जेब्रा क्रसिङमै मान्छे मारिने देशमा साइकल चालकलाई चिन्‍ता

|

काठमाडौं : सौरभ ढकाल साइकल यात्रीका  साथै साइकल लेन निर्माण गर्नुपर्छ भन्ने एक अभियन्ता हुन्। उनी काठमाडौंमा तीन वर्षदेखि साइकल चलाइरहेका छन्। साइकल चढ्नभन्दा अगाडि काठमाडौंमा पैदल यात्रा र सार्वजनिक यातायातमा सवार गर्थे उनी। साइकलले मानिसको स्वास्थ्य र सोचमा चौतर्फी विकास गरिरहेको छ।

काठमाडौं जस्ता शहरलाई साइकल सिटीको रूपमा विकास गर्नुपर्ने उनको धारणा छ। काठमाडौंमा एउटा पनि साइकल लेन नहुँदा अचम्म लागेको उनी बताउँछन्। बरु साइकल, पैदल र सार्वजनिक यातायातबीच एक किसिमको सामञ्जस्य र सहकार्य हुनुपर्नेमा उनी विश्वास गर्छन्। सार्वजनिक यातायातमा पनि साइकल राख्‍न सकिने व्यवस्था हुनुपर्ने उनी बताउँछन्।

काठमाडौंका सडकमा साइकल लेन पनि हुनुपर्छ भनेर माग गर्दै सरकारी निकाय र सरोकार निकायसँग छलफल गरिरहेका उनी। सहर सडकमा साइकल चल्ने हुनु भनेको समाज नागरिक जीवन्त छ भन्ने सन्देश दिने उनी बताउँछन्। उनै साइकलयात्रीसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

भर्खरै मात्र ललितपुर महानगरपालिकाले साइकल लेन खोलेको छ। साइकलयात्री भएकोले महानगरको त्यो कदमप्रति के भन्‍नुहुन्छ?

स्थानीय सरकारले साइकल लेन खोलेको छ एकदमै राम्रो काम हो। तर, ढिलो भए पनि राम्रो भएको छ। यो भनेको शहरवासीको भावना बुझेको हो। सहरमा सबै प्रकारका मानिस बस्छन् र हिँडछन् भन्न खोजेको जस्तो हो।

साइकल लेन कत्तिको प्रभावकारी छ जस्तो लाग्छ?

साइकल यात्रीको लागि भनेर त्यो लेन निर्माण गरिएको छैन। जहाँ सडक छ त्यसमा रेखांकन गरिएको छ। त्यसमा मोटरसाइक पनि हिँडिरहेको छ। ठूला चारपांग्रे सवारीसाधन पनि हिँडिरहेका छन्। यसका लागि छुट्टै लेन निर्माण गरिनुपर्थ्यो। सडकदेखि केही भाग माथि हुनुपर्थ्यो।

साइकल यात्रीका लागि सुरक्षाको दृष्टिकोणले कत्तिको भरपर्दो छ साइकल लेन?

साइकल लेन कहाँ निर्माण भएको छ र त्यहाँ मात्र रेखा कोरिएको हो। हिजो रेखा नहुँदा पनि साइकल चलाएको थियौ। मात्र के भयो भने साइकल चालकलाई यो बाटो अब भयो भन्ने मात्र हो। सँगसँगै साइकल पनि चलेको,मोटरसाइकल पनि चलेको, ठूला सवारीसाधन पनि चलेको छ।

त्यहाँ अब सुरक्षा साइकललाई सुरक्षा गरिनुपर्छ भनेर अन्य सवारी चालकलाई चेतना र जागरण भए मात्र सुरक्षित हुन्छ। नत्र, त्यहाँ अहिले पनि साइकल चालकलाई सुरक्षाको चुनौती छ। यो देशमा जेब्रा क्रसिङमा मानिस मारिने देश हो। अझ साइकल लेन र ठूला सवारीसाधनको बाटो एउटै छ कसरी सुरक्षित छ भनेर ढुक्क हुनु।

काठमाडौं उपत्यकामा साइकल लेनको अभ्यास कसरी गरिएको छ?

