|

धनकुटा : देशका विभिन्न ठाउँमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचन हुनै लाग्दा धनकुटाका व्यवसायीहरुलाई भने उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको छ। उद्योग वाणिज्य संघ धनकुटाको आगामी २३ गते वार्षिक साधारणसभा र २८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएपछि व्यवसायीलाई सरगर्मी बढेको हो।

संघको आगामी तीन वर्षे नेतृत्वका लागि दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिने तयारी गरेका छन्। संघमा साना, मझौला र ठूला गरी १ हजार ४८ मतदाता छन। संघको नेतृत्व लिन उद्योगी व्यवसायीहरूले राजनीतिक दलमा आबद्धताको हिसाबले  नै दुई फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका छन्।

नेपाली कांग्रेसले हाल उद्योग वाणिज्य संघका सदस्य समेत रहेका पार्टी सचिव विजयसञ्तोषी राईको नेतृत्वमा चुनावी मैदानमा जाने तयारी गरेको छ। उद्योग वाणिज्य संघका महासचिब समेत रहेका अर्का व्यवसायी रोशेष श्रेष्ठले पनि अध्यक्षको दाबी गरेको भएपनि सहमति भइसकेको कांग्रेश निकटहरुले बताएका छन। व्यवसायिक अनुशासन र संस्थागत उद्योग वाणिज्य संघ बनाउने प्रतिबद्ध भएर चुनावी मैदानमा जाने तयारी गरिएको राईले बताए। उनले आफूहरु प्यानल बनाउने तयारीमा जुटेको बताए।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेतृत्वका लागि उमेद्वार टुंग्याउन सकेको छैन। नेकपानिकट प्यानलबाट उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष समेत रहेका सीताराम श्रेष्ठ, उपाध्यक्ष रहेकी मनकुमारी तितुङ ‘तारा’ ले अध्यक्षको दाबी गरिरहेका छन।

सबै व्यवसायीको यात्रा र गन्तव्य आर्थिक समृद्धि मात्रै भएकाले सो विषयलाई लक्ष्यमा पुर्‍याउने र निरन्तर व्यवसाय गरिरहेको तथा व्यवसायीका पिरमार्का सुन्ने व्यक्तिलाई उम्‍मेद्वार बनाउने गरी तयारी भइरहेको नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगानाले बताए।

उद्योग वाणिज्य संघ धनकुटामा अध्यक्ष र विभिन्न पदाधिकारी सहित १९ पदमा निर्वाचन हुने उद्योग वाणिज्य संघ धनकुटाका कार्यालय प्रमुख जयन्द्र प्रधानले बताए। विगतदेखि नै उद्योग वाणिज्य संघ धनकुटाको निर्वाचनमा पार्र्टीगत भन्दापनि जातिय र भूगोलको विषयले निकै चर्चा पाउने गरेको छ।

गएको चुनावमा कांग्रेश र तत्कालीन माओवादी केन्द्रले मिलेर प्यानल बनाएको हुँदा पनि तत्कालिन एमालेले नेतृत्वमा विजय भएको थियो। यसपटक तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर पार्टी नै एक भएकाले नेकपा निकटले जित्ने एक पक्षको दाबी छ।

त्यसो त कांग्रेश निकटलाई पनि कमजोर मान्न नहुने धेरै हिसाबले कांग्रेसनिकट प्यानल बलियो बताउने पनि अर्को पक्ष देखिएको छ। त्यसकारण उद्योग वाणिज्य संघको यसपटकको चुनाव निकै प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.