|

पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको छ। बुधबार एक समारोहका बीच प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासिनीले घोषणा गरेकी हुन्।

जीवन र मरणको दोसाँधमा रहेर सुत्केरी हुनुपर्ने बाध्यता अन्त्यको लागि गाउँगाउँमा सेवा पुग्नुपर्ने उपप्रमुख मरासिनीले बताइन्। 'गर्भवती भएदेखि सुत्केरी हुँदासम्म र त्यसपछि बच्चालाई कसरी हुर्काउने हो भन्नेबारे अझै पनि अधिकांश महिला सचेत छैनन्' उनले भनिन् 'संस्थागत सुत्केरी कार्यक्रमलाई साँच्चिकै प्रभावकारी बनाउन सचेतनामूलक कार्यक्रमको आवश्यकता छ।'

जबसम्म मानव जीवन सुरक्षित हुँदैन् तबसम्म भौतिक विकासले कुनै अर्थ नराख्ने बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदिले बताइन्। 'सेवासुविधाको पहुँचबाट टाढा हुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अझैपनि गाउँघरमा छ' उनले भनिन् 'महिला जनप्रतिनिध आइसकेपछि केही समस्या समाधान हुन थालेका छन्। जीवन र मरणको  प्रसवपीडामा छट्पटाउने आमा र बच्चाको जीवन रक्षाको लागि सचेतीकरण कार्यक्रमसँगै नजिकै सुविधासम्पन्न स्वास्थ्य संस्थाहरु हुन आवश्यक छ।'

नेपाल सरकारले तोकेको विभिन्न सूचक पूरा गरी गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए। उनका अनुसार गत वर्ष सबै आमाहरू सम्बन्धित संस्थाहरूमा पुगेर सुत्केरी भएपछि गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्न सफल भएको हो।

तीन सय ७१ महिला विभिन्न स्वास्थ्य संस्थामा पुगेर सुत्केरी भएका छन्। तानसेनस्थीत यूनाइटेड मिसन अस्पतालमा एक सय ८०, लुम्बिनी मेडिकल कलेज प्रभासमा एक सय १४,  जिल्ला अस्पताल पाल्पामा तीनजना जना, मदनपोखरा स्वास्थ्य चौकीमा नौ जना, गाउँपालिका भित्रको चापपानी स्वास्थ्य चौकीमा २१, खानीछाप स्वास्थ्य चौकीमा ११ जना, नायरनमतलेस स्वास्थ्य चौकीमा सातजना,  अन्य जिल्ला तथा विदेशमा गरी २६ जना गरी तीनसय ७१ जना संस्थागत सुत्केरी भएका हुन्।

एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनको लागि गर्भअवस्थामा प्रोटोकल अनुसार चार पटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी दुई सय २५ चक्की आइरन खाएको हुनुपर्ने, गर्भअवस्थामा पिएमटिसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिडि खोप दुइ पटक लगाएको हुनुपर्ने, सुत्केरी पश्चात प्रोटोकल अनुसार आमा र बच्चाको जाँच हुनुपर्ने, पुर्ण संस्थागत सुत्केरीको निरन्तरताको लागि स्थानीय निकायको निश्चित योजना हुनुपर्ने हुन्छ।

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणाका लागि विगत एक वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बश्यालले बताए। उनका अनुसार यो अभियान सम्पन्न गर्नको लागि २० लाखभन्दा बढी रकम खर्च भएको छ। 'गाउँपालिका भित्र चापपानी स्वास्थ्य चौकी, नायरनमतलेस स्वास्थ्य चौकी र खानीछाप स्वास्थ्य चौकीमा वर्थिङ सेण्टर अर्थात प्रसुती गृह सञ्चालन भइसकेका छन्' उनले भने 'यो आर्थिक वर्षमा यम्घाको दरपुक सामुदायिक स्वास्थ्य इकाइ र दर्लमडाँडा स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालन आउने छन्।'

प्रसूति गृहलाई थप व्यवस्थित बनाउने योजनासहित अगाडि बढेको अध्यक्ष बश्यालले बताए। 'गाउँपालिकाको चापपानी स्वास्थ्यचौकीबाट एम्वुलेन्स सेवा सञ्चालनमा छ। गाउँपालिका भित्रका कुनैपनि विरामीलाई न्यून शुल्कमा एम्बुलेन्स सेवा दिइन्छ भने संस्थागत सुत्केरी भएका महिलालाई भाडास्वरुप ५ सय नगद दिने गरेका छौं' उनले भने।

गत वर्षदेखि प्रदान गरिदै आएको एक हजार, नेपाल सरकारले दिने २८ सय र भाडाबापत गाउँपालिकाले दिने ५ सय गरी चार हजार तीन सय उपलब्ध गराएका अध्यक्ष बश्यालले बताउँछन्। साथै कपडासहितको एक थान झोला दिने गरिएको पनि उनको भनाइ छ।

पछिल्लो समयमा स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर निकै  प्रभावकारी अभियान सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए। जिल्ला स्वास्थ्य कार्यालय स्थानीय तहसँग समन्वयय गरेर स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम संचालन गर्न तयार रहेको उनले बताए।

उचित मात्रामा पोषणयुक्त खानेकुराको अभावले बच्चाहरु कुपोषित हुने गरेकोले यसको अभाव पूर्ती गर्ने खालका कार्यक्रम आवश्यक रहेको नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्यालले बताए।

'स्थानीय सरकारले थालेका कतिपय अभियानले खरबारीमा घाँस काट्दै गर्दा बच्चा जन्माउनु पर्ने बाध्यता  टरेको छ' उनले भने 'जन्मिएका बच्चा र आममा पूर्णरूपमा स्वस्थ गराउने खालका कार्यक्रम ल्याउन आवश्यक छ।'

बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषण हुनेमध्य तेस्रो हो। यसअघि जिल्लाका पूर्वखोला गाउँपालिका र रम्भागाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.