|

हेटौंडाः  मंगलबारदेखि मकवानपुरको हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। सप्ताह ज्ञान महायज्ञको सुरुवात भएको पहिलो दिनमै २२ लाख ५० हजार संकलन भएको छ। 

शिक्षा क्षेत्रमा अनावश्यक राजनीति बढ्यो 

सप्ताह ज्ञान महायज्ञ उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्रमा राजनीति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले शिक्षकका पेशागत संगठनहरू शिक्षकको हक अधिकारको संरक्षणका लागि गठन भए पनि अहिले त्यसलाई राजनीति गर्ने स्थानको रुपमा विकास गर्न खोजिएको भन्दै शिक्षकले राजनीति नभई गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए। उद्घाटन समारोह अगाडि कलश यात्रा समेत भएको थियो।

विद्यालयमा भौतिक गुणस्तर मात्रै नभई शैक्षिक गुणस्तरमा पनि सुधार हुनुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकार त्यसतर्फ अग्रसर भएको बताए। उनले प्रदेश सरकारले प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षालयको अवधारणा अघि सारेर काम गरिरहेको समेत बताए।

कार्यक्रममा महायज्ञ मूल समारोहका संयोजक एवं प्रदेश ३ को प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले विद्यालयको शैक्षिक एवं भौतिक सुधारबाटै सामाजिक रुपान्तरणको काम अघि बढ्ने बताए। उनले यसका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। 

महायज्ञमा विद्यालयका संस्थापक अध्यक्ष सुरेन्द्रराज बानियाँले १० लाख रकम बराबरको एक कट्टा जग्गा दान गरेका छन्। त्यसैगरी हेटौंडा १८ का मुक्तप्रसाद चौलागाईले २ लाख ५१ हजार, विद्यालयका शिक्षक कर्मचारीबाट ४ लाख ८ हजार, विद्यालयका संस्थापक जगतबहादुर थापाले ५ लाख र मूल समारोह समितिका अध्यक्ष बानियाँले १ लाख रुपैयाँ सहयोग गरेका छन्।

२ करोडको लक्ष्य 

मंगलबारबाट मंसिर १० गतेसम्म पण्डित दिनबन्धु पोखरेलले वाचन गर्ने सप्ताह ज्ञान महायज्ञमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा १८ का वडाअध्यक्ष अनिल बानियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

महायज्ञमा २ करोड संकलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल समारोहका संयोजक बानियाँले जानकारी दिए। २ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालयले प्राविधिक शिक्षा संचालनको लागि महायज्ञ लगाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.