|

ओखलढुंगा : जिल्लाको लिखु गउँपालिका-६ का लेकिन्द्र भट्टरार्ईलाई  खेती लगाउने र उठाउने सिजनमा कामदार नपाउँदाको सास्तीले किसानी पेसा नै छाडौँ जस्तै हुन्छ। उनलाई मात्र हैन उनका काका होमन हरि भट्टराईलाई पनि यस्तै हुन्छ किनकि गाउँमा कामदार नै पाउन मुस्किल भएको छ।

यतिबेला नेपालको प्रमुख खाद्य बाली धान भित्र्याउने बेला हो। तर गाउँमा काम गर्ने मान्छे नै नपाइँदा किसानहरुलाई गर्दै आएको खेती तातो दूध निल्नु न ओकल्नु जस्तै भएको छ।

धान काट्ने खेताला नपाउँदा धान पाकेर खेतमै झर्न थालेको मोलुङ गाउँपालिका-२ का सान्तोष भुजेलले बताए। त्यस्तै धान काट्न र चुट्न मान्छे नै नपाएको लिखु गाउँपालिका-६ का लेकिन्द्र भट्टाईको गुनासो छ।

ओखलढुंगामा भट्टराई र भुजेललाई परेको यो समस्या प्रतिनिधि अवस्था मात्र हो। काम गर्ने जोस र जाँगर भएका बलिया अधिकांश युवा वैदेशिक रोजगारीमा छन् भने जागिर तथा व्यापार गर्दै आएकाहरू आफ्नै पेसा व्यवसायमा व्यस्त छन्। धान पाकेर झर्न थालिसक्दा पनि खेतालाकै अभावमा किसानले धान काट्न नसकेको सुनकोशी गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए।

गाउँमा पाइनै छाडे खेताला

पछिल्लो समय गाउँमाा कामदार खोज्न गाउँ चहार्दा पनि कोही नपाइने अवस्था आएको उनको भनाइ छ। गाउँमा ज्येष्ठ नागरिक र बालबालिका मात्र बाँकी रहेको धेरै गाउँमा काम गर्ने समय आउँदा यस्तै समस्या हुने गरेको छ। जिल्लामा धानको उत्पादनका पकेट क्षेत्रहरू रामपुर, शिल्खुबेसी, शेर्नाबेसी, शेराबेसी, नर्मदेश्वर, गाम्नाङटार, जरायोटार हर्कपुर, लोर्खुबेसी लगायतका ठाउँका कृषक मजदुरको अभावकै कारण खेती थन्क्याउन समस्यामा परेका छन्।

लगानी उठ्नै छाड्यो

जनशक्ति कम भएर पनि गाउँमा ज्याला अत्यधिक बृद्धि भएको छ। रोपाइँ गर्न तथा धान बोक्न र झाँट्न गाउँघरमा एक जना पुरुष खेतालाको दैनिक ज्याला १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म चल्ने गरेको छ। महिला मजदुरलाई ५ सयदेखि ८ सय रुपैयाँसम्म दिनुपर्छ।

खेती गर्न किसानले आम्दानीभन्दा लगानी बढी गर्नुपर्ने बाध्यता रहेको छ। पहाडमा दुईहजारको धान उत्पादनका लागि रोप्नदेखि भित्र्याउनसम्म कम्तीमा पनि ८ हजार खर्च  गर्न बाध्य हुनुपरेको छ।

काम गर्नेहरूलाई गाउँमा चलेको भन्दा बढी ज्याला दिएर भए पनि बोलाउन खोज्दासमेत कामदार नपाएको लिखु गाउँपालिका-८ की बाबा पौडेलले बताइन्। गाउँघरमा काम गर्ने मान्छे नै नपाउँदा अध्ययन तथा कामका शिलशिलामा काठमाडौंमा बसेका आफ्ना परिवारका सदस्यलाई झिकाउनुपर्ने बाध्यता रहेका उनको भनाइ छ।

रोपाइँ गर्ने बेलामा त शैक्षिक संस्थाहरु पनि बर्खे बिदा हुँदा केही सहज हुने तर हिउँदमा धानको काम गर्ने मान्छे नै नपाउँदा गाउँघरमा समस्या रहेके लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टीकाराम क्याप्छाकी मगरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.