लेनको अभ्यासको कुरा गर्ने हो भने त यहाँ आशा गर्ने गरी नै त भएको छैन। तर, पनि केही बनेका छन्। सिनामंगलदेखि पशुपति क्षेत्रको तिलगंगासम्म १०-१२ वर्ष अगाडि भएको हो। पछि त्यसलांई पैदल मार्गको लागि विस्तार गरिएको छ। त्यसलाई खासै साइकल लेनको लागि प्रयोगमा ल्याइएन।

पछिल्लो चरणमा माइतीघरदेखि तिनकुनेसम्म साइकल लेनको लागि भनेर नै बनाइएको छ तर त्यहाँ त्यसरी उपयोग गरीहाल्ने जसरी निर्माण भएको छैन। जसरी निर्माण गरिएको छ त्यो प्रयोग गर्नलाई उपयुक्त छ जस्तो लाग्दैन। वैज्ञानिक मापदण्डअनुसार निर्माण भएको छैन।

ललितपुर महानगरपालिकाको यो कार्यबाट अन्य नगरपालिकाले के सिक्न सक्छन् ?

साइकल चढनेलाई उत्साह थपेको छ। किनभने यो रेखांकनलाई अब साइकल लेन छुट्टै निर्माण गर्नलाई प्रोत्साहन मिल्छ। ५ किमिको लेन बनेको छ यो राम्रो नगरपालिकामा सबै प्रकारका मानिस र साधनहरु छन सोच भनेर केही नयाँ कामको थालनी भएको हो। फेरि यो सबैथोक होइन।

निर्माण भएका लेन किन प्रयोगमा आउन नसकेको हो ?

साइकल चलाउने र अन्य सवारी साधन चलाउनेको बिचमा असमझारी छ। साइकल नचलाउनेले यहाँ फुटपाथको प्रयोग गरेका छन्। स्पष्ट निर्देशन नहुदा लेन सञ्चालनमा आउन सकेको छैन। यसको लागि स्थानिय सरकारले साइकलको लागि छुट्टै ‍ऐन निर्माण गरिनुपर्छ।

उपत्यकामा कहाँ कहाँ लेन निर्माण गरिनुपर्छ जस्तो लाग्छ ?

काठमाडौं उपत्यका भित्र त सबै ठाउँमा साइकल लेन निर्माण गरिनुपर्छ। ५ सय मिटरको दुरीमा यहाँ चोक छ। यतिको नजिक चोक भएको कुनै पनि सहर अरु देशमा छैनन् होला।

साइकल लेन निर्माण भए यहाँको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने थियो। साइकल लेन मार्फत यहाँको सम्पदाहरु भ्रमण गर्न सकिन्छ। साइकलबाट एउटा विश्व सम्पदाबाट अर्को विश्व सम्पदा सम्म पुग्न ५ किमि भन्दा कम दुरी छ। यसले यहाँको पर्यटन क्षेत्रलाई समेत उजागर गर्न सक्छ।

काठमाडौं उपत्यकामा साइकल लेन बन्न नसक्‍नुको कारण के होला?

साइकल लेन एउटा माध्यम हो। साइकल लेन छ तर पैदल यात्रीको लागि बाटो छैन भने त मानिस साइकल लेनबाट हिँडछन्। योजनाबिना हरेक मार्ग निर्माण भएका छन्। दीर्घकालीनरूपमा निर्माण गर्नुपर्छ। साइकल लेन कहाँ कहाँ जरुरी छ त्यसका लागि अध्ययन गर्नुपर्छ। यहाँ जे छ त्यसका लागि अध्ययन छैन र अर्को कुरा भनेको यहाँ साइकल केही पनि होइन भन्ने भएर होला सायद।

साइकलमा मानिसको आकर्षण बढिरहेको छ किन होला?

दुईवटा कारण छन्। एउटा व्यक्तिगत स्वास्थ्यको कारण र वातावरणमा मेरो तर्फबाट कम प्रदूषण होस भनेर मानिस सचेत भएका छन्। व्यक्तिगत रूपमा वातावरणलाई के योगदानलाई गर्न सक्छु भनेर सोच्छन् त्यसैले पनि साइकल चलाएर पनि वातावरण बिगार्दिनँ भनेर हो। अर्को कारण भनेको उपत्यकाको सवारी जाम र अन्य सवारीसाधनको तुलनामा साइकल सुरक्षित हुनु पनि हो।

साइकल लेनले पर्यटकलाई कत्‍तिको आकर्षित गर्न सक्छ?

