|

चितवन : शुल्क वृद्धिको विरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थी आन्दोलित भएका छन्।

कृषि संकायले आइतबार प्रकाशित गरेको प्रवेश परीक्षासम्बन्धी सूचनामा प्रवेश परीक्षाको शुल्क ५ हजार राखिएकोमा विभिन्न विद्यार्थी संघ संगठनहरू विरोधमा उत्रिएका हुन्। शुल्क वृद्धिको विरोधमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघले मंगलबार विश्वविद्यालयको कृषि संकायको प्रशासनिक काम ठप्प पारेका छन्।

आफूहरूको माग पूरा नभएकाले प्रशासनिक काम ठप्प पार्न बाध्य भएको अनेरास्ववियुका इकाइ अध्यक्ष सन्तोष खतिवडा, अनेरास्ववियु क्रान्तिकारीका इकाई अध्यक्ष विवेक पौडेल र नेविसंघका इकाई सभापति संयम पण्डितद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ। 

विद्यार्थी संघ संगठनहरूले हिजो शुल्क वृद्धि फिर्ताको माग गर्दै २४ घण्टे अल्टिमेटमसहितको संयुक्त विज्ञप्ती बुझाएका थिए। माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने अध्यक्ष खतिवडाले बताए। विद्यार्थीले प्रवेश परीक्षा नै ५ हजार राखेर गरिव, जेहेन्दार विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित बनाउन खोजेको आरोप लगाएका छन्। 

विविमा कार्यालय सहायकको आवेदन शुल्क ८ सय, अधिकृत स्तरको कर्मचारीको आवेदन शुल्क १ हजार तथा सहप्राध्यापकको आवेदन शुल्क १७ सय ५० मात्रै भए पनि पढ्न आउने विद्यार्थीको आवेदन शुल्क ५ हजार तोकेर विद्यार्थीमाथि ब्रम्हलुट गर्न खोजिएको विद्यार्थीको भनाई छ।

तत्काल शुल्क नघटाए अझै कठोर कदम चाल्न बाध्य हुने संघसंगठनले चेतावनी दिएका छन्। उता कृषि संकायका डिन जयप्रकाश दत्तले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि र आन्तरिक आय स्रोत बढाउन शुल्क थोरै बढाएको बताए। गत वर्ष ४ हजार रहेकोमा यसवर्ष विद्यार्थीले जो जहाँ गएर पनि पढ्न पाउने विकल्पसहित १ हजार बढाएको बताए।

विद्यार्थीसँग निरन्तर छलफल भइरहेकाले चाँडै समस्या समाधान हुने डिन दत्तको भनाइ छ। दत्तले भोलि भर्ना समितिको बैठक बोलाएको र थप छलफल गरी अघि बढ्ने बताए। गत वर्ष कृषि संकायमा ४ सय विद्यार्थी भर्ना भएका थिए। यस वर्ष ५९८ जना भर्ना हुन पाउने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.