|

सिन्धुली : राइड थ्रु सिन्धुलीगढी साइकल यात्रामा सहभागी साइकलयात्रीलाई सिन्धुलीको सुनकोसी गाउँपालिकाले स्वागत गरेको छ। काठमाडौंको पशुपतिनाथ क्षेत्रबाट सुरु भएको यस वर्षको साइकल यात्रामा सहभागी २१० जना साइकलयात्रीलाई गाउँपालिकाले फुलमाला अविर लगाएर स्वागत गरेको हो।

हरेक वर्षको नोभेम्बरमा आयोजना हुँदै आएको साइकल यात्राको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर परिसरबाट गरेका हुन्। मन्त्री भट्टराईले विश्व साइकल यात्री पुष्कर शाहलाई नेपालको झण्डा हस्तान्तरण गरेर साइकल यात्राको उद्घाटन गरेका थिए।

सिन्धुलीको कमलामाई नगरपालिका-३ स्थित ऐतिहासिक सिन्धुलीगढीको प्रवर्द्धन गर्न शुक्रबारदेखि सोमबारसम्म हुने साइकलयात्रा सिन्धुलीगढी हुँदै जनकपुर पुगेर समापन हुने आयोजक संस्था समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताए। साइकल यात्रामा पुरुष १ सय ५३ जना र महिला १८ जना छन्। यात्रामा सहयोगीसहित २ सय १० जना सहभागी छन्।

यस वर्ष संयुक्त राष्ट्र संघ र ब्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य रहेको छ। संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले पाँचजना महिलायात्रीको सम्पूर्ण खर्च बेहोर्ने भएकाले महिलाको सहभागीता बढेको अध्यक्ष घिमिरेले जानकारी दिए।

समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवर्द्धन गर्न चार वर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ। अध्यक्ष घिमिरेले भने, ‘राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाईसमेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको हो।’

'यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिलजस्ता अन्तर्राष्ट्रिय संस्था साइकल यात्रासँग जोडिएका छन्' अध्यक्ष घिमिरेले भने ‘हाम्रो साइकलयात्राले अन्तर्राष्ट्रि पहिचान पाएको छ। यो नेपालीहरुका लागि गौरवको कुरा हो।’

अध्यक्ष घिमिरेका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएको साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयले साइकलयात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविरलगायतको व्यवस्था गरेर स्वागत गर्ने तयारी गरेका छन्।

सिन्धुलीको सुनकोसी गाउँपालिकाले शुक्रबार साइकलयात्रीको स्वागतमा सुनकोसीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। साइकलयात्रीलाई शनिबार बिहानको खाना, बेलुकाको खाना र बिहानको खाजा सुनकोसी गाउँपालिले खुवाउने सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताइन्।

साइकलयात्री पहिलो दिन शुक्रबार सिन्धुलीको मुलकोटमा बास बस्ने छन्। दोस्रो दिन साइकलयात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव आयोजना गरिएको छ। उक्त कार्यक्रममा प्रदेश-३ का पर्यटनमन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सवको उद्घाटन गर्नेछन्। 

त्यसपछि साइकलयात्रीले ऐतिहासिक सिन्धुलीगढी पुगेर त्यहाँका सम्पदाको अवलोकन गर्नेछन्। त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकलयात्री सिन्धुली कलाघरले गर्ने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन्। तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन्।

त्यहाँ प्रदेश-२ सरकारका उच्च अधिकारीले साइकलयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ। चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ। काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकलयात्री जनकपुरसम्म पुगेपछि साइकल यात्रा समापन हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.