फेरिएला मृत्यु मार्गको बिम्ब?

|

काठमाडौं : बुटवल-तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रको पहिरो छल्न सरकारले सुरुङ मार्गको प्रकिया अघि बढाएको छ। सुरुङमार्ग निर्माणलाई अघि बढाउने मन्त्रिपरिषद्‍ले बाटो खोलिदिएपछि अर्थमन्त्रालयले १० अर्ब रुपैयाँको सहमति दिएको छ।

मंसिर १ मा बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग निर्माणका लागि प्रकिया अघि बढाउन सहमति दिएको थियो। यसअघि १५ कात्तिक २०७६ मा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले डिजाइन निर्माण तथा संचालनको लागि आवश्‍यक १० अर्ब १५ करोड रुपैयाँ सुनिश्‍चितता गर्न आग्रह गरेको थियो। यो प्रस्ताव अर्थमन्त्रालयले आइतबारको मन्त्रिपरिषद् बैठकमा लगेपछि स्वीकृति पाएको हो।

मन्त्रिपरिषद्‍बाट स्वीकृति प्राप्त भएपछि अर्थमन्त्रालयले बहुवर्षीय ठेक्काको माध्यममबाट काम अगाडि बढाउन सहमति दिएको छ। अर्थमन्त्रालयले सहमति प्रदान गरिएको पत्र सोमबार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा पठाएको छ।

बहुवर्षीय ठेक्का मापदण्ड २०७६ बमोजिमको प्रक्रिया पूरा गरी विस्तृत आयोजना प्रतिवेदनअनुसार डिजाइन निर्माण तथा संचालन कार्य अघि बढाउन अनुमति दिइएको हो।

सरकारको तयारी

अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते आर्थिक वर्ष २०७६/७६ को बजेट विनियोजनको क्रममा सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डसहित मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्नको लागि बजेट विनियोजन गरेको बताएका थिए। सोही अनुसार सिद्धबाबाको प्रकिया अघि बढेको हो।

सिद्धबाबामा सुरुङ निर्माणका लागि २०७५ माघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्गको गुरुयोजना निर्माण गर्न अध्ययन गरेको थियो। सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्रलाई पहिरोको अति जोखिमयुक्त मानेर सुरुङ बनाउने योजना सरकारले ल्याएको हो ।

बुटवल दोभान सडक खण्डको सिद्धबाबा क्षेत्रमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोमा परेर पछिल्लो १० वर्षमा ७० भन्दा बढीले ज्यान गुमाएका छन्।

सिद्धबाबा मार्गको बिम्ब मृत्यु मार्ग

गुल्मी, पाल्पा, रूपन्देहीतर्फ सिद्धबाबा मार्गलाई 'मृत्यु मार्ग'को रूपमा पनि चिन्ने गरिन्छ। २०७६ असोज दोस्रो साता मात्रै सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डमा गुडिरहेको बसमा ढुंगा खसेको दृश्य सामाजिक सजालमा 'भाइरल' भएको थियो।

लु १ ख ६१८० नम्बरको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट ढुंगा खसेपछि त्यसमा सवार सबै यात्रु चिच्याएका थिए। यो ठाउँको लागि त्यो नयाँ दृश्‍य थिएन।

२०७६ भदौमा पनि यहीँ सडकखण्डकोे सिद्धबाबा क्षेत्रमा एकैचोटि दुईवटा बसलाई पहिरोले पुरेको थियो। पाल्पातर्फ जाँदै गरेको लु १ ज २६१७ नम्बरको जीप र पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ५९३८ नम्बरको स्कोरपियो पहिरोले पुरिँदा गुल्मी छापचौरका कमल सुनारले ज्यान गुमाएका थिए भने अन्य चार यात्रु घाइते भएका थिए। 

२०७६ असार २८ गते सिद्धबाबा क्षेत्रमै पहिरोमा परेर पाल्पा मित्यालका धनबहादुर सुनारीले ज्यान गुमाएका थिए। लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गर्दा सुनारी पहिरोमा परेका थिए। पहिरोसँगै बगेर भीरमा अड्किएका सुनारीको शव ३ घण्टापछि प्रहरीले भीरबाट निकालेको थियो। 

हिउँद होस् या बर्खा सिद्धबाबा क्षेत्रमा गइरहने पहिरोले यहाँको यात्रा निकै कष्टकर र त्रासदीपूर्ण बन्‍ने गरेको छ। यात्रु तथा सवारी चालकले ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको गुनासो गर्छन्।

बुटवल बसपार्कबाट पाल्पाका लागि दैनिक ५२ वटा बस छुट्छन्। तीमध्ये नौ वटा पाल्पाका खानीगाउँ, दर्लम, बतासे लगायतका स्थानमा पुग्छन्। प्रत्येक १५/१५ मिनेटमा सिद्धबाबाको जोखिमयुक्त सडक पार गरेर सवारी चालक र यात्रुहरूले यात्रा गर्छन्।

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.