|

कञ्चनपुर : सहाराविहीन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ नौखरीका ज्येष्ठ दम्पतिको जिउने आधार सामाजिक शुरक्षाअन्तर्गत पाइने भत्ताको रकम बनेको छ। ७७ वर्षीय गंगाराम डगौरा र उनकी धर्मपत्नी ७१ वर्षीया कलेसनी डगौराले भत्ताको रकमबाटै जीविका चलाउँदै आएका छन्।

नगरपालिकाले वडा कार्यालयमार्फत उपलब्ध गराउने भत्ताको रकमले आवश्यक खाद्य सामग्री, लुगाफाटो र औषधिमुलोको व्यवस्था वृद्ध दम्पतिले मिलाउँदै आएका छन्। वृद्ध दम्पतिका चारवटा छोरी भए पनि सबैको विवाह गरी पठाएपछि सहाराविहीन बनेका हुन्।

'सानै छँदा जन्मिका चारवटा छोराको मृत्यु भएपछि छोराकै आसमा चार छोरी जन्मिए' बृद्ध गंगारामले भने, ‘पूरै जीवन छोरीको पालनपोषणमा बिताएउनु पर्‍यो। छोरी ठूला भएपछि विवाह गरी आ-आफनो घर लागे। त्यसपछि सहाराविहीन भएका छौँ।’

‘सहारा दिने नत कोही आफन्त छन्। छोरीहरूले पनि हेर्दैनन्। यस्तो अवस्थामा नगरपालिकाले उपलब्ध गराउने भत्ताको रकम एक मात्रै सहारा बनेको छ’ उनले थपे।

ऊर्जावान पूरै सयम मुक्त कमैया बसेर जमिन्दारको घरमा जीवन बिताएका डगौरा दम्पतिले कमैया मुक्तिपश्चात पुनः स्थापन हुँदा पाएको पाँच कठ्ठा जग्गा र त्यसमा छिमेकीको सहयोगमा निर्माण गरिएको छाप्रो मात्रै सम्पत्तिका रूपमा रहेको छ।

'सम्पत्तिका रूपमा रहेको जग्गा बलौटे भएकाले केही फल्दैन' डगौराले भने, ‘सिँचाइको व्यवस्था छैन। बूढेसकाल लागेकाले पहिलाको जस्तो मिहिनेतसमेत गर्न सक्दैनौँ। जग्गामा बनेको छाप्रोमा बस्ने व्यवस्थाबाहेक करेसाबारीसमेत बनाउन सकिएको छैन।’

'छाप्रो निर्माण गर्दा सरकाले छानामा राख्नका लागि उपलब्ध गराएको जस्तापातासमेत पुरानो भएकाले खिइँदै गएकाले पानी पर्दा त चुहिन्छ नै' कलेसनीले भनिन् ‘शीत पर्दासमते टप्पटप्प चुहिने भएकाले मर्मत गर्न सकेका छैनौँ।’ भत्ताको रकम बचत गरी मर्मत गर्ने योजना रहेको उनले बताइन्।

वृद्ध दम्पति सरकाले दिने भत्ताको रकमले औषधोमुलोसँगै चामल, तेल, दाल, नुन, कपडा सबैको जोहो मिलाउन सहज रूपमा सकिएको बताउ छन्। पहिला भत्ताको रकम थोरै हुँदा जेनतेन जीविका चलाउनु पर्ने बाध्यता थियो, हाल सरकारले भत्ताको रकममा वृद्धि गरेपछि खर्च चलाउन निकै सहज बनेको वृद्ध डगौरा दम्पतिको भनाइ रहेको छ।

'खर्चको अभावमा तीर्थाटन गर्न सकेका थिएनौँ' गंगारामले भने, ‘भत्ताको रकम केही बचत गरी मर्नु अघि तीर्थ घुम्ने योजना दुवै जनाको रहेको छ।’  सरकारले भत्ता दिएपछि सहाराविहीनहरु"का लागि सहज जीवन जिउने आधार बनेको उनले बताए। 'भत्ताको रकमको व्यवस्था नहुँदो हो त अरूको शरणमा जानु पर्दथ्यो' उनले भने, ‘बाच्नका लागि निकै संघर्ष गर्नु पर्थ्यो होला। त्यो सबै समस्याको निराकरण भत्ताको रकमले पूरा गरिदिएको छ। सहज जीवन बिताउन पाएका छौँ।’

बूढेसकालमा हातखुट्टा चल्न छाडेपछि बस्दै आएको स्वामित्वको जग्गा जसले स्याहार सुसार गर्छ त्यसकै नाममा गरिदिने उनीहरूको योजना छ। विगत सम्झिदै गंगारामले भने, ‘बेलौरीका जमिन्दार कहाँ आठ वर्ष जति कमैयाका रूपमा काम गरेँ। त्यसपछि १० सौकी लिएर भारतीय जमिन्दार कहाँ पनि काम गरेँ।'

भारतमा काम गर्दा निकै कष्ट झेल्नु परेको उनले बताए। 'जमिन्दारबाट लिएको दश रुपैयाँ मात्रै थियो। छोडेर आउन खोज्दा खाना खर्च सबै जोडेर दश हजार बढी पुर्‍याउथे। पूरै एक वर्ष रितो हात रातारात भागेर फर्किन सकेँ’ उनले थपे, 'बेलौरीमा काम गर्दा बिरामी परेपछि जमिन्दारले दिएको रकम २० हजार जति पुगेको थियो। तिर्ने हैषियत थिएन। खानासँगै वर्षमा एक जोर लुगा मात्रै पाइन्थ्यो।

सरकाले मुक्तिको घोषणा गरेपछि जमिन्दारको घरबाट बिदा पाएपछि केही वर्ष दुवै दम्पतिले मजदुरी गरी जीविका चलाएको उनले बताए। उमेर ढल्दै गएपछि मजदुरी गर्न नसक्ने अवस्थामा सरकाले ज्येष्ठ नागरिक शुरक्षा कार्यक्रमअन्तर्गत भत्ता दिन थालेपछि त्यसबाटै जीविका चलाउन थालेका उनीहरूले बताए। सरकाले लगाएको गुण ज्येष्ठ नागरिकले बिर्सन नसक्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.