अमेरिकी कदम आन्तरिक मामिलामाथिको हस्तक्षेप : चीन

|

अमेरिकी संसदको तल्लो सदनले चीनमा बन्धक बनाइएको भन्दै  मानवअधिकार रक्षाका नाममा एउटा विधेयक पारित गरेको छ। त्यहाँका उइगर मुसलमानको नजरबन्द र उत्पीडनलाई रोक्नका लागि ‘उइगर ह्यूमन राईट्स पोलिसी एक्ट अफ २०१९’ नामको विधेयक पारित गरेको बिबिसीले जनाएको छ।

तल्लो सदनमा भएको मतदानमा ४ सय ७ सदस्यले विधेयकको पक्षमा मत हाल्दा एकजना सदस्य मात्र विपक्षमा देखिए।  यद्यपि यो विधेयक सिनेट र राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अनुमोदन हुन भने बाँकी छ।

यो विधेयक राष्ट्रपति ट्रम्पबाट अनुमोदन भएपछि बन्ने कानुन सरकारी नजरबन्दमा जीवन बिताइरहेका भनिएका उइगर मुसलमानको मामिलामा चीनमाथि दबाब बनाउने अहिलेसम्मकै सबैभन्दा ठूलो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कदम हुनेछ।

सार्वभौमिक रूपमा मान्यताप्राप्त मानवअधिकारको उल्लंघनलाई सम्बोधन गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको छ। यसबाट चीनमाका करिब १० लाख उइगर मुसलमानको जीवनमा केही न केही प्रभाव पार्नेछ।

विधेयकमा चीन सरकारमाथि व्यवस्थित रूपमा भेदभाव गरिएको, चीनको पश्चिम सिनजियांग प्रान्तमा उइगर मुसलमानलाई कैयौँ महत्त्वपूर्ण नागरिक र राजनीतिक अधिकार नपाएको, उनीहरूलाई बोल्ने स्वतन्त्रता नभएको र आफ्नो धर्मको पालना गर्ने, न्यायालयमा निष्पक्ष सुनुवाइको अधिकारसमेत नदिइएको उल्लेख छ।

विधेयकमा चिनियाँ अधिकारीहरू शिनजियांग प्रान्तमा मानवअधिकारको हननका लागि जिम्मेवार रहेकोले उनीहरूमाथि अमेरिकी सरकारले केही प्रतिबन्ध लगाउनुपर्ने उल्लेख गरिएको बिबिसीले जनाउको छ।

चीनले भने अमेरिकी संसदको यो कदमप्रति कडा आपत्ति जनाएको छ। चीनले यसलाई आफ्नो आन्तरिक मामिलामाथिको हस्तक्षेप भनेको छ। चिनियाँ विदेशमन्त्रालयले यो विधेयकले जानाजान सिनजियांग प्रान्तमा मानवअधिकारको अवस्था थप बिगारिररहेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.