|

भद्रपुर : झापाको पूर्वी नाका काँकडभिट्टाबाट सुख्खा सुपारी भारत तस्करी हुन थालेको पाइएको छ।

केही समय बन्द भएको सुपारी तस्करी फेरि ठूलो परिणाममा भारत तस्करी हुन थालेपछि तस्करी रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त अभियान सुरु थालेको छ। यसै क्रममा प्रहरीले काँकडभिट्टाबाट ठूलो परिणाममा सुख्खा सुपारी बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाको संयुक्त प्रहरी टोलीले आइतबार मध्यरात सो मूल्य बराबरको सुपारी बरामद गरेको हो। प्रहरीले गएराति साढे १२ बजे झापा मेचीनगर नगरपालिका ३ बर्मेली टोलबाट साढे ४ हजार किलो सुपारी बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए।

बरामद गरिएको ७७ बोरा सुपारीको मूल्य ११ लाख ५५ हजार रहेको जनाइएको छ। प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको कमान्डमा खटिएको प्रहरी टोलीले सुपारी तस्करले १६ वटा साइकलमा सुपारीका बोरा राखेर लस्करै भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरेको जनाएको छ। बरामद गरिएको सुपारीलाई सोमबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको जनाइएको छ। 

काँकडभिट्टाबाट सुपारी तस्करी भइरहँदा पनि त्यस क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी गुल्म काँकडभिट्टाले चासो नदेखाउँदा जिल्लाबाट खटिएको प्रहरी टोलीले छापा मारेको हो।

त्यसै गरी सशस्त्र प्रहरीले नं २ गणबाट तथा मातहत बिओपीहरूबाट खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको दुई लाख ४८ हजार ४७१ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका मोटर पार्टस, लत्ता कपडा बरामद गरी मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा बुझाएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.