|
स्वास्थ्‍य चौकी त्रिपुराकोटमा मोबाइल टर्चका भरमा सुत्केरी भएकी एक महिला।

डोल्पा : डोल्पाको एक प्रसूति केन्द्रलाई मोबाइल टर्चको भरमा सुत्केरी गराउनुपर्ने बाध्यता छ। भरपर्दो बत्तीको सुविधा नहुँदा त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने त्रिपुराकोट प्रसूति केन्द्रमा मोबाइल टर्चको भरमा सुत्केरी गराउनु परेको हो। गत साउनयता मात्रै १६ जना सुत्केरीको मोबाइलको टर्च बालेर सुत्केरी गराएको स्वास्थकर्मीहरुले जानकारी दिएका छन्।

ग्रामीण भेगका महिलाहरुलाई सफल सुत्केरी गराउने उद्येश्यका साथ स्थापना गरिएको प्रसूति केन्द्रमा भरपर्दो बत्तीको व्‍यवस्था नहुँदा समस्या हुने गरेको उनीहरूको भनाइ छ।

सुत्केरी गराउने जस्तो जटिल कामका लागि उज्यालो र न्यानो ठाउँ आवाश्यक पर्ने भए तापनि त्रिपुराकोट स्वास्थ चौकीमा भएको सोलार पनि बिग्रेपछि मोबाइलको धिपधिपे उज्यालोले गराउनुपर्ने बाध्यता छ।

स्वास्थ चौकीमा भरपर्दो बत्ती नहुँदा स्वास्थकर्मीको मोबाइलको टर्च र घरबाट ल्याएको ब्याट्रीलाग्ने टर्चको भरमा सुत्केरी गराउनुपर्ने समस्या देखिएको सुत्केरी हुन आउनेहरूका आफन्तले गुनासो गरे।

'घरमै सुत्केरी हुन असुरक्षित हुने भएकाले प्रसूति केन्द्रमा महिलाहरू सुत्केरी हुन आउँछन् तर अस्पताल नै बत्ती नहुँदा म आफैँ मोबाइल टर्चको भरमा सुत्केरी भए' त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ रुमकी नरचन्दा थापाले भनिन्।

एकसाता अघि मात्रै स्वास्‍थ्‍यकर्मीको मोबाइलको टर्चको भरमा सुत्केरी भएकी थापाको मृत बच्चा जन्मिएको थियो। थापाजस्तै दर्जनौँ सुत्केरी महिला र उनीहरुका आफन्तले स्वास्थ चौकीमा बत्तीको भरपर्दो व्‍यवस्था र तालिमप्राप्त स्वास्थकर्मी राख्न माग गरेका छन्।

गत साउनदेखि स्वास्थ चौकीको सोलार बिग्रेकाले यसरी नै सुत्केरी गराउँदै आएको स्वास्थ चौकीका प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिए। '१६ जनालाई मोबाइल टर्चकै भरमा सुत्केरी गराइसक्यौँ,तर बिग्रेको सोलार मर्मतका लागि कसैको ध्यान गएको छैन' उनले भने।

स्वच्छता संस्थाला प्रश्न

दुई वर्षको ग्यारेन्टी दिँदै स्वच्छता परियोजनाले जोडेको सोलार एकवर्ष नपुग्दै बिग्रेपछि स्थानीयले परियोजनामाथि नै प्रश्न गरेका छन्।

त्रिपुरासुन्दरी नगरपालिकाको म्याचिङ फन्टमा उक्त संस्थाले रकम थप गरेर अनुदानमा दिएको सोलार ग्यारेन्टी दिएको समयअगावै बिग्रेपछि स्थानीयले कमसल सोलार जडान गरेको आरोप लगाएका हुन्।

दुई किलोवाट क्षमताको सोलार एक्कासि आफैँ बिग्रेपछि सुत्केरी गराउन ठूलो समस्या भएको बताउँदै मर्मतका लागि परियोजनाका मान्छेलाई धेरै पटक खबर गरे पनि सुनुवाइ नगरेको स्वास्थकर्मीले बताए।

दुर्गमका स्वास्थ चौकीमा बत्तीबिना उपचारमा हुने समस्यालाई मध्येनजर राख्दै लाखौँको सोलार सहयोग गरेकाले मर्मतका लागि संस्थाको तर्फबाट ताकेता गरिरहे पनि सुनुवाइ नभएको बताए।

तालिमप्राप्त स्वास्थकर्मी छैनन्

नगरपालिकाको केन्द्रमा पर्ने स्वास्थ चौकीमा तालिमप्राप्त स्वास्थकर्मी नहुँदा सुत्केरी गराउन समस्या छ। जिल्लाकै केन्द्रबिन्दुमा रहेको स्वास्थ चौकीमा दक्ष अनमी नहुँदा सुत्केरीसम्बन्धी तालिम नलिएका करारका कर्मचारीले सुत्केरी गराउनुपर्ने बाध्यता छ।

सुत्केरी गराउनकालागि छुट्टै प्रसूतिसम्बन्धी तालिम लिएको अनमी आवाश्यक पर्छ। प्रसूति केन्द्र सञ्चालन गरिएका प्रत्येक स्वास्थ चौकीमा एकजना एसबीआई तालिमप्राप्त अनमी अनिवार्य हुनुपर्छ।

स्वास्थ चौकीमा गत साउनदेखि तालिम नलिएका अनमीले सुत्केरी गराउँदै आएको बताउँदै नगरपालिकाले करारमा भएपनि तालिमप्राप्त अनमी भर्ना गर्नुपर्ने स्वास्थ चौकीका प्रमुख तुलबहादुर श्रेष्ठले बताए।

दुई जना स्थायी अनमीको दरबन्दी रहेको स्वास्थ्‍य चौकीमा हाल एकजना करार अनमी र एकजना मासिका मात्र कार्यरत छन्। समायोजनबाट खटिसके पनि एकजना स्थायी अनमी अझै कार्यालयमा उपस्थित नभएको स्वास्थ चौकीले जनाएको छ।

त्रिपुरासुन्दरी नगरपालिकामा रहेका लिकु,पहाडा,सुँ र त्रिपुराकोट सहितका पाँचवटा स्वास्थ चौकीमध्ये चारवटा स्वास्थ चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको छ भने फुल्चिङ् स्वास्थ चौकीमा आवाश्यक उपकरणहरु पठाइए पनि सञ्चालनमा आएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.