|

ताप्लेजुङ : सीता एयरले प्रदेश १ का तीनवटा विमानस्थलमा मंगलबार परीक्षण उडान गरेको छ। ताप्लेजुङको सुकेटार, खोटाङको लामिडाँडा र ओखलढुंगाको रुम्जाटारमा परीक्षण उडान गरेको हो। 

आगामी मंसिर २७ गतेदेखि ताप्लेजुङस्थित पाथीभरा र खोटाङको हलेसीमा तीर्थयात्री ओहोर-दोहोर गराउने योजनाका साथ परीक्षण उडान गरिएको एयरलाइन्सका प्रबन्धक रिजेश थापाले जानकारी दिए। उनका अनुसार तीनवटै ठाउँमा सफल परीक्षण गरिएको छ। 

परीक्षणका क्रममा प्रदेश राजधानी विराटनगरबाट २० मिनेटको समयमा ताप्लेजुङको सुकेटार विमानस्थलमा जहाज अवतरण भएको थियो। काठमाडौंबाट उडेको जहाज रुम्जाटार र त्यसपछि लामिडाँडा गएको थियो।

लामिडाँडाबाट सिधै ताप्लेजुङ आउने प्रयास भए पनि मौसमका कारण विराटनगर अवतरण भई मौसम अनुकूलपछि त्यहाँबाट सुकेटार आएको नागरिक उड्डयन प्राधिकरण सुकेटार विमानस्थलका प्रमुख रुपेश मुरारकाले जानकारी दिए। 

पाथीभरा र हलेसीमा तीर्थयात्री ओसार्ने योजनाअनुसार परीक्षण भएको र यसको नेतृत्व प्रदेश १ को विराट होलिडे ग्रुपले गरेको जनाइएको छ। दुई महिनासम्म प्याकेजमा चलाउने र त्यसपछि नियमित उडान गर्ने उद्देश्य रहेको एयरलाइन्सले जनाएको छ।

यस अवधिमा विराटनगरबाट सुकेटारसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा पाथीभरा दर्शनका लागि तीर्थयात्री लैजाने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.