सुनमा नौ अर्बको व्यापार र ७३ करोडको राजस्व घट्यो

|

काठमाडौं :  मुख्य रूपमा विलासी सामानको रूपमा हेरिने सुन र गाडीको कारोबार नेपालमा उच्च दरले घटेको देखिएको छ। सरकारले यी सामग्रीको सामानको भन्सार दर बढे पनि आयात नै उल्लेख्य घटेपछि राजस्व बढ्न सकेको छैन। जसको प्रभाव समग्र राजस्वमा पनि देखिएको छ।

राजस्व अधिकृतहरू भन्छन् ‘चालु आर्थिक वर्षमा लक्ष्‍य ८० प्रतिशत राजस्व उठाउन पनि गाह्रो छ।’ सरकारले चालु आर्थिक वर्षको लागि ११ खर्ब राजस्वको अनुमान गरेको छ। राजस्व घट्नुमा प्रमुख कारण आयात घटेको देखिएको छ भने आयात घट्नुको प्रमुख कारण औद्योगीक बस्तु, सवारीसाधन र सुनको कारोबारमा आएको कमी देखिएको छ।

पाँच गुणाले कमी आयो सुनको कारोबार

चालु आर्थिक वर्षको चार महिनाको सुनको आयात परिणामको हिसाबले पाँच गुणा कमी आएको छ। आयातको लागि बुझाइएको रकमको हिसाबले ५ गुणाले कमी आएको छ भने सुन आयात गरेबापत बुझाउनुपर्ने राजस्वको भन्सार महसुलका हिसाबले चार गुणाले कमी आएको छ।

परिणाम पाँच गुणा कमी आएको र रकम ६ गुणा कमी आए पनि राजस्व चार गुणा मात्रै कमी आउनु भन्सारदर वृद्धिको प्रभाव देखिन्छ।

गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा सुनको आयात २६ सय २० केजी भएको थियो तर चालु आर्थिक वर्षको सो अवधिमा ५५० केजी मात्रै आयात भएको छ जसमा ५० केजी मिश्रित सुन रहेको छ भने ५०० केजी काँचो सुन छ।

त्यस्तै, गत आर्थिक वर्षको चार महिनामा ११ अर्ब २६ करोड ६३ लाख रुपैयाँको सुनको आयात भएकोमा चालु आर्थिक वर्षमा दुई अर्ब ७२ करोड ५० लाख रुपैयाँले कमी आएको छ।

गत वर्ष यसै अवधिमा एक अर्ब पाँच करोड ९१ लाख रुपैयाँ भन्सार उठेकोमा चालु आर्थिक वर्षमा २७ करोड २५ लाख रुपैयाँको राजस्व उठेको छ। यस हिसाबले गत वर्षभन्दा परिणाममा २१ केजी कमी आएको छ भने रकमको हिसाबले नौ अर्ब रुपैयाँ कमी छ। त्यस्तै सरकारले उठाउने भन्सार ७३ करोड कम भएको छ।

मूल्यवृद्धि र तस्करी बढेको शंका

सुनको मूल्य बढ्नको प्रमुख कारण चाडपर्वको समयमा भएको अत्यधिक मूल्यवृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्‍यको बुझाइ छ। ‘हामीले अत्यधिक रूपमा सुन बेच्ने समयमा किन्नुपर्‍यो, जसको परिणाम आयात नै धेरै घट्नुले देखाएको छ’ शाक्यले भने ‘अहिले पनि कतिपय पसलमा सुनको स्टक सकिएको छैन, बैंकको किन्न सक्ने अवस्था आएन, व्यापारीले नकिनेपछि बैंकले आयात गर्ने कुरै भएन।’

तर, केही व्यापारी भने तस्करी बढेको पनि कारण हुन सक्ने बताउँछन् ‘सुनमा भन्सार बढाइएको छ, जसको कारण अन्य देशको तुलनामा नेपालमा महँगो पनि छ’ एक व्यापारीले भने, ‘यस्तो समयमा तस्करीको सुन बढ्न सक्छ।’

ती व्यापारीको कुरा मान्न भने शाक्य तयार छैनन् ‘सुनको अभाव हुँदा तस्करी बढ्ने हो अहिले बैंक र पसल दुवैमा स्टल रहेको अवस्थामा तस्करी बढेको कारण भन्न सकिँदैन’ शाक्यले भने।

उनले सुनको आयात घट्नको कारण विगतका वर्षमा भएको अवस्था अहिले देखिएको बजार परिदृष्यले फरक परेको दाबी गर्छन् ‘ २०६९ सालमा सुनको मूल्य अत्यधिक बढेर ६६ हजार प्रतितोलासम्म पुग्यो कतिले त्यो समयमा बेचेर ४७ हजार हुने समयमा किने, अहिले पनि ७३ हजा पुग्दा धेरैले बचे तर पछि मूल्य अपेक्षित घट्न सकेन’ शाक्यले भने।

चाँदीको आयात सामान्य बढ्यो

गत वर्षको चार महिनाको तुलनामा चाँदीको आयात भने बढेको छ। यस अवधिमा चाँदीको आयात पाँच हजार २२४ केजी बढेको छ भने रकमको हिसाबले  करोड ७१ लाख रुपैयाँ बढेको छ। त्यस्तै, भन्सार रकम दुई करोड ८२ लाख रुपैयाँ बढेको छ।

चालु आर्थिक वर्षको चार महिनामा ४८ हजार ७५७ केजी चाँदी दुई अर्ब ९८ करोड ९७ लाख रुपैयाँमा आयात भई सरकारलाई २७ करोड २० लाख रुपैयाँ राजस्व उठेकोमा गत वर्ष यसै समयमा ४३ हजार ५०३ केजी दुई अर्ब ४५ करोड २५ लाख रुपैयाँको आयात भएको थियो।

विलासी सामान कम गरेकै राम्रो

अर्थ जानकारहरूले विलासी सामान आयात कम गर्नु राष्ट्रका लागि सकरात्मक पक्ष भएको बताएका छन्। पूर्व-अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा. रामशरण महत भन्छन् ‘गाडी, सुन जस्ता विलासी सामानको आयात कम हुनुलाई सकरात्मक रुपमा लिन सकिन्छ, तर औद्योगिक वस्तुहरू समेत आयात कमी हुनु र देशभित्र उत्पादन नबढ्नुले भने नकरात्मक प्रभाव पार्छ’।

अर्थमन्त्री डा. युवराज खतिवडा सरकारले योजनाबद्ध रूपमा विलासी सामानको आयातमा कम गरेको दाबी गर्छन्। खतिवडा भन्छन्, ‘हामीले भन्सारको लोभ मात्रै गरेका छैनौँ विलासी सामानको आयात बढाउँदा राजस्व बढी हाल्छ तर हामी आफ्नो अर्थतन्त्रलाई पनि मध्यनजर गरेर कमी गरेको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.