|

पर्सा  : प्रदेश-२ मा यतिबेला ‘बेटी बचाऊ बेटी पढाऊ' को नारा जोडतोडका साथ घन्किरहेको छ। तर, पर्साका कतिपय विद्यालयका अध्ययनरत बालिका भने यो नाराअनुसार बच्ने र पढ्ने कुरामा सकस उठाइरहेका छन्। कारण यो वर्षको शीतलहरमा पनि उनीहरूले विद्यालयको भूइँको चिसो छल्न आफ्नै घरबाट प्लाष्टिकको थोत्रो बोरा घिसार्दै लगेर त्यसैमा बस्नु बाध्य छन्। योबाहेक उनीहरूसँग अर्को विकल्प नै छैन।

मुलुक गणतन्त्रमय भएर तीनथरी सरकार हुँदासम्म प्रदेश २ का मुख्यमन्त्रीको गृह जिल्लाका पनि धेरै विद्यालय उस्तै हालतमा संचालित छन्। जिल्ला भरीमा स्थानीय मात्रै १४ वटा सरकार भए पनि एउटा कक्षा कोठामा २५⁄३० हजारमा भूइँको चिसो छल्ने कार्पेट र फोमको व्यवस्था गरिदिन माथिका मात्र नभएर तलका सरकार पनि असमर्थ छन्। यसले पनि प्रदेश-२ का मुख्यमन्त्रीको बेटी बचाऊ बेटी पढाऊको नारा आफ्नै जिल्लामा पनि सार्थक नदेखिएको हो।

विद्यालयको इतिहास लामो अवस्था उस्तै

पर्साको पकाहामैनपुर गाउँपालिकाका श्री हरिहरराज उपाध्याय निमावि खेश्राहा, श्री नेरा प्रावि मैनपुर, श्री राम चरित्र भगत मावि पहाहा त यसको नमूना मात्र हुन्। यी सबै विद्यालय स्थापनाको इतिहास हेर्ने हो भने धेरै दशक बितिसकेको छ। तर, विद्यालयको अवस्थाले भने गिज्याइ रहेको छ। यी विद्यालय मात्र नभएर जिल्लामा अझ धेरै विद्यालयको हालत उही चीसो भूइँमा नै साना बालबालिका बसाउने छ। 

विद्यालयप्रति अझै हेलचेक्र्याइँ

विद्यालयमा हाजिर मात्र गरेर तलब पकाउनु पर्छ भन्ने धेरै जसो प्रधानाध्यापक र शिक्षकहरुको रवैयाले पनि विगत लामो समय बालबालिकाले सधैँ सास्ती खेप्नु परिरहेको स्थानीयको तर्क छ। यसको अतिरिक्त विद्यालयमा भौतिक पूर्वाधारका लागि भनी पहल गर्ने प्रधानाध्यापक र शिक्षकप्रति पछिल्लो समयमा जनप्रतिनिधिहरूको राजनीतिक पूर्वाग्रहले पनि विद्यालय भर्ना हुँदै गरेका साना बालबालिका अव्यवस्थित विद्यालयमा जान हिच्किचाउने गरेको उनीहरूको भनाइ छ। विद्यालय भर्ना र केही सुविधा लिने समयमा बाहेक विद्यालयमा एकभाग पनि बालबालिका नियमित नआउने गरेको विद्यालयका शिक्षकहरूले बताए। विद्यालयको हाजिरी रजिष्टरले पनि त्यहि देखाएको छ।

विद्यालय आउन मन लाग्दैन : विद्यार्थी

विद्यालयमा भेटिएका कलिला नानीहरूले विद्यालय आउन मन नलाग्ने बताए। कारण ‘विद्यालय आएपछि पेट दुख्छ' हरिहरराज उपाध्याय निमावि खेश्राहाको बालविकास कक्षामा पढ्ने लक्ष्मी मुसहरले बताइन्। हिउँदको समयमा भूइँको चिसोले असर गर्दा बिरामी हुने गरेको थाहा नभए पनि बालबालिकाले सन्चो नहुने कुरा मात्र बताए। विद्यालयमा कम विद्यार्थी अनुपस्थितलाई शिक्षक शिक्षिकाले भने धान कटनीको समय भएकोले विद्यार्थी संख्या खटेको दाबी गरे।

प्रदेश-२ सरकारका मुख्य मन्त्री लालबाबु राउत गद्दीको गृहगाउँ पर्साको जगरनाथपुर गाउँपालिका-२ को लक्ष्मीपुर टोलमा अवस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय (नेराप्रावि) का बालबालिका भने गएको कात्तिक २७ गते बोराको बसाइँबाट मुक्ति पाएका थिए। त्यो पनि गैरसरकारी संस्थाको सहयोगमा बनेको भवन र डेक्सवेन्चमा। तीनथरी सरकारको भने शिक्षा क्षेत्रमा अझैसम्म जिल्लामा ठोस कार्य सम्पादान नभएको स्थानीयको दावी छ।

अविलम्व व्यवस्था : अध्यक्ष रौनियार

आफ्ना पालिकाका बोरामा बसेर अध्ययन गर्न बाध्य बालबालिकाको अवस्था देखेर पकाहामैनपुर गाउँपालिकाले सबैभन्दा बढी बजेट शिक्षामा विनियोज गरेको पकाहामैनपुरका अध्यक्ष विजय कुमार चौरसियाले बताए। 'विद्यालयको भौतिक पूर्वाधार र व्यवस्थापनका लागि पहल गर्ने विद्यालयलाई पालिकाले सक्दो सहयोग गर्छ' उनले भने, 'बालबालिकाले न्यानोमा बसेर पढ्न पाउनु पर्छ मेरो पनि मान्यता हो। मैले खेश्राहा, मैनपुर लगायतका प्रअलाई अबिलम्ब व्यवस्था गर्न भनिसकेको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.