|

भद्रपुर : झापा जिल्लामा दैनिक सवारी दुर्घटना हुन थालेका छन्। सवारी दुर्घटना परी गएको चार दिनमा एक महिलासहित ६ जनाले ज्यान गुमाएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

झापा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि राजमार्ग र सहायक राजमार्गमा विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आए पनि जिल्लामा सवारी दुर्घटना न्यूनीकरण हुन सकेको छैन। यसैक्रममा ट्रक र कारसँग मोटरसाइकल ठोक्किँदा मंगलबारर बिहानमा झापामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्ला अमरदह नगरपालिका २ बस्ने २३ वर्षीय किशन साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कनकाई नगरपालिका ४ स्थित कोटीहोमनजिकै सडक छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाइकल ट्रकको पछाडि भागमा आफैँ ठोकिएको थियो।

ट्रकमा ठोकिएको मोटरसाइक उछिटिँदा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारसँग ठक्कर खायो। कारसँग ठक्कर खाने मोटरसाइकल चालक साह गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याएलगतै चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ।

ट्रक र कारसहित दुवै चालकलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएको जनाइएको छ। त्यस्तै मंसिर २० गते कारको ठक्करबाट बिर्तामोडमा दुई जना साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला श्रीजंगा गाउँपालिका ४ तेलोक घर भई हाल बिर्तामोडमा डेरा गरी बस्ने अन्दाजी १९ वर्षीय लीला भन्ने रोवर्ट विष्ट र सुर्खेत घर भएका अन्दाजी २१ वर्षीय शिवप्रसाद सुवेदी रहेको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

प्रहरीका अनुसार गत शुक्रबार राति बिर्तामोड १ स्थित पुरानो यातायात रोडको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतमा दक्षिणबाट उत्तरतर्फ गइरहेका साइकलयात्री विष्ट र सुवेदीलाई सोही दिशातर्फ गइरहेको को २ च ३६२ नम्बरको गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका विष्ट र सुवेदीलाई तत्काल उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएकोमा साइकल चालक सुवेदीको सोही दिन उपचारको क्रममा मृत्यु भएको थियो। घाइते विष्टको आइतबार उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

बिर्तामोडस्थित भद्रपुर रोडको प्लास्टिक पसलमा काम गर्दै आइरहेका दुवै जना राति डेरा फर्किने क्रममा अर्जुनधारा नगरपालिका बस्ने २९ वर्षीय विक्रम पौडेलले चलाएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ। त्यसैगरि मंसिर २१ गते पूर्व पश्चिम राजमार्गअन्तर्गत विरिङ पुलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा कनकाई नगरपालिका ३ बस्ने २४ वर्षीय नितेश न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

प्रहरीका अनुसार कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाइकल र  विपरित दिशातर्फ जाँदै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक न्यौपाने र अर्को मोटरसाइकल चालक दमकस्थित गोर्खाली टोल बस्ने २५ वर्षीय सोनु लिम्बू घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बि एन्ड सी अस्पताल लगिएकोमा न्यौपानेको बाटैमा मृत्यु भइसकेको थियो।

मंसिर २१ गते बिहान श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर उनकै श्रीमतीको कमल गाउँपालिका ७ बस्ने ५३ वर्षीया ज्ञानदेवी धिमाल मृत्यु भएको छ। प्रहरीका अनुसार कमल गाउँपालिका ७ बाह्र घरे चोकस्थित पाडाजुंगी गौरीगञ्ज भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प १२२९ नम्बरको मोटरसाइकल तुलसीराम धिमालले कुदाइरहेको अवस्थामा पछाडि सवार उनकी श्रीमती ज्ञानदेवी सडकमा लडेर गम्भीर घाइते भएकी थिइन्।

घाइते उनलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पुर्‍याएलगतै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। त्यस्तै मंसिर २० गते मेची राजमार्ग अन्तर्गत झापाको धाइजनमा बोलेरो जिपको ठक्करबाट बुद्धशान्ति गाउँपालिका ३ बस्ने ७० वर्षीय वृद्ध हरिप्रसाद न्यौपानेको मृत्यु भएको छ।

पैदलयात्री वृद्ध न्यौपानेलाई बिर्तामोडबाट इलाम तर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ज ३४०० नम्बरको बोलेरोले जिपले ठक्कर दिएर लडाएका थिए। सोही बेला इलामतर्फ जाँदै गरेको मे १ ज ३१९६ नम्बरको गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

घाइते उनलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको थियो। त्यसैगरी मंसिर २० गते बिहान पूर्व पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडक खण्डको रेखा पुलनजिकै बस दुर्घटनामा परी १३ जना घाइते भएका थिए।

दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्बरको बस दुर्घटनामा हुँदा बसका सह चालक मोरङ जिल्ला पथरी १ बस्ने ३० वर्षीय विकास लिम्बू, दमक १० बस्ने २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ १९ वर्षीय पवन खड्का, उर्लाबारी  ३ बस्ने १७ वर्षीया स्मृति धिमाल, दमक १० बस्ने १४ वर्षीय अभय धिमाल, मोरङ उर्लाबारी ७ बस्ने २२ वर्षीया माया धिमाल, दमक १० बस्ने १८ वर्षीया विविशा धिमाल, सोही ठाउँका १९ वर्षीया विनीता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.