३४ सीमास्तम्भ गायब, सीमा नमिचिएको दाबी

|

बाँके : बाँकेमा ४६ किलोमिटर लामो नेपाल-भारत सीमा क्षेत्र छ। यस क्षेत्रमा सीमा रक्षाका लागि सशस्त्र प्रहरीको पाँचवटा सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय (बिओके) स्थापना भएका छन्।

यी बिओकेमा सशस्त्र प्रहरीले सीमा र दशगजा क्षेत्रमा रहेका जंगे पिलर तथा सहायक पिलरको रेखदेख गर्दै आएको सशस्त्र प्रहरी बल, नम्बर ३० गण, हेडक्वार्टर बागेश्वरी गणका प्रमुख प्रहरी उपरीक्षक दीपक अधिकारीले बताए।

उनले दशगजामा रहेका पिलर संरक्षण तथा रेखदेखका लागि भारतीय समकक्षीसँग समन्वय र सहकार्य गर्दै आएको बताए। अन्य जिल्लामा सीमा अतिक्रमणको समस्या भए पनि बाँकेमा अहिलेसम्म त्यस्ता कुनै समस्या नदेखिएको बताए। 'सीमा अतिक्रणको कहिँकतैबाट गुनासो आएको छैन,’ उनले भने।

३४ सीमास्तम्भ गायब

बाँकेमा पर्ने दशगजामा कुल ३०७ वटा पिलर रहेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। उनले यीमध्ये २७३ वटा राम्रा र अन्य ३४ वटा पिलर पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको बताए।

उनले बाँकेमा सीमा अतिक्रमणको समस्या अहिलेसम्म नदेखिएको बताए। 'कुनै भत्केको र कुनै खोला तथा नदीले बगाएकोले पुनर्निर्माण गर्नुपर्ने अवस्था छ। तर सीमा अतिक्रमणको समस्या अहिलेसम्म देखिएको छैन,’ उनले भने।

पाँच सय मिटरको दूरीमा भारतीय अस्थायी पोष्ट

सिमाना सुरक्षाका लागि ४६ किलोमिटरको दूरीमा नेपालले पाँचवटा सशस्त्र प्रहरीको बिओके स्थापना गरेको छ। तर भारतले बाँकेसँग सीमा जोडिएको विभिन्‍न स्थानमा एसएसबीको क्याम्प खडा गरि सीमा रक्षा गरिरहेको छ।

बाँकेसँग सीमा जोडिएको क्षेत्रमा मात्र उसले कम्तीमा १२ वटा क्याम्प खडा गरेर सुरक्षाकर्मी परिचालन गरेको छ। प्रत्येक पाँच सय मिटरको दूरीमा अस्थायी पोष्ट खडा गरि प्रत्येक पोष्टमा एकजना सुरक्षाकर्मीलाई ड्यूटीमा खटाउने गरेको छ।

'दशगजा क्षेत्रमा हिँड्डुल गर्दासमेत भारतीय सीमा सुरक्षा बल (एसएसवी) का जवानले केरकार पार्छन्,’ खजुरा गाउँपालिका-२, बलैपुरका भीम ओलीले भने। 

सीमानजिक परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमा सुरक्षाका साथै अपराध तथा अवैध सामान ओसारपसार रोक्ने दायित्व पनि दिइएको छ।

'हामीलाई सीमा सुरक्षामात्र नभई सीमामा हुने अपराध र अवैध सामान ओसारपसारमा रोक्ने जिम्मेवारी पनि छ,’ सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भने।

बाँके जिल्लामा पर्ने नेपाल-भारत सीमा रक्षाका लागि दुवै देशका सुरक्षाकर्मीले संयुक्त रूपमा निरीक्षण गर्दै आएका छन्। सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसवी) ले दशगजामा रहेका सीमास्तम्भको संयुक्त निरीक्षण गरि अवस्थाको जानकारी लिने गरेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए।

'संयुक्त रुपमा निरीक्षण गर्दा एकातिर सीमास्तम्भको अवस्था कस्तो छ भन्ने जानकारी हुन्छ भने अर्कोतिर सीमामा हुने अपराध न्यूनीकरण गर्न मद्दत पुग्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.