|

म्याग्दी : बेनी नगरपालिका–४ वास्कुनाका सुन्तला बगानमै बिक्री हुँदा किसान दंग छन्। अन्यत्रका भन्दा बास्कुनामा उत्पादित सुन्तला मीठो हुने र पोखरामा महँगोमा बिक्री हुने भएकाले पोखराका व्यापारीहरु यतिबेला बास्कुनाका सुन्तला बगानमै सुन्तला खरिद गर्नका आएका छन्। उनीहरुले ३० लाख रुपैयाँका सुन्तला खरिद गरेका छन्।

परम्परागत खेतीपाती छोडेर सुन्ताला खेतीतर्फ लागेका वास्कुनाका किसान घरमा नगद बुझ्न पाएपछि मख्ख छन्। बोटबाटै प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बिक्री भएको वास्कुनाका अगुवा कृषक तिलक गुरुङले जानकारी