सक्छ कसरी भने विश्व सम्पदा क्षेत्रमा साइकलको मात्र प्रवेश लगाउनुपर्छ। विदेशीहरूले आफ्नो मुलुकमा धेरैजसो साइकल चलाउँछन्। यहाँ साइकल लेन भयो भने पनि उनीहरूलाई साइकलको प्रयोगले लोभ्याउन सक्छ। अनिवार्य बन्छ अझ उपत्यका त धेरै सम्पदा भएको ठाउँ हो। सम्पदा साइकल लेन बनाएर सम्पदाको भ्रमण गर्न सकिन्छ।

साइकल लेन निर्माण गर्न काठमाडौं महानगरपालिकाले के गर्न सक्छ?

काठमाडौं महानगरपालिकाको अब पालो छ साइकल लेन निर्माण गर्नका लागि सँगैको महानगरपालिकाले बनाइसकेको छ। साइकल लेन निर्माण गर्न गाह्रो छैन। सबैभन्दा चासो के मा दिएको छ भन्ने हो। तत्काललाई सडकमा नै रेखांकन गर्न सकिन्छ। लेनको लागि उपयुक्त स्थान खोज्नुपरो।

चल्तीको सडकलाई पनि गर्न सकिन्छ वा विशेष स्थान खोजेर पनि निर्माण गर्न सक्छ। माइतीघरदेखि तीनकुनेसम्मको फुटपाथ सडकलाई नै साइकल लेन तोक्न सक्छ महानगरपालिकाले।

ठूला सवारीका लागि लेन बनाइने तर साइकल लेन नबनाइनुमा के कुराले प्रभाव पारेको जस्तो लाग्‍छ?

राज्यको सोच्ने शैलीमा संस्कारको विकास नभएर हो। सच्चा प्रजातन्त्र पैदल यात्रीको लागि हो। जहाँ उनीहरूको लागि सहर र पैदल मार्ग निर्माण गरिएको हुन्छ। पैदलयात्री केन्द्रित नभएर सवारीसाधन केन्द्रित सडक निर्माण भएका छन् यो एकदमै दुःखद कुरा हो। लोकतन्त्रको मर्यादा नाघिएको जस्तो आभाष हुन्छ। लाग्छ साइकल यात्री र पैदल यात्री एकै हुन। राज्यको पहिलो आँखा यिनीहरूमा जानुपर्थ्यो तर त्यसो भएको छैन।

साइकल चढ्ने मानिसलाई अझै पनि न्‍यून दृष्टिकोणले हेरिन्छ। के ले मानिसलाई यस्तो बनाउँछ?

समाज अहिले कार केन्द्रित भएको छ। जोसँग कार छ त्यो मात्र सभ्य र सम्पन्न मानिस हो भन्ने सोच विकास भएको छ। साइकललाई वर्गीय नजरले हेर्ने भएकोले यस्तो सोचेका हुन्। सबैभन्दा ठूलो कुरा कस्तो मानिस कस्तो संस्कारमा हुर्केको छ त्यहीँ मनोविज्ञान निर्माण हुने भएकोले यस्तो सोचेका हुन्। साइकललाई हेयको दृष्टिकोण राख्नु भनेको साइकल चढ्ने मानिस कमजोर होइन त्यस्तो सोच राख्ने मानिसको सोचविचार नै कमजोर हो भनेर बुझ्दा हुन्छ। अब यो सोच निरन्तर गयो भने समाज र मानिसलाई भयानक असर गर्नेछ।

साइकल चलाउँदा स्वास्थ्य र शरीरलाई के फाइदा गर्छ?

स्वास्थ्य तन्दुरुस्त राख्छ। शरीर सधा चलायमान हुन्छ। हो केही प्रदूषणबाट असर गर्ला, ट्राफिक जाममा बस्ने झन्झट हुन्न। आफ्नो कारणले वातावरण प्रदूषण हुन्न। आर्थिक रूपमा बजेट बचत वा इन्धनको प्रयोग गरिन्न यो एकदमै फाइदाजनक कुरा हो साइकल चलाउनु।

विदेशको साइकल लेन हेरेर हाम्रो देशको अवस्था कस्तो छ?

हाम्रो देशको अवस्था शून्य छ। केही बनेको छैन। भर्खरै बनेको छ तर त्यो पुरानो सडकमा रङ लगाएको मात्र हो। विदेशमा त निर्माण गर्दादेखि पूर्णरूपमा इन्जिनियरिङको व्यवस्था सम्पूर्ण अध्ययन गरेर बनाइएको हुन्छ। नेपालमा हल्ला मात्र भएको हो। आशा गरौँ केही होला, आशा गर्ने ठाउँ बन्दैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.