|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाअन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्गका दायाँबायाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुरु गरिएको छ। भीमदत्तनगर नगरपालिका क्षेत्रभित्र पर्ने गर्जमुनिदेखि नै सडकका दायाँबायाँ अतिक्रमण गरी बनाइएका संरचना हटाउन शुरु गरेको हो।

राजमार्गको केन्द्रबाट दायाँ-बायाँ गरी २५ मिटरको क्षेत्रमा बनाइएका अबैध संरचना हटाउने कार्य अगाडि बढाइएको डिभिजन कार्यालयका कर्मचारी सुन्दरसिंह धामीले बताए।

'सडक मिचेर बनाइएका अबैध घर, टहरा, पर्खाल जस्ता संरचनाका कारण सडक भत्कने र सवारी दुर्घटना बढिरहेकाे छ। नगरपालिका, सुरक्षा निकाय, व्यवसायी, होटल सञ्चालक र राजनीतिक दलको समन्वयमा सडक क्षेत्र अतिक्रमण गरिएका संरचना हटाउनका लागि कार्य अगाडि बढाएका छौं' धामीले भने, ‘यसका लागि सातदिने सूचना गरेका थियौं।’ 

उनले नगरपालिकाका जनप्रतिनिधि, होटल व्यवसायी, राजनीतिक दलको समन्वयमा सडक डिभिजन कार्यालयले लोडर प्रयोग गरी सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको बताए।

सडकमा बनाइएका संरचनाका र थुपारिएको निर्माण सामग्री हटाउनका लागि स्थानीय बासिन्दा समेत स्वस्फूर्त रुपमा लागेका छन्। सडक डिभिजन कार्यालयले पहिलो चरणमा भीमदत्त नगरपालिको गड्डाचौकीदेखि शिव मन्दिरसम्मको सडकको अतिक्रमण हटाएको थियो। दोस्रो चरणमा शिव मन्दिरदेखि भाँसी क्षेत्र सम्मको अतिक्रमण हटाइएको थियो। तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा नगरपालिकाको गर्जमुनि, वन समिति, झलारी हुँदै कलुवापुर सम्मको सडक अतिक्रमण हटाइने कार्य शुरु गरेको हो।

सडकको जग्गा अतिक्रमण गरी व्यापारिक प्रयोजनका संरचना निर्माण गर्ने, खेती गर्ने, निर्माण सामग्री राख्ने र व्यापारिक सामान थुपार्ने जस्ता कारणले दुर्घटना बढन थालेपछि अतिक्रमण हटाइन लागेको बताइएको छ। अतिक्रमण नहटाइए  सार्वजनिक सडक ऐन २०३१ को परिच्छेद ३ अनुसार सार्वजनिक सडकको रेखदेख, संभार र अन्यको दफा १९ अनुसार कारवाही हुने कानुनी व्यवस्था छ।

सडक अतिक्रमणका संरचना हटाउनका लागि शुक्लाफाँटा नगरपालिका क्षेत्रका जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायी लगायतसँग छलफल समेत गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.