|

काठमाडौं : भारतले प्रकाशित गरेको नयाँ नक्साका कारण अहिले नेपालमा सीमा विवाद चर्किरहेको छ। यही बेला नेपाल सरकारले सीमा सुरक्षा तथा निगरानीका लागि नेपाली सीमामा एकसय वटा बिओपी पोष्ट (बोर्डर आउट पोष्ट) थप्‍ने तयारी गरेको छ। तत्कालै चारवटा बिओपी थप्ने तयारी गरिरहेको गृह मन्त्रालयले जानकारी दिएको छ।

सीमामा नयाँ बिओपी थप्न लागेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए। उनका अनुसार चारवटा बिओपी तत्काल थपिने र जनशक्ति बढाएर विस्तारै १ सय बिओपी बनाउने योजना रहेको उनले बताए। हाल सीमामा १ सय ७ वटा बिओपी स्थापना गरिसकेको प्रवक्ता शर्माले जानकारी दिए।

सीमा सुरक्षाको लागि बिओपी १५-२० किमिमा राखिएको छ। नयाँ बिओपी १० किमिको अन्तरमा राखिने उनले बताए। 'जनशक्तिको पर्याप्त भएमा २६५ बिओपी राखिन्छ,' उनले भने,' भविष्यमा ५ किमीमा राख्न मिल्ने गरी गृहकार्य भइरहेको छ।'

एउटा बिओपीमा ३५ जना सुरक्षाकर्मी राखिने उनले बताए। 'तत्कालै नयाँ जनशक्ति थप गर्ने समय नभएको र पूर्वाधार निर्माण गर्नुपर्ने भएकोले तत्कालको लागि सम्भव नभएको उनको भनाइ छ। नयाँ जनशक्ति थप्ने निर्णय भइनसकेको तर, छिट्टै जनशक्ति परिचालन गरिने तयारी भइरहेको उनले बताए।

सीमा सुरक्षाको लागि सशस्त्र प्रहरीको प्रयोग भइरहेको उनले जानकारी दिए। सशस्त्र प्रहरीमा ३७ हजार सुरक्षाकर्मी रहेको र बिओपीको लागि १ हजार सशस्त्र प्रयोग गरिरहेको उनले बताए। जनशक्ति अभाव छ त्यसमा अन्य निकायको लगेर भए पनि बिओपीमा सुरक्षाकर्मी थप्ने उनले प्रष्ट पारे।

सीमाको सुरक्षा,आपराधिक क्रियाकलापलाई रोक्ने काम यसले गर्ने प्रवक्ता शर्माले बताए। खुला सीमा भएकोले आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न यसले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.