अनुहार बिगार्दैमा क्यारिकेचर हुँदैन

|

काठमाडौं :  कलाकारिता र हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो सुबोध गौतम। लामो समयदेखि अनवरत रूपमा क्रियाशील गौतम पछिल्ला दिनमा 'एदुमे' पात्रबाट दर्शकमाझ परिचित छन्।

नेपाली हास्य विधामा रमाएका गौतमको क्यारिकेचर मात्र सुनियो भने हुबहु नेता बोलेको आभास हुन्छ। उनी केवल नेता वा कलाकारको मात्र आवाज निकाल्दैनन् नयाँ आवाज सिर्जना गर्ने खुबी पनि राख्छन्। क्यारिकेचरमा उनको अनुभव, यसभित्रका विभिन्न पाटाहरूबारे थाहाखबरकर्मी राजु पौडेलले उनीसँग गरेको कुराकानीको सम्पदित अंश :

अहिले हाम्रो हास्यव्यंग्यको अवस्था कस्तो छ?

हास्यव्यंग्यको अवस्थाबारे म आफैँ पनि खोजी गरिरहेको छु। अनुसन्धानकै सिलसिलामा छु। हरेक व्यक्तिले फरकफरक कुरालाई हास्यव्यंग्य भनिरहेका हुन्छन्। कसैले कसैलाई उडाउनु पनि हास्यव्यंग्य हो। मैले आफैँलाई उडाउनु पनि हास्यव्यंग्य हो। तर, कसलाई उडाउनुपर्ने हो त्यसलाई छानेर उडाउनु नै हास्यव्यंग्‍य हो। अहिलेको हास्यव्यंग्‍य  धमिलिएको छ। सङ्लिन बाँकी छ।

कला क्षेत्रमा हास्यव्यंग्य कत्तिको स्थापित भएको छ?

हास्यव्यंग्‍य हास्‍नका लागि मात्र होइन। मान्छेको जीवन उपयोग गर्नका लागि यो जरुरी छ। हरेक क्षेत्रमा कार्यरत व्यक्तिका लागि यो भिटामिन जस्तो हो। अहिले चलचित्र, लेखनमा पनि हास्यव्यंग्‍य स्थापित भइरहेको छ। यसको महत्व दिननुदिन बढ्दो क्रममा छ। 

क्यारिकेचर कलामा मुख्‍य आकर्षणको पाटो चाहिँ के हो?

क्यारिकेचर छुट्टै विधा होइन। हास्यव्यंग्‍यको उपविधा हो। ऊर्जा हो।

क्यारिकेचर गडगिफ्ट वा अभ्यास, के भन्‍नुहुन्छ?

दुवै हो। दुवै होइन पनि। भगवानको वरदान हो भनौँ भने मैले अभ्यास पनि गरिरहेको छु। अभ्यासकै शक्तिले जुनसुकै बेला  जो कसैको आवाज निकाल्न सक्छु। अभ्यास मात्रले हो भनौँ भने किन सबैले निकाल्न सक्दैनन् त? तर, ठोस उत्तर मसँग पनि छैन।

क्यारिकेचर क्षेत्रमा तपाईंको यात्रा कसरी सम्भव भयो?

हरेक मान्छेलाई आफ्नो क्षमता देखाउने लोभ लाग्छ। पारिवारिक वातावरणले पनि मलाई क्यारिकेचर क्षेत्रमा सहयोग मिलेको हो। अर्को कुरा देशको राजनीतिक अस्तव्यस्तताले पनि मलाई यस क्षेत्रमा आकर्षण बढेको हो। किनकि म राजनीतिक घटनामा पनि प्रयोग भएको व्यक्ति हुँ।

एउटा अन्तर्वार्तामा म त गरिबको छोरो ठूला सपना देख्न सक्दिनथेँ भन्नुभएको थियो। सपना देख्न आर्थिक पाटोले कत्तिको प्रभाव पार्छ?

सपना सुख सुविधाको लागि मात्र होइन। यसमा आर्थिक पाटो पनि जोडिन्छ। सपना कर्मसँग पनि जोडिने विषय हो भन्ने अहिले बुझ्दैछु।

क्यारिकेचर गर्नु भनेको सामान्य विषय हो, अथवा  काम गर्दै जादाँ सहज हुने कुरा हो?

