|

सिन्धुपाल्चोक : विभिन्न अपराधमा जिल्ला कारागार चौतारामा कैद भुक्तान गरिरहेका कैदीबन्दीहरू समय र सीपको सदुपयोग गर्दै आर्थिक उपार्जन गर्न थालेका छन्। खाली बसेर दिन कटाउने उनीहरु मुढा बुन्ने काममा लागेपछि समयको सदुपयोगका साथै आम्दानीसमेत गर्न थालेका हुन्।

जिल्ला कारागार चौताराको कारागार भवनको क्षमता जम्मा ७ जनाको हो। ७२ सालको भूकम्पअछि महिला कैदीबन्दी राख्न प्रयोग गरिने कारागारमा अहिले एक सय १५ जना पुरुष कैदी राखिएको छ। एउटै कोठामा तलातलाको खाट बनाएर लस्करै सुतेर उनीहरु रात काट्छन्।

धेरै संख्यामा भए पनि खानेपानीबाहेक अरू समस्या नभएको उनीहरूले बताएका छन्। यहाँका कैदीबन्दीहरूले दिनको समयमा पनि कोठाबाट बाहिर निस्कन पाउँदैनथे।

कारागार व्यवस्थापनले गत असारबाट कारागारको भित्री प्रांगणमा समेत घुम्न मिल्नेगरी सुरक्षा व्यवस्था मिलाएपछि कैदीबन्दी आयआर्जनका काममा लागेका हुन्।

मासिक चार हजार कमाइ

मुढा बनाउन सबैलाई बेग्लाबेग्लै जिम्मेवारी दिइएको छ। कोही चोया बाँध्ने काम मात्र गर्छन् भने कोही जाली बुन्ने र कोही टायर बाँध्ने काम गर्दछन्। यसरी सबै मिलेर काम गरेर तयार भएको मुढा बिक्री भएपछि सबैले आफ्नो काम अनुसारको मूल्य पाउने कारागारमा मुढा बनाउन सिकाउने कालीगढ बताउँछन्।

अन्य कारागारमा बसेर मुढा बनाउन दक्ष भएका कालीगढले उनीहरूलाई सीप सिकाएका हुन्। ‘सबैजनालाई फरकफरक जिम्मेवारी दिइएको छ,’ उनले भने, ‘मुढा बनाउन आवश्यक सामग्रीको जोहो भने हामीले नै गरिदिने छौं।’

यसरी मुढा बनाउदा त्यतिकै खेर जाने समयको सदुपयोग भएको एककैदीले बताए। फुर्सदको उपयोग गर्दै गरेको कामबाट मासिक चार हजार कमाइ हुने गरेको ती कैदीले बताए। ‘उसै बस्नु पर्थ्‍यो,’ ती कैदीले भने, ‘महिनाको तीन चार हजार रुपैयाँ भए पनि कमाई त हुन्छ।’

यसरी मुढा बुन्दा कैदीबन्दीकाबीच आपसी सहयोगको भावना वृद्धि भएको जिल्ला कारागार चौताराका प्रमुख कृष्णमणी फुँयालले बताए। कारागारमा बन्ने मुढा अन्य ठाँउमा पाइनेभन्दा आकर्षक  र बलियो हुने हुनाले उपभोक्ताहरु कारागारमै आएर किन्ने हुँदा बजारको समस्या नभएको फुँयालले बताए।

‘कारागारमा मुढा उत्पादन हुन्छ भन्ने थाहा भएका उपभोक्ताहरु कारागारमै आएर खरिद गर्ने हुनाले बजारको खासै समस्या छैन’ प्रमुख फुँयालले भने, ‘ठाउँ अभाव भएका कारण ढाका बुन्ने काम भने गराउन पाइएको छैन।’

कैद भुक्तान गरेर घर फर्किंदा हातमा सीपसमेत लिएर फर्कंदा उनीहरुलाई समाजमा स्थापित हुन र स्वरोजगार हुन समेत मद्दत मिल्नेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.