|

डोल्पा : अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको टोली प्रत्येक वर्ष औपचारिकता निभाउन मात्रै डोल्पा आउने गरेको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका छन्।

प्रत्येक वर्ष डोल्पाबाट आयोगमा परेका मुद्धाहरु अनुसन्धान गर्न अख्तियारको टोली अनुसन्धानका लागि आउने गरे तापनि कारबाही भएको घटना कहिल्यै नसुनिएको भन्दै अख्तियारप्रति असन्तुष्टि जनाएका हुन्।

'डोल्पाका विकास योजनामा प्रत्येक वर्ष अख्तियारको चासो बढ्दै छ, भ्रष्टाचार न्यूनीकरण हुनुको सट्टा अझ मौलाउँदै गएको पाइन्छ' नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले भने।

'पछिल्लो समय डोल्पाका विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको छ, अख्तियारमा मुद्दा पनि दर्ता नहुने गरेका भने होइनन् जति मुद्धा परे पनि दोषी आयोगको कारबाहीको दायरामा आएको घटना सुनिँदैन।'

पहुँचका आधारमा व्‍यक्तिगत योजना ल्याउने र पचास प्रतिशत पनि काम नगरेर रकम सिध्याउने परिपाटीले डोल्पामा भ्रष्टाचारको अखडा बनेको उनको भनाइ छ।

डोल्पामा भ्रष्टाचार रोक्न अख्तियारमा परेका मुद्धा अनुगमन गर्न पुग्ने अख्तियारको भूमिका औपचारिक मात्रै भएकाले भ्रष्टाचारीलाइ कठघरामा उभ्याउनुपर्ने मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले बताए।

मंगलबार डोल्पाका विकास निर्माणका २८ वटा योजनाको छानविन गरी अख्तियारको टोली फर्किएपछि स्थानीयको धारणा यस्तो पाइएको हो।

आयोगमा उजुरी परेका विकास निर्माणहरू अनुगमनका लागि प्रत्येक वर्ष अख्तियार टोली आउने गरे पनि कानुनी कारबाही हुन नसकेको स्थानीयको आरोप छ।

धेरै पहिला अख्तियारमा परेका सदरमुकाम दुनै धो हुँदै ल्यासीक्यापसम्मको मोटरबाटो निर्माणको २२ करोडको मुद्धा, रुपगाड खोलाको पुल वर्षौंदेखि नबनेको, दुनै तटबन्धनका करोडौँ भ्रष्टाचार लगायतका योजनामा  अझैँसम्म पनि कारबाही  भएको खबर नसुनिएको स्थानीय देवीकृष्ण उपाध्यायले बताए।

यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शेषनारायण पौडेलका अनुसार अख्तियारले तत्कालै मुद्धा परेकै आधारमा समातेर भित्र हाल्न नसकिने बताउँदै डोल्पाबाट परेका मुद्धाहरुमा विस्तृत अनुसन्धान भइरहेको बताए।

विभिन्न निकायसँग अन्तरक्रियाका लागि टोली पुगेको बनाउँदै कारबाही प्रक्रियामा छिरिसकेका मुद्धाको सूक्ष्म अध्ययनका लागि छुट्टै टोली बेलाबेलामा आइराखेको उनको भनाइ छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.