हरेक काम झन् बुझ्यो झन कठिन हुन्छ। मान्छेलाई सुरुमा रमाइलो लाग्छ र मैले संसारै जितेँ जस्तो लाग्छ। काम गर्दै जाँदा गहिराइ बुझ्दै गइन्छ। अपेक्षा बढ्दै जान्छ। क्यारिकेचर कला कठिन छ। यसभित्र बहुआयामिक विषय छन्। जसमध्ये काम गर्ने तरिका पनि हो। क्यारिकेचरमा मौलिकता जरुरी छ। मौलिकता बचाउनु अहिलेको अवस्थामा मुख्य चुनौती हो। क्यारिकेचरमा मौलिकता मुख्य विषय हो। मौलिकता शब्द जोडिनेबितिक्कै सहज होइन भन्ने कुरा प्रष्ट भइहाल्छ।

अनुहार बिगार्दैमा क्यारिकेचर हुँदैन भन्ने भनाइमा कत्तिको सहमत हुनुहुन्छ?

खासमा अनुहार बिगार्ने ट्रेण्ड अहिले चलेको छ। अनुहार बिगारेर धेरैभन्दा धेरै क्यारिकेचर गर्छु भन्ने भ्रमले दुर्घटना निम्तिने सम्भावना हुन्छ। कहिलेकाहीँ अनुहारको भावभंगी पनि बिगार्नुपर्छ। गलत प्रवृत्तिलाई गलत भन्न जरुरी छ।आफू नांगो हुने र अरुलाई पनि नंग्याउने दुवै गलत कुरा हुन्। अनुहार बिगार्नुको पनि एउटा सीमा हुन्छ। यो कुरा कलाकारले बुझ‍्‍न जरुरी छ।

तपाईंको अभिनय पनि दर्शकले मन पराउनुभएको छ। अभिनय र क्यारिकेचर  कुनचाहिँ क्षेत्र आफूलाई सहज लाग्छ?

अभिनय र क्यारिकेचर फरक पाटा हुन्। संसारमा सहज त केही पनि छैन। टेलिसिरियल गर्दा क्यारिकेचर सम्झन्छु। क्यारिकेचर गर्दा अभिनय पनि गरेको छु है भन्ने सम्झन्छु। यी दुवै मेरा लागि एकदम महत्वपूर्ण विषय हुन्।

क्यारिकेचर गर्ने मान्छे 'एकदुमे' पात्रबाट चर्चामा आउनु भयो नि?

रहर। संघर्ष। मिहिनेतको प्रतिफल हो चर्चा।

 

दर्शकले कुन चाहि क्षेत्रमा तपाईंलाई मन पराए जस्तो लाग्छ?

मसँग 'एदुमे' पात्र धेरै पछि जोडिएको विषय हो। तर, यसको लोकप्रियता पनि सम्झन लायकको छ। त्यति हुँदाहुँदै पनि जीविकोपार्जनका लागि क्यारिकेचर नै अगाडि छु जस्तो लाग्छ।

तपाईंले राजनीतिक क्षेत्रमा आबद्ध धेरै व्यक्तिको क्यारिकेचर गर्नुहुन्छ। छोटो समयमै  चर्चित हुने सजिलो बाटो रोज्यो भन्ने आरोप सुन्नुभएको छ?

छोटो भनेको कति समय हो। म कलाक्षेत्रमा लागेको एक दशक नाघिसकेको छ। म चर्चाको लागि मात्र काम गर्ने मान्छे होइन। चर्चाको लागि काम गरेको भए आज म यहाँ मात्र हुन्‍नथेँ। काम गर्दै जाँदा परिस्थितिले क्यारिकेचर कलाको मञ्‍चमा पुगेको हुँ। 

दर्शकले तपाईंको पृष्ठभूमि जान्न चाहे भने?

म १३ वर्षको उमेरमा 'जनयुद्ध'मा लागेको मान्छे हुँ।

'जनयुद्ध'को विषय आइहाल्यो, युद्धमा हिँड्दाको दिन सम्झनुस् न।

विद्यालयका  शिक्षकलाई, घरमा बाबुआमालाई सम्बोधन गरेर जनयुद्धमा होमिएको थिएँ।

'जनयुद्ध'मा लागेको बेला पनि क्यारिकेचर गर्नुहुन्थ्यो?

युद्धको बेला क्यारिकेचर सम्भवको विषय थिएन। कहिलेकाहीँ एकान्तमा अभ्यास गर्थें।

क्यारिकेचर गर्दाको सबैभन्दा रमाइलो पल र सबैभन्दा दुखद क्षण?

एकपटक पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपस्थित भएका कार्यक्रममा उहाँलगायत नेता तथा कलाकारको क्यारिकेचर गरेको थिएँ। त्यसदिन मेरो ६ वटा कार्यक्रम थिए। उहाँलाई हसाउछु भन्ने लागेर हरसम्भव कोसिस गरेँ। तर, उहाँ हास्नुभएन। म भित्रभित्रै तनावमा पुगिसकेको थिएँ।

कार्यक्रम सकिएर बाबुराम भट्टराईसँग घर फर्किंदा तपाईंले विशिष्ट रूपमा नै हसाउनुभयो। भनेर बल्ल हास्न थाल्नुभयो।  त्यो क्षण सम्झँदा अहिले पनि हासो लाग्छ। क्यारिकेचर गरिरहँदा दर्शकहरू हासेनन् भने कस्तो पीडा हुन्छ भनेर महसुस भयो। 

तपाईंले क्यारिकेचर गर्दा कोही व्यक्ति रिसाउनु भएको छ?

अहिलेसम्म कोही रिसाएको पाएको छैन। कसले कतिसम्म मन पराउँछ भनेर अध्ययन गर्ने गरेको छु। सबैको गर्छु भन्ने होइन। जतिको गर्छु न्यायसंगत गर्दछु।

पेसाले कहिलेकाहीँ साधारण जीवनमा असर गर्छ कि?

पेसाले क्यारिकेचर गरे पनि साधारण जीवनमा मलाई जिस्किने, उडाउने भन्ने मेरो जीवनमा लागू हुँदैन। म साधारण जीवन बाँच्दा कलाकारिताको ह्याङ बोकेर हिँड्दिनँ। स्टेजमा हसाउने मेरो पेसा हो। सडक गल्लीमा हसाउने काम मेरो होइन।

अरूको स्वरको नक्कल गरेर आम्दानी गर्दा हीनताबोध हुँदैन?

आफूले गरेको पेसामा खुसी हुन सकिएन भने हीनताबोध हुने हो। क्यारिकेचर कला मेरो पेसा हो। आफ्नो पेसाप्रति म सन्तुष्ट छु। मलाई क्यारिकेचर गर्नुमा गौरव छ। 

क्यारिकेचर विशुद्ध मनोरञ्जन मात्र नभएर सन्देशमूलक पनि हुनुपर्छ। के भन्नुहुन्छ?

हो सन्देशमूलक हुन जरुरी छ। किनभने मान्छेहरू क्यारिकेचर हेर्न र सुन्न लालयित हुन्छन्। मेरो कलाकारिता समाज, समृद्धिसँग जोडिएको छ। यसकारण क्यारिकेचरलाई समाजका कुरीति विसंगतिविरुद्ध आवाज उठाउने हतियार बनाएको छु। कालान्तरसम्म हरसम्भव कोसिसमा रहनेछु।

क्यारिकेचर गर्न रुचाउने नयाँ पुस्तालाई तपाईंको अनुभव बताइदिनुस् न?

छोटो समयमा लोकप्रियता कमाउने ठूलो अपेक्षा लिएर नआउँदा उत्तम हुन्छ। धैर्यताबिना  यस क्षेत्रमा कठिन छ। सबैभन्दा पहिले क्यारिकेचरलाई न्याय गर्न सक्छु कि सक्दिनँ भन्ने स्वमूल्यांकन गरेर मात्र यस क्षेत्रमा आउँदा न्यायसंगत हुन्छ भन्न चाहन्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.