|

हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका मुख्य सचेतकसँग भेट गरेका छन्। 

पत्रकार र अन्य नेकपाका सांसद तथा नेतालाई प्रवेश गर्न नदिएको उक्त भेटवार्तामा प्रचण्डले प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्दा उपयुक्त हुने बताएका छन्। 

बैठकमा सहभागी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाका अनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती तोकिनुपर्ने अध्यक्ष प्रचण्डले बताएका जानकारी दिए। 

बैठकपछि बाहिरिएपछि मन्त्री लामाले भने, ‘प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा भन्‍नुभएको छ।’ 

‘नाम र राजधानी छिट्टै टुंग्याउनुपर्छ। संघीयतालाई स्थायित्व गराउन पनि यो काम पनि छिट्टै गर्नुपर्छ’, भेटमा सहभागी प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भने, ‘अहिलेको प्रस्तावमध्ये सुरक्षा र पूर्वाधारका हिसावले हेटौंडा उपयुक्त हुन्छ भनेर अध्यक्षज्यूले भन्नु भएको छ।’ 

‘संघीयताको पहिचानको कुरा हामीले उठाएको बताए पनि छलफलमा बागमती सबैको साझा र सभ्यता भएकाले यो नाम उपयुक्त हुनसक्छ भन्ने अध्यक्षज्युको कुरा रहेको छ’, नामबारे बोल्दै मन्त्री दुलालले भने।

पार्टीमा विषय प्रवेश गराएर टुङ्गो लगाएपछि मात्रै संसदमा राजधानी र नामाकरणको विषय आउने प्रचण्डले बताएको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ। 

छलफलमा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले अहिले नै प्रदेश राजधानी हेटौंडा पक्का नभइसकेको जानकारी दिए।  

छलफलमा सहभागी नेकपा प्रदेश ३ का मुख्य सचेतक रामेश्वर फुयाँलले प्रदेशको राजधानी हेटौंडा र नाम बागमतीमा प्रचण्डले चासो दिएको बताए। तर प्रदेश सभाबाट नै उक्त विषय टुङ्गो लगाउने वातावरण बनाउन निर्देशन दिएको फुयाँलले बताएका छन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.