|

काठमाडाैं : निर्वाचन आयोगले आसन्न उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, कम खर्चिलो र भयरहित हुनेमा अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याएको छ। 

प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त पदका लागि यही मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीबारे जानकारी गराउँदै आयोगले नेपालस्थित कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमसहितका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि र विकास साझेदारलाई उपनिर्वाचन अवलोकनका लागि आह्वानसमेत गरेको छ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउन सम्पूर्ण सबै तयारी पूरा गरिसकेको जानकारी दिए। 

आचारसंहिता अनुगमनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र उम्मेदवार रहेका दलहरू सम्मिलित आचारसंहिता अनुगमन समिति गठन गरिएको जानकारी दिँदै उनले हालसम्म आचारसंहिता उल्लंघन र  प्रचार-प्रसारका क्रममा कुनै घटना भएको गुनासो प्राप्त नभएको बताए।
 
निर्वाचन आयुक्तको नेतृत्वमा आयोगमा उच्चस्तरीय सुरक्षा समिति रहेको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानको दिन विभिन्न मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियाबारे पर्यवेक्षण गर्न पनि कूटनीतिक समुदायलाई आह्वान गरे।

स्वतन्त्र, स्वच्छ, विश्वसनीय, निष्पक्ष र कम खर्चिलो निर्वाचनका माध्यमबाट लोकतन्त्रको सुदृढीकरण र सुशासनका लागि आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा गरिसकेको जानकारी गराउँदै उनले यसबाट संगठन पुन:संरचना, पूर्वाधार विकास र क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण, सूचना प्रविधिमा आधारित निर्वाचन व्यवस्थापनमा निकै सुधार आउने विश्वास व्यक्त गरे।

प्रमुख आयुक्त थपलियाले भने,'रणनीतिक योजनाले राष्ट्रिय नीति र एकीकृत निर्वाचन कानुन प्रणालीसहित निर्वाचन नीति र कानुनको निर्माण, आधुनिक प्रविधिमा दलको नियमन तथा व्यवस्थापन एवं निर्वाचन प्रक्रियासँग सम्बन्धित संघ संस्थासँगको साझेदारी र सहकार्यलाई समेटेको छ।'

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र उपनिर्वाचनको तयारीबारे छलफल कार्यक्रममा कूटनीतिक समुदायबाट प्राप्त सुझाव र सहयोगका लागि आभार व्यक्त गरे।

आयुक्त नरेन्द्र दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनप्रति देखाएको चासो र सहयोगका लागि धन्यवाद प्रकट गरे।

आयोगका सचिव देवकुमारी गुरागाईले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको माध्यमबाट नेपालको लोकतन्त्र सुदृढीकरण र सुशासनका लागि अन्तर्राष्ट्रिय समुदायबाट भएको सहयोगको सराहना गरे।

प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य ३ पदका लागि ४३ को उम्मेदवारी परेको छ। उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जना उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.