|

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले स्वर्ण पदकनजिक पुगेर पनि गुमाउनुपर्दा दु:ख लागेको बताएका छन्। चौथो सेट आफ्नो पोल्टामा परिसकेको अवस्थामा पनि अंकमा थप्‍न नसक्दा नतिजा भारतको पक्षमा पुगेको उनको प्रतिक्रिया छ।

'१९-१७ अंक दूरीको अवस्थामा पुगेर पनि चारवटा सर्भिस मिस गर्न पुग्यौँ, दुईवटा सहज बललाई सदुपयोग गर्न सकेनौँ, समन्वय हुन सकेन', भट्टले भने, 'हातमा आइसकेको चौथो सेट गुमाएपछि खेलाडीमा गर्न सक्दैनौँ भने पर्‍यो, मैले धेरै कोसिस गरे खेलाडीलाई माथि ल्याउन तर सकिनँ र हार्यौं।'

हारको नैतिक जिम्मेवारी लिँदै उनले राज्यलाई गोल्ड मेडल दिलाउने वाचा पूरा गर्न नसकेकोमा माफी मागे। 'फाइनलमा पुगेर जुन हार भयो, त्यो नबिर्सने क्षण भयो' भट्टले भने 'आगामी दिनमा यो कमीकमजोरी सच्याएर अगाडि बढ्छौँ।'

यस्तै, नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले सागमा स्वर्ण पदक दिलाउन नसकेको दु:ख लागेको बताइन्। तर सेन्ट्रल जोनमा जितेको स्वर्णभन्दा सागमा जितेको रजतले धेरै गर्वान्वित बनाएको उनको तर्क छ।

'हार्दा दु:ख लाग्यो, तर भारतलाई कडा टक्कर दिन सक्यौं। यसमा खुसी छु' शाहीले भनिन्, 'सेन्ट्रल जोनमा कडा प्रतिस्पर्धी थिएनन्। तर सागमा हामीले बलिया प्रतिद्वन्दीहरूलाई टक्कर दिन सक्यौँ, आगामी दिनमा अहिले कमजोरी सुधारेर जान्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.