|

पर्वत : सल्यानका सिद्धकुमाख गाउँपालिका–४ खार्बनका वडाध्यक्ष दिनेश कुमार बुढामगरको समाचार सोमबार सामाजिक सञ्जालहरूमा भाइरल भयो। वडाध्यक्षमा निर्वाचित भएको दुई वर्षमा नै उनले त्यो पदबाट राजीनामा गरेर प्राथमिक तहको स्थायी शिक्षकको रूपमा मुस्ताङ जिल्लाबाट नियुक्ति लिएर उपल्लो

मुस्ताङमा रहेको लोमान्थाङ गाउँपालिकास्थित दिव्यज्ञान आधारभूत विद्यालयमा पदस्थापन भएका छन्। बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुला कोटा अन्तर्गत मुस्ताङबाट नाम निकाल्न सफल भएका हुन्।

नेता बन्नका लागि मानिसहरू के-के गर्दैनन्? घर, परिवार, आफन्त, जागिरलगायतलाई त्यागेर राजनीतिमा होमिएका हुन्छन्। गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि त्यस्तै भयो, कर्मचारी, शिक्षक लगायतले खाइपाइ आएको जागिरबाट हात धोएर वडा सदस्यदेखि वडाध्यक्ष हुँदै गाउँपालिका प्रमुख र त्योभन्दा माथि पनि लडे। तर, यो अवस्थाभन्दा विपरीत छन् बुढामगर।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका उनले चुनावी प्रतिस्पर्धी तत्कालीन नेकपा एमालेका उम्मेदवार देवेन्द्र रोकालाई गोला प्रथाबाट पराजित गरेका हुन्। बुढामगर र रोकालाई बराबर मत ३२१ प्राप्त भएको थियो।

गोला प्रथाबाट भए पनि नतिजा उनको पक्षमा देखिएपछि बुढामगरलाई राजनीतिमा भाग्यमानी भन्ने गरिएको थियो। उनले गत बुधबार गाउँपालिकामा राजीनामा दिएकोमा सोही नै राजीनामा स्वीकृत भएको थियो।

मुख्य विषय अंग्रेजी राखेर स्नातक तहसम्मको अध्ययन गरेका उनी अहिले शिक्षणको लागि कास्कीको पोखरास्थित हेम्जामा छन्। उपल्लो मुस्ताङका विद्यालयहरू चिसोका कारण घुम्ती विद्यालयका रूपमा हेम्जामा सरेपछि उनी पनि त्यहीँ पुगेर शिक्षण सिकाई क्रियाकलापमा व्यस्त छन्।

यही प्रसंगमा थाहाकर्मी संजय रेग्मीले बुढामगरसँग कुराकानी गरेका छन्। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं राजनीतिमा भाग्यमानी कि अभागी?

हे हे हे ... के भनौँ र सर खोइ? मत बराबर हुँदा जितेको थिएँ। वडाका धेरैको विश्वास मप्रति थियो, किनकि म पहिलेबाट नै सामाजिक कामहरूमा सक्रिय थिएँ। अभागी होइन। भाग्यमानी नै भनौँ।

राजनीति तपाईंको रहर थियो कि बाध्यता?

म राजनीतिमा आउनु बाध्यता थियो भन्न मिल्दैन। तर, सानै उमेरबाट सामाजिक कामहरूमा सक्रिय भएकाले वडाको लागि यस्तो मान्छे चाहिन्छ भनेर निर्वाचनमा लड्ने कुरा भयो। सामाजिक कामहरू गर्ने बेलामा जनतासँग धेरै घुलमिल हुन पाइयो। केही हदसम्म त चुनावको माहोलले पनि राजनीतिमा होमाउने रहेछ।

शिक्षकहरू जागिर छोडेर राजनीतिमा गएको बेला तपाईं राजनीति छोडेर किन शिक्षणमा?

मलाई खुसी लागेको छ। राजनीति गर्ने मान्छेहरू पढेका हुँदैनन्, अरूको बुद्धि र ज्ञानमा रहेर काम गर्छन् भन्ने थियो। मैले आयोगको खुल्ला परीक्षा पास गरेर शिक्षक बन्न पाउनुले राजनीतिक क्षेत्रमा पनि अध्ययन गर्नेहरू छन् भन्ने प्रमाणित भएको छ। अर्को कुरा मलाई शिक्षण पेसा मन पर्छ। जन्मिएपछि जसरी भए पनि समाजको लागि सेवा गर्नुपर्ने त छँदै छ।

जनप्रतिनिधिले तलब नपाउने अदालतको फैसलाले असर गरेको पो हो की?

गलत हो, यो हुँदै होइन। ल सुन्नुहोस् किनभने मैले प्रावि तहको परीक्षा २०७५ साल असोज १३ गते दिएको हो। तर, अदालतले जनप्रतिनिधिले तलब खान नपाउने भनी फैसला सुनाएको त हालै मात्र हो। जनप्रतिनिधिले तलब नपाउने कुरा मेरो शिक्षा क्षेत्र प्रवेशसँग सम्बन्धित छैन।

राजनीतिमा गफले पनि चल्छ, तर शिक्षक भएपछि त हरेक दिन वास्तविकता हुन्छ नि फेरि?

हो तपाईंले भनेको पनि ठीक हो। तर, मेरो सन्दर्भमा कुरा गर्ने हो भने झूट र गफ गर्न कहिल्यै पनि आएन। यही कारण पनि जनताले मलाई भोट दिएका हुन्। कसैको टीकाटिप्पणी गर्ने पनि मेरो बानी छैन। यदि मैले झूट बोलेँ र वास्तविकतामा काम गरिन भने साना बाबु नानीहरूको श्राप लाग्छ। शिक्षा क्षेत्रमा कति खट्नुपर्छ भन्ने पनि मलाई थाहा छ। त्यही खटाइमा रमाउनको लागि राजनीति छोडेर शिक्षा क्षेत्रमा आएको हुँ।

नेपाली राजनीतिमा पढेका मान्छेका खाँचो थियो, तपाईंको पनि आवश्यकता हुन्थ्यो होला नि?

अब राजनीतिमा पढेका र ज्ञान भएका मान्छेको आवश्यकता छ। पढ्न नसकेर राजनीतिमा लागेकाहरूबाट देश समृद्धिमा जान सक्दैन्। तपाईंले भनेको जस्तो राजनीतिमा मेरो पनि आवश्यकता छ होला तर समाजमा चेतना ल्याउने कुरा राजनीतिबाट गरे पनि हुन्छ, शिक्षणबाट गरे पनि हुन्छ।

मेरो आवश्यकता शिक्षा क्षेत्रमा पनि रहेछ र त नाम निस्किएको होला। जताबाट काम गरे पनि समाज सेवा गर्ने हो। हजारौँ विद्यार्थीलाई चेतना दिन सक्ने शिक्षा क्षेत्र मेरो लागि रोजाइको विषय बन्यो।

समाज बदल्न शिक्षाभन्दा राजनीतिबाट छिटो हुन्थ्यो होला नि?

होइन, हामीमा जाँगर र अठोट भयो भने जताबाट पनि समाज बदल्न सकिन्छ। चुनाव जित्नैका लागि मात्र राजनीति गर्ने हो भने त समाज बदल्ने कुरा छायामा पर्छ। तर राजनीति गर्नेहरूको उद्देश्य ठुलो नेता बन्नु मात्र नभएर अभियन्ता पनि बन्न सक्ने हो भने परिवर्तन सम्भव छ।

अब शिक्षा क्षेत्रलाई बीचैमा छोडेर वा अवकाश भएपछि राजनीतिमा फर्कने सोच छ?

भविष्यको कुरा अहिले नै यो हुन्छ त कसरी भन्न सक्छु र? समयले राजनीतिमा मेरो आवश्यकता महसुस गरेमा राजनीतिमा लाग्नै हुँदैन भन्ने छैन। तर, बीचैमा छोडेर राजनीतिमा फर्किन्छु भन्ने सोच छैन। त्यस्तो सोच आएको भए त भइरहेको वडाध्यक्ष पद त्यागेर शिक्षक बन्न आउने नै थिइनँ। भविष्यमा राजनीतिमा मेरो आवश्यकता रहेन भने शिक्षण पेसाबाट अवकाश पाएपछि पनि मेरो राजनीतिले बिश्राम लिने छ।

राजनीति छोडेकोमा कुनै दिन पछुतो लाग्यो भने नि?

नलाग्ने भन्ने अठोट गरेरै शिक्षक भएको हुँ। कदाचित पछुतो लागेमा यो मनलाई सम्हाल्नु पर्ला नि सर।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.