|

पर्वत :  नयाँ जारी गरिएको मुलुकी ऐनमा पुरुषले पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था गरेपछि पर्वतमा सम्बन्धविच्छेद गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। यस अगाडिसम्म ऐनमा महिलाले सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान रहेको भए पनि अहिले पुरुषले पनि सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान छ।

सम्बन्धविच्छेद बढ्दै जाँदा पारिवारिक विचलनसमेत बढ्दै गएको कानुन व्यवसायीहरूको भनाइ छ। सकेसम्म सम्बन्धमा समस्या नआउने कुरामा सचेत हुनुपर्ने आवश्यकता रहेको नेपाल बार एसोसिएसन पर्वतका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले बताए।

‘सानो समस्यालाई खोतल्दै जाँदा वा समस्याको बारेमा दोहोरो बुझाई कम हुँदा सम्बन्ध विच्छेदको अवस्था आउँछ’ उनले भने, ‘सकभर श्रीमान्-श्रीमतीको सम्बन्धमा समस्या आउन दिनुहुँदैन, आइहालेमा पनि दुईजना बसेर छलफल गरेर सम्बन्धलाई बलियो बनाउनु नै उत्तम विकल्प हो।’

जिल्ला अदालत पर्वतका श्रेष्तेदार जीवनकुमार पौडेलका अनुसार अदालतमा अघिल्लो वर्ष र चालु वर्षको चौमासिक अवधिमा २१६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्ष २०७५/०७६ मा १ सय ७१ र चालु वर्षको चार महिनामा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा अदालतमा दर्ता भएका छन्।

अदालतले गत वर्ष १ सय १५ ओटा सम्बन्ध विच्छेदका मुद्दा फर्स्यौट गरेको थियो। चालु वर्षमा पनि गत वर्षबाट लगत सरी आएका ४० मुद्दा फर्स्यौट भएका छन्। गत वर्षका ५६ मुद्दा फैसला हुन बाँकी नै छन् भने यो वर्ष थपिएका ४५ गरी अदालतमा १ सय १ ओटा मुद्दा फैसलाको क्रममा रहेको पौडेलको भनाइ छ।

नयाँ मुलुकी ऐन जारी भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दिन पाउने व्यवस्था रहेका कारण सम्बन्ध विच्छेद बढेको श्रेस्तेदार पौडेलले बताए। वैदेशिक रोजगार, जोडीहरूका बीचमा बेमेल, परिपक्व नहुँदै बिहे गर्ने प्रचलन, सानो समस्याले सम्बन्धमा खटपट आउँदा पनि सहनशक्ति नहुनु लगायतका कारण अदालतमा सम्बन्ध विच्छेद गर्ने बढेको हो।

‘पहिलेको जस्तो सहन शक्ति अहिलेका मान्छेमा छैन। सानो कुरामा विवाद हुँदा पनि उनीहरूको निर्णय सम्बन्धबिच्छेदमा पुग्छ’ उनले भने, ‘नयाँ मुलुकी ऐनमा पुरुषहरूले पनि सम्बन्धविच्छेद गर्न सक्ने भएपछि विच्छेद गर्नेहरू बढ्दै गएका छन्। यो परिणामले हाम्रो समाज मिलन भन्दा पनि बिछोडतर्फ केन्द्रित भएको देखाउँछ।’

बाबु र आमाले सम्बन्धविच्छेद गर्दा उनीहरूका सन्तानमा अदृश्य असर धेरै पर्ने विश्लेषकहरू बताउँछन्। श्रीमान्-श्रीमतीले सन्तानका लागि भए पनि केही कुरामा सम्झौता गरेरै भए पनि सम्बन्धलाई टिकाइराख्न उत्तम हुने कुस्माको शिवालय बहूमुखी क्याम्पसमा मनोविज्ञान विषयको अध्यापन गराउँदै आएका प्राध्यापक राजेन्द्र पहाडीले बताए।

‘बुबा र आमाको बिचमा हुने झगडाले त बच्चालाई भित्रभित्रै रुवाएको हुन्छ, झन् सम्बन्धविच्छेद नै भयो भने त यसले दीर्घकालीन असर पारेको हुन्छ। जिम्मेवार अभिभावकले सम्बन्धबिच्छेदको बाटो रोज्नु हुँदैन।’

सम्बन्ध विच्छेद गर्ने जोडीका सन्तानहरूमा मानसिक समस्या देखिने, समाजमा सम्बन्ध विच्छेद गर्नेलाई राम्रो नजरले नहेर्ने, वैवाहिक जीवनलाई घृणा गर्ने, दुर्व्यसनमा फस्ने लगायतका समस्या देखिने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.