निकुञ्जले पठायो कम्पनीलाई पत्र

|

डोल्पा :  डोल्पाको आकाशमा विभिन्न कम्पनीका हेलिकोप्टरहरु धेरै नै उड्छन्। डोल्पासम्म सडक सञ्जालको राम्रो पहुँच नभएकाले जिल्ला बाहिर आवत–जावत गर्न र बिरामीहरुको तत्काल उद्धारकालागि हेलिकप्टरको प्रयोगहुने गर्छ। 

डोल्पा सिधा  सडक यातायातको पहुँच नभएकाले आकस्मिक कार्यकालागि पाँच देखि आठलाखसम्म पैसा तिरेर हेलिकप्टर चार्टर गर्नु पर्ने बाध्यता छ। कठिन भुगोल र बिग्रको मौसममा पनि अवतरण गर्न सकिने भएकाले अन्यत्र जिल्ला भन्दा डोल्पामा हेलिकप्टरको धेरै प्रयोग हुँदै आएको छ।

डोल्पामा धेरैजसो पर्यटकको रेस्क्यु एवम् सुत्केरीको उद्धारकालागि हेलिकप्टर प्रयोग हुने गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। यतिमात्र नभइ ब्यापारीहरुले यार्सागुम्बा सिजनमा यार्सागुम्बा बिक्री वितरण गर्न चीनको सीमाक्षेत्र, नेपालगञ्ज, काठमाडाैंलगायतका शहरमा लैजान समेत हेलिकप्टरको प्रयोग हुन्छन्।

ब्लु डायमण्डको रुपमा परिचित फोक्सुण्डा ताल हेर्नका लागि समेत आन्तरिक तथा बाह्य पर्यटकहरु हेलिकप्टर रिर्जभ गरेर समेत आउने गर्छन्।

निजी हेलिकोप्टरको मनपरि

डोल्पा पुग्ने विभिन्न कम्पनीका हेलिकप्टर बिना अनुमति जथाभावि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवतरण गर्ने गरेको पाइएको छ। निकुञ्ज क्षेत्रको संम्वेदनशिलतालाई ख्याल नगरेर हेलिकप्टरहरु जथाभावि आवत जावत गर्ने गरेको बताइएको छ।  डोल्पा आउने बिभिन्न कम्पनीका हेलिकोप्टरहरु जथाभावि उडाउँदा र अवतरण गराउँदा निकुञ्जको जैविक विविधता संरक्षणमा समेत चुनौति देखिएको भन्दै निकुञ्जले आपत्ति जनाएको छ।

अनुमतिविना नै निकुञ्जको कोर क्षेत्रमा समेत धमाधम हेलिकप्टर अवतरण भइरहेको स्विकार गर्दै पुरातात्विक मुर्ति, दुर्लभ वन्यजन्तुका अखेटोपहार, बहुमल्य जडिबुटिको चोरी तस्करीको डर उत्तिकै रहेको निकुञ्जले जनाएको छ।

विगतका वर्षहरुमा निकुञ्ज क्षेत्रमा पर्ने विभिन्न गुम्बाहरुबाट शे–गुम्बा,राहप गुम्बा,थासुङ् छोलिङ गुम्बालगायतका उपल्लो डोल्पाका अधिकाशं गुम्बाहरु शृङ्खलाबद्ध रुपमा चोरी भइसकेका छन्।

हेलिकप्टर कम्पनीहरुले निकुञ्ज स्थापनाको औचित्य माथिनै धावा बोल्दै जथाभावि उडाउँदा बन्यजन्तुलाई असर परेको समेत निकुञ्जको भनाइ छ।

निकुञ्जले काट्यो पत्र

जथाभावि हेलिकप्टर उडाउँदा निकुञ्जको संरक्षणमा असर पुगेको बताउँदै आगामी दिनमा निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडाउनु र अवतरण गर्नु पूर्व अनुमतिसहित निकुञ्जको सुरक्षार्थ बसेको इश्वरी बक्स गुल्म सुलिगाडमा रहेको हेलिप्याडमा अवतरण गराएर सेनाद्धारा जाँचगर्नुपर्ने भन्दै निकुञ्जले हेलिकप्टर कम्पनीलाई पत्र काटेको छ।

त्यतिमात्रै नभई निकुञ्जमा हालसम्म हेलिकप्टर अवतरण बापतको एक रुपैयाँ पनि शुल्क नउठेकाले हेलिकप्टर कम्पनीहरुले रावश्व समेत छलि गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३३ ले दिएको अधिकारलाई प्रयोग गरेर बनेको हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को अनुसुची १ को घ(४) बमोजिम पत्राचार गरिएको निकुञ्जले जनाएको छ।

एउटा हेलिकप्टर अवतरण गराउँदा प्रत्येक पटक लाग्ने तीन हजार शुल्क बुझाई आउँदा जाँदा दुबै पटक जाँच गर्नुपर्ने उल्लेख गर्दै डोल्पा उडानगर्ने हेलिकोप्टरहरु एभरेष्ट, माउन्टेन, सिम्रिक,मनाङ एयर, समिट एयर, एयर डाइनेष्ट्रिसहितका निजि हेलिकप्टर कम्पनीलाई पत्राचार गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।

सम्पुर्ण हेलिकप्टर कम्पनीहरुलाई पत्राचार गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहल काठमाडौं, ईश्वरी बक्स गुल्म सुलिगाड, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई समेत बोधार्थसहित जानकारी गराइएको छ।

नेपालकै ठुलो र नेपालकै गहिरो फोक्सुण्डो ताल समेत भएको शे–फोक्सुण्डो निकुञ्जलाई जोगाउनु सबैको कर्तब्य भएको बताउँदै जानकारी पाएर पनि अटेरीगर्ने हेलिकप्टर कम्पनीलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही गरिने समेत उनले बताए।

प्रशासनले जाँचगर्न नपाउने

हालसम्म निकुञ्ज क्षेत्रमा पनि हेलिकोप्टर उडानको अनुमति र जाँच जिल्ला प्रशासन कार्यालयले गर्ने गरेतापनि आगामी दिनमा जिल्ला प्रशासनले गर्न नमिल्ने प्रमुख संरक्षण अधिकृत पौडेलले बताए।

अब निकुञ्ज क्षेत्रमा उड्ने हेलिकप्टरलाई निकुञ्जलेनै अनुमति दिने, शूल्क तिराउने र चेकजाँचगर्ने बताउँदै निकुञ्ज क्षेत्रमा नपर्ने ठाउँमा प्रशासनले नियमन गर्दा कुनै आपत्ति नहुने उनको भनाइ छ। 

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीकाअनुसार डोल्पा आउने सम्पुर्ण हेलिकोप्टरलाई विगत देखिनै प्रहरीले आउँदा जाँदा कडाइका साथ चेकजाँच गरिरहेको बताए।

निकुञ्ज क्षेत्रमा बस्ने हेलिकप्टर सुरक्षाकालागि बसेको सेनाले नै जाँचगर्नुपर्ने विषयलाई निकुञ्ज र प्रहरी प्रशासन बसेर टुङ्ग्याउने उनको भनाइ छ। 

डोल्पा र मुगु जिल्लाको ३५५५ बर्ग किमी क्षेत्रफलमा फैलिएको शे–फोक्सुण्डो निकुञ्मा दुर्लभ बन्यजन्तु हिँउ चितुवा, कस्तुरी मृग, रेडपाण्डा, निल भेडालगायतका वन्यजन्तु र बहुमुल्य जडिबुटी, बहुमल्य पत्थरहरु समेत पाइने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.