरहने मिश्रले अनुभव सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.