|

विजय कार्की-

उदयपुर : नेपालमा असारलाई मानो छर्ने र मंसिरलाई मुरी भित्र्याउने महिनाका रूपमा लिइन्छ। मंसिर लागेसँगै भित्री मधेसअन्तर्गत पर्ने उदयपुर जिल्लाका किसानहरूलाई पनि यतिबेला हिउँदे धानबाली भित्र्याउने हतारोले छोएको छ। दसैं, तिहार, छैठ लगायतका पर्व सकिएपछि किसानलाई यतिबेला अन्नबाली भित्र्याउन धमाधम छ।

यो वर्ष मनसुन छिट्टै सकिएकाले कृषकका खेतमा धान चाँडो पाक्न थालेको हो। भित्री मधेसअन्तर्गत पर्ने उदयपुरका कटारी, त्रिवेणी, रिस्कु, गाईघाट, नेपालटार, हडिया, जोगिदह, वेल्टार, बसाहा, सुन्दरपुर, रामपुर ठोक्सिला लगायतका क्षेत्रमा धान खेती बढी हुने गर्दछ।

यी क्षेत्रका अधिकांश किसानहरुको दिन यतिबेला आआफ्नो धान खेतमा बित्ने गरेको छ। धान काट्ने जम्मा गर्ने तथा धान झाट्ने काम खेतैमा किसानहरुले धमाधम गरिरहेका छन्। धान झार्न मेसिन लगाउनेहरुले धानको थुप्रो बनाएर मेसिन पर्खने तथा मानिसहरू लगाएर धान झार्नेहरुले धमाधम धान घरनजिक लगेर झार्ने काम गरिरहेको वडा नं.८ का एक किसान सुमन घिमिरेले बताए।

यस्तै, चौदण्डी नगरपालिकाअन्तर्गत पर्ने हडियाका किसानहरूलाई पनि यति बेला धान थन्क्याउने हतारो थपिएको छ। उनीहरू बिहानैदेखि खेतमा धान काट्ने भेला गर्ने र धान झार्ने काममा व्यस्त छन। धान काटिसकेका कतिपय किसानहरु तरकारी खेती लगाउन तथा कतिपय किसानरु  गहुँ बाली लगाउने सुरमा छन्।

पछिल्लो केही दिन यतादेखि तातो घाम लागिरहेको समय अहिले अकस्मात तुवाँलो र हुस्सु लागेर चिसो बढेकाले असिना, पानीबाट जोगाउन पनि कृषकहरु हतारोमा परेको कटारी नगरपालिका ५ का कृषक राजेश्वर चौधरीले बताए। 

कृषि ज्ञान केन्द उदयपुरका अनुसार चैते, आश, भाले मन्सुली, पोथी मन्सुली, सावित्री, रारावारालगायत जातका धानको खेती हुने गरेको छ। यो वर्ष भने हर्दिनाथ र तरहरा जातको धानको बिउ पनि लगाइएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।

प्रविधिमैत्री बन्दै किसान

धान थन्क्याउने मौसम चलिरहँदा कृषि श्रमिकको अभाव खड्किएको छ। गाउँका अधिकांश युवा कि त वैदेशिक रोजागारी या चाडपर्व मानेर अध्ययन तथा रोजगारीका लागि राजधानीलगायत देशको मुख्य शहरतिर पलायन भएका कारण जनशक्तिको अभाव खड्किएको हो। त्यसले कृषि उत्पादनमा पछिल्लो समय महिला केटाकेटी तथा वृद्ध वृद्धाहरु सक्रिय देखिन्छन्।

युवाहरुको अभावमा यतिबेला उनीहरुको स्थान कृषि क्षेत्रमा भित्रिएको नयाँ नयाँ प्रविधिले लिन थालेको छ। पहिले पहिले आफैँले धान काट्ने तथा झार्न आफैँ लागिपर्ने उदयपुरका किसान पछिल्लो समय मेसिन लगायतको प्रविधिको बढी प्रयोग गर्न थालेका छन्।  धान थन्क्याउने यो समयमा मेसिनहरु विस्तारै गाउँका किसानहरुको पहुँचमा पनि पुग्न थालेको छ।

त्रियुगा नगरपालिका-३ का घनश्याम चौधरीका अनुसार अहिले धान काट्ने मेसिनको पहुँच किसानसम्म पुग्न थालेको छ, भने धान झार्ने मेसिनहरु धान खेतमै पुग्न थालेको छन्। यसले किसानहरु विस्तारै प्रविधिमैत्री हुन थालेका छन्।

६० प्रतिशत धान भित्र्याइयो

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार हालसम्म उदयपुरमा ६० प्रतिशत धान भित्र्याइएको छ। उदयपुरमा धानको धानमा फौजी किराको प्रकोप देखिएका कारण उत्पादनमा अघिल्लो वर्षको तुलनामा कमि आउन सक्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी नरनाथ रेग्मीले बताए।

असार पहिलो सातादेखि भित्रिनुपर्ने मनसुन श्रावण लाग्ने बेलामा भित्रिएपछि धेरै धानखेती ढिलो गरिएको थियो। कटारी नगरपाालिकाका कृषक ज्ञानबहादुर कटुवालले पर्याप्त पानी लगाउन नपाउँदा धानमा विभिन्न रोगहरु देखापरेको बताए। 

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लाको ३ हजार ३ सय ८ हेक्टर जमिन धान खेतीका लागि उपयुक्त रहेको र हरेक वर्ष ४ हजार सातसय ५६ हेक्टर जमिनमा धान लगाइने गरिन्छ। गत आर्थिक वर्षमा जिल्लामा ५८ हजार नौ सय ८ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.