|

म्याग्दी : बेनी नगरपालिका-५ गाजनेको धुरीमा अवस्थित केभहिल ऐतिहासिक महत्व र अपार पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि ओझेल परेको छ।

‘रामायण’का अनुसार विद्वान् महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीमा रहेको केभहिल प्राकृतिक सुन्दरता र हिमशृङ्खलाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ। यहाँबाट धौलागिरि हिमाल पुनहिलबाट भन्दा पनि नजिकबाट अवलोकन गर्न सकिन्छ।

त्यसैगरी मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो। यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दासमेत रहेका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले बताए।

बानियाँका अनुसार बेनीबजारदेखि नजिकैको क्षेत्र भनेको पुलस्त्य पुलहाश्रम, ढोल्ठान दरवार, जगन्नाथ मन्दिर रहेको गाजनेको धुरी, टोड्केको धुरी लगायत क्षेत्र नै भएकाले ती क्षेत्रको व्यापक रुपमा प्रचारप्रसार गर्न सक्ने र यी ठाउँहरुको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बुझाउन सक्ने हो भने नेपाल र भारतका मात्रै होइन तेस्रो मुलुकका हजारौं पर्यटक यहाँ आउन सक्ने प्रशस्तै आधार रहेका छन्।

समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको सदरमुकाम बेनी बजारदेखि करिब डेढ/दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने केभहिल प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए।

उत्कृष्ट गन्तव्यस्थलको सम्भावना

उनले भने, 'ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाहरुले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेर पनि यो ठाउँको कहिल्यै प्रचारप्रसार हुन सकेन, यदि राम्रोसँग प्रचारप्रसार गरी सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने हो भने केभहिल क्षेत्र म्याग्दीको मात्र होइन ४ नम्बर प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बन्न सक्छ।'

“केभहिलबाट पूर्वोतरतर्फ माछापुच्छ्र्रे, अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमालका लर्कनहरु आँखैअगाडि ठिंग उभिएको देखिन्छ,” पौलस्त्य पुलह क्षेत्रविकास समितिका अध्यक्ष लीलाबहादुर बानियाँले भने। अध्यक्ष बानियाँका अनुसार केभहिलको नजिकै रहेको धार्मिक दृष्टिले अति पवित्रतम गाजने गाउँ मादक पदार्थ र मांसाहार निषेधित नेपालकै उदाहरणीय गाउँ हो।

केभहिलबाट करिब आधा घण्टाको दूरीमा रहेको जगन्नाथ मन्दिर भारतको उडिसा राज्यमा रहेको जगन्नाथ मन्दिरकै ढाँचामा निर्माण गरिएको छ।

विशाल, बलशाली र समृद्ध चौबिसी राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरैपछि मात्र बेनी बजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक ग्रन्थमा उल्लेख छ।

बेनी नगरपालिकाभित्र रहेका टोड्के, जगन्नाथ, पौलस्त्य पुलहाश्रम, जालपा, महारानी, गलेश्वर, ज्यामरुककोट, भकिम्लीको स्वर्गाश्रम जस्ता ऐतिहासिक र धार्मिक महत्वका क्षेत्रको संरक्षण र उपयोगको चाँजोपाँजो मिलाउने अभियानमा बेनी नगरपालिका लागेको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए।

'स्थानीय जनतालाई संरक्षणबाट प्राप्त हुने लाभ र संरक्षण नहुँदा हुने नोक्सानीका लागि प्रत्यक्ष रुपमा जिम्मेवार बनाएर सचेत गरियो र आवश्यक आधार विकास गर्न सरकारस्तरबाट आर्थिक लगानीको वातावरण बनाइयो भने अवश्य पनि यी सम्पदाहरुले भविष्यमा बेनीवासीलाई मात्र होइन, देशकै पर्यटकीय विकासका सम्‍भावनामा महत्वपूर्ण योगदान गर्नेछन्' श्रेष्ठले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.