|

काठमाडौं :  नेपाली भूमि कालापानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको कडा अभिव्यक्तिलाई लिएर भारतीय नेताहरुले मुख खोल्न थालेका छन्। 

मंसिर १ मा काठमाडौंमा भएको राष्ट्रिय युवा संघको भेलामा प्रम ओलीले दिएको कडा अभिव्यक्तिपछि भारतीय सञ्चारमाध्यम तरंगित भइरहेका बेला नेपालसँग सिमाना जोडिएको उत्तराखण्डका मुख्यमन्त्रीले मुख खोलेका हुन्।

भारतले लामो समयदेखि अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रबाट उसका सेना फिर्ता जानुपर्ने सार्वजनिक अभिव्यक्ति ओलीले उक्त कार्यक्रममा दिएका थिए। 

तर ओलीको यस भनाइको जवाफ फर्काउँदै सुदूरपश्चिम प्रदेशसँग सिमाना जोडिएको भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानीलाई भारतीय भूमि बताउँदै यो भारतमै रहने जिकिर गरेका हुन्। 

कालापानी अतिक्रमणबारेमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको बुधबार जवाफ फर्काउँदै उनले कालापानी क्षेत्र भारतकै भूमि रहेको बताएका हुन्। 

भारतीय समाचार अनलाइन अमर उजालाका अनुसार मुख्यमन्त्री सिंहले भनेका छन्,'जुन कुरा नेपालले भनिरहेको छ, त्यो एकदमै चिन्ताजनक कुरा हो। कालापानी भारतको भूभाग हो र यो भारतकै भूभागकारुपमा रहिरहनेछ।'

भारतीय पक्षले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित कालापानीक्षेत्र आफ्नै भएकाले यसमा नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ नरहेको पनि जिकिर गरेको छ। 

मुख्यमन्त्री सिंहले नेपालका प्रधानमन्त्री केपी ओलीको भनाइबारे आफु जानकार रहेको बताउँदै आफ्नो भूमिबाट सेना हटाउने कुरै नहुने पनि उल्लेख गरेका छन्। 

जम्मु-कश्मी र लद्दाखलाई टुक्राउने क्रममा भारत सरकारले एक महिना अघि सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा राखेको थियो। 

त्यसपछि नेपालमा लगातार भारत विरोधी प्रदर्शन भइरहेको छ। नेपालका प्रधानमन्त्रीले सोमबार यस मामिलामा बोल्दै नेपाली भूमि कालापानी क्षेत्रबाट तुरुन्त सैनिक हटाएर खाली गर्न भनेका थिए। यसबारेमा थप बोल्दै मुख्यमन्त्री वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने पनि उल्लेख गरेका छन्। 

उनले नेपाल भारतको मित्र राष्ट्र भएकाले वार्ताबाट समस्याको हल गर्नुपर्ने बताए। उनले नेपालको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै भारतमाथि गरिएको विरोध पनि उचित नभएको जिकिर गरे। 

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.