|

काठमाडौं :  नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ ।

चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा राजु पङ्गेनीले प्रदूषणकै कारण नेपालमा दमरोग बढेको बताए। उनले प्रदूषणले उपत्यकामा दमरोग बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको उल्लेख गरे।

डा पङ्गेनीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बालअस्पताल लगायतका अस्पतालहरूमा दमका बिरामीको सङ्ख्या बढ्दै गएको छ। डा पङ्गेनीले सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी रोग लागेको जानकारी दिँदै काठमाडौँका मुख्य अस्पतालमा दैनिक १५ देखि २५ जना व्यक्ति दमको समस्या लिएर आउने गरेको बताए। शिक्षण अस्पतालमा दैनिक ८० जनासम्म बिरामी आउने गरेका छन्। यसअघि भक्तपुरमा तीन वर्ष लगाएर गरिएको सर्वेक्षणमा समेत १५ प्रतिशत मानिसलाई दमरोग लागेको थियो भन्ने खबर गोरखापत्र दैनिकमा छ।

तथ्याङ्कअनुसार विश्वमा २५ करोड मानिस दमरोगी रहेको पाइएको छ । तीमध्ये प्रतिवर्ष ३० लाख मानिसको दम तथा खोकीकै कारण ज्यान जाने गरेको छ। यस्ता रोगीहरूमध्ये ९० प्रतिशत नेपालजस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिक छन् ।

विश्व रोगभार सर्वेक्षण २०१६ ले नेपालमा नौ लाख ६० हजार मानिसमा दमका बिरामी रहेको जनाएको छ। विश्वमा प्रतिलाख जनसङ्ख्यामा तीन हजार छ सय दमखोकीका बिरामी छन् भने नेपालमा चार हजार आठ सयको सङ्ख्यामा छन् ।

त्यसैगरी नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दमखोकीकै कारण हुने गर्दछ। त्यसमा पनि प्रतिलाखमा १२० महिला र १०३ पुरुष दम तथा खोकीकै कारणले मृत्यु भइरहेको हुन्छ । डा। पङ्गेनीले दमखोकीका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढिरहेको बताए। तथ्याङ्कअनुसार नेपालमा दमको समस्या अत्यधिक रहेको छ । दमखोकी रोग लागिसकेपछि निको नहुने हुँदा अस्वस्थ मानिसको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.