|
'परेवा भीर'को बाटो  हुँदै मनहरी खोलाबाट चलेका सवारीसाधन र बाटो।

हेटौंडा :  मकवानपुरको पश्चिमी तीन गाउँपालिकाको करिब ३० हजार मानिस हिँड्ने बाटोमा पर्छ 'परेवा भीर'।  मनहरी गाउँपालिका हुँदै राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको बाटोको अधिकांश स्थान मनहरी खोलाको किनार पर्छ, त्यही किनारमा पर्ने 'परेवा भीर' स्थानीयको लागि सधैँको लागि पीर बन्ने गरेको छ।

वर्षातको समयमा खोला तर्न सक्दा चट्टानी पहाड रहेको 'परेवा भीर' पार गर्दा लडेर र बाढीले बगाएर वर्षेनी स्थानीयको ज्यान जाने गरेको  कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए।

स्थानीयले 'परेवा भीर'लाई ज्यानमारा भीर रूपमा चिन्न थालेको उनले बताए। उनका अनुसार यही वर्षातमा मात्र 'परेवा भीर' पार गर्न नसक्दा २ जनाको मृत्यु भयो। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार  परेवाभीरको कारणले एक दशकको बीचमा १२ बढी स्थानीयको ज्यान गइसकेको छ।

मनहरी खोलामा पर्ने 'परेवा भीर' स्थानीयको लागि हैरानको विषय बनेको छ। स्थानीयहरुको नियमित दबाबपछि यो आर्थिक वर्षमा करिब डेढ करोड बजेट पर्ने भएको राक्सिराङ गाउँपालिका अध्यक्ष मल्ले जानकारी दिए। 'परेवा भीर'मा बाटो निर्माणका लागि यो वर्ष प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य इन्द्र बानियाँ र राक्सिराङ गाउँपालिकाले गरी डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

हुन सकेन दिगो विकास

मनहरी गाउँपालिबाटबाट कैलाश र राक्सिराङ गाउँपालिकाका विकट गाउँ जोड्न चार दशक लगाएर मनहरी–प्याङ्चे सडक निर्माण गरिएको थियो। स्थानीय तह गठनसँगै निर्माण सम्पन्न भएको यो सडकको दर्जन बढी ठाउँमा २०७६ को वर्षातमा पहिरो गएको छ। उक्त सडक निर्माणमा हालसम्म १० करोड रुपैयाँ बढी खर्च भइसकेता पनि दिगो रुपमा सञ्चालन हुने गरी सडक भने बन्न नसकेको स्थानीयले बताएका छन्।

स्थानीयहरुले वर्षेनी बजेट विनियोजनको साटो बहुवर्षीय योजनाबाट सडक निर्माण गरिनुपर्ने बताउँदै आएको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान बताउँछन्।यस्तै  त्रिभुवन राजपथअन्तर्गत चुनियाँबाट कालिकाटार हुँदै खैराङ पुगेको मोटरबाटो निर्माण थालेको पनि २४ वर्ष बढी भएको छ। यो सडक निर्माण सुरु गर्ने धेरै मजदुरको मृत्यु भइसकेको छ।

तर अझै पनि हिउँदको समयमा मात्र कालिकाटारसम्म बस सञ्चालन हुने गरेको छ। वर्षातमा यो सडक सञ्चालन हुँदैन। यो सडक निर्माणमा पनि केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले २० करोड भन्दी बढी खर्च गरिसकेका छन्। कैलाश  गाउँपालिकाका स्थानीय कमल अर्यालका अनुसार उक्त सडक खण्ड सुधार्नेभन्दा पनि विस्तार गर्ने काम बढी भएकोले समस्या आएको बताए।

स्थानीय वासिन्दाहरुले सरकारले वर्षेनी बजेट छर्ने मात्र काम गर्दा वर्षेनी करोडौं रुपैयाँ खर्च गरेर पनि दिगो बाटो निर्माण हुन नसकेको भन्दै हचुवाको भरमा सडक निर्माण गर्दा सडक वर्षौसम्म पनि दिगो हुन नसकेको  भन्दै आक्रोश पोख्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.