ओलम्पिक खेल्न नपाउँदा 'अनलक्की' भएँ

|

काठमाडौं :  १२औं सागकी कास्य पदक विजेता नीमा गुरुङले यो सागमा स्वर्ण पदक जित्‍न सकिनन्। उनलाई नेपालका लागि स्वर्ण प्राप्त गर्ने खेलाडीका रुपमा हेरिएको थियो।

तेक्‍वान्दोतर्फ ५७ किलो तौल समूहकी नीमा भारतकी कसिस मल्लिकसँग एक अंकले हारेकी थिइन्। पहिलो राउण्डमा अग्रता लिएकी नीमा दोस्रो राउण्डमा सम्हालिन नसक्दा पराजित भइन्। योसँगै उनी रजत पदकमा चित्त बुझाउन बाध्य भइन्।

यसअघि १२औं सागमा पनि उनी फाइनलमा भारतीयसँगै पराजित भएकी थिइन् । उनीसँग थाहाखबरका लागि राजु पौडेलले गरेको संक्षिप्त कुराकानी :

स्वर्ण जित्ने अवसरबाट चुक्नुभयो। हार्दा  के कुरा मिस भइरहेको छ?

वर्षौँदेखिको मिहिनेत स्वर्णका लागि नै थियो। मैले यसपाली पनि नेपालका लागि स्वर्ण  जित्‍न सकिन्। स्वर्ण जितेर नेपालको झण्डा फहराउन नपाउनु मेरा लागि पीडादायक क्षण हो। मैले झण्डालाई मिस गरिरहेको छु।

यस अघिको सागमा पनि तपाईंले  स्वर्ण प्राप्त गर्नबाट विमुख हुनुपरेको थियो। मेहनत नपुगेको हो?

मैले त्यो हारबाट सिक्ने मौका पाएको थिएँ। यसपाली कुनै हालतमा जित्‍ने मेरो कोशिश थियो। सायद मैले अझै मिहिनेत गर्नुपर्छ।

हारजित त स्वभाविक हो। हरेक खेलाडीले जित्‍नकै लागि खेल्छ। तपाईं तेक्‍वान्दोमा कसरी आउनु भयो?

बच्चामा मैले संगिना वैद्यको नाम सुन्थेँ। उहाँको नाम जताततै सुनिन्थ्यो। मेरो ठाउँबाट उहाँलाई सम्मान गरियो। त्यसबेला म एकदमै सानी थिएँ। सम्मान भन्दा पनि उहाँले पैसा पाउनु भएको थियो। तेक्‍वान्दो खेलेपछि  पैसा आउने रहेछ भन्‍ने सोचेको थिएँ। (हा हा हा) त्यसबेला संगिना म्यामसँग दीपक गुरूपनि हुनुहुन्थ्यो। उहाँहरूले पाएको सम्मानले म लोभिएको हुँ। पछि बुज्दै गएँ, यसैमा लत बस्यो।

खेलाडीको अभ्यासको क्रममा चोट लाग्‍नु स्वभाविक हो। पीडा भने जित्‍न नसक्दा हुने रहेछ है?

हो नी। खेलाडीलाई जित्न नसक्नुको पीडा शरीरमा लाग्‍ने चोट भन्दा ठूलो हो।

अन्तराष्ट्रियस्तरको खेलमा कहिलेबाट प्रवेश गर्नुभयो?

कोरियाको इन्छोनमा एसियन गेम खेल्न सन् २०१४ मा पहिलो पटक गएर खेलेँको थिए। वर्ल्ड च्याम्पियसिप दुईवटा खेलेँ। साग दुईवटा खेलेँ। एशियन गेम दुईवटा खेलिसकेँ।

 हारले के सिकाउँदो रहेछ?

अझै मेहनत गर्नुपर्छ भन्‍ने नै सिकाएको छ। स्वर्ण प्राप्त गर्न म अझै पूर्ण भइसकेको रहेनछु भन्‍ने लागेको छ। मैले सिकेको कुरा त के भने मैले जति मेहनत गरेँ, त्यो अझै पूर्ण रहेनछ भन्‍ने पनि बुझेँ।

हारले अझै मेहनत गर्न सिकाउँछ, तपाईंको लक्ष्य चाहीँ के छ?

म ओलम्पिक खेल्न चाहन्छु। ओलम्पिक क्‍वालिफायर २०१६ फिलिफिन्समा कास्य पदक जितेकी थिएँ। त्यसबेलाबाट कास्य पदक पाउनेले ओलम्पिक खेल्न नपाउने नियम आयो। त्यसपछि मेरो सपना त्यहीँ तुहियो।

भनेपछि आफू लाई 'अनलक्की' ठान्‍नुहुन्छ?

ओलम्पिक खेल्न नपाउँदाको क्षण सम्झिँदा भने म त्यति लक्की होइन भन्‍ने लागेको थियो। समग्रमा भन्‍नुपर्दा  जिन्दगीमा लक्की र अनलक्की भन्‍ने सोच आइरहन्छ। यो सामान्य कुरा पनि त हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.