|

काठमाडौं : बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माणमा भएको चलचित्र ‘शुभ लभ’ यही नोभम्बर अन्तिममा युरोपभरि प्रदर्शनमा लगिने भएको छ। आगामी डिसेम्बर, जनवरी र फेब्रुअरीभरि युरोपमा प्रदर्शन गरिने निर्माता तथा निर्देशक सन्तोष लोहनीले जानकारी दिए। 

नेपालमा मध्यम गरेको ‘शुभ लभ’ चलचित्रले युरोपको प्रदर्शनबाट राम्रो व्यापार हुने लोहनीको विश्वास छ। युवा ज्योतिष हरिहर अधिकारी र २०१७ की मिस टिन क्रिस्टिन पौडेलको मुख्य अभिनय रहेको उक्त चलचित्रमा पुराना कलाकारहरू रविन्द्र झा, राजाराम पौडेल, अनोज पाण्डे र सरोज खनालको पनि भूमिका छ। 

त्यस्तै, स्टेजका चर्चित कलाकार राजा राजेन्द्रले पनि चलचत्रिमा पहिलोपटक यही फिल्ममार्फत चलचित्र अभिनय सुरु गरेका हुन्। चलचित्रमा डा. सूर्या थापालाई सह-नायिकाको भूमिका देख्न सकिने छ। निर्देशक लोहनीले भने,‘हाम्रो चलचित्रको लाइन प्रोड्युसर प्रकाश कडरिया नै युरोपनिवासी हुनुहुन्छ। युरोपमा गैर आवासीय नेपाली र इनासको बाक्लो उपस्थिति छ। त्यसैले युरोप शो व्यापक हुने हाम्रो विश्वास छ।’

नेपालमा पनि चलचित्रले राम्रो व्यापार गर्थ्यो  तर अपेक्षा हुँदा-हुँदै पनि रिलिज मिति राम्रो  भएन र चलचित्रकर्मीबीच नै अस्वस्थ प्रतिष्पर्धा हुँदा अपेक्षित व्यापार गर्न नसकिएको लोहनीको गुनासो छ। यद्यपि उनले उक्त चलचित्र हेर्ने दर्शकले राम्रो चलचित्र बनेको भनेर सुखद् प्रतिक्रिया दिएको सुनाए। उनले थपे,‘चलचित्रकर्मी र समीक्षकले पनि राम्रो चलचित्र बनेको भनेर भन्नुभएको  छ।’ 

अर्जुन पोखरेलको शब्द तथा संगीत र निशान भट्टराईको स्वर रहेको चलचित्रको शीर्षक गीत ‘तिमी हुन्छौं भने मेरो शुभलभ’ गीत अत्यधिक रुचाइएको थियो। 

चलचित्रमा अभिमन्यु निरवीको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराईको द्वन्द्व, अनुपम शाहको भिएफएक्स, भूमिका म्युजिक दिनेश सुनामको र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ। 

धर्मराज शर्मा सुवेदी निर्माता रहेको चलचित्रको छायांकन नेपालका हिमाल, पहाड र तराइका प्रायः रमणीय ठाउँहरूमा गरिएको थियो। चलचित्रको युरोप यात्रासँगै नेपालको भिजिट नेपाल-२०२० को प्रचारप्रसार गर्ने पनि आफूहरूको उद्देश्य रहेको लोहनीले बताए। 

लोहनी यही नोभेम्बर २७ तारिख युरोप यात्रामा जाँदैछन्। युरोप टुर सकिएलगत्तै अष्ट्रेलिया, कोरिया, जापान, हङकङ र गल्फ राष्ट्रमा जाने तयारी रहेको लोहनीले जनाए। चलचित्रको प्रस्तुतकर्ता प्रदीप उदय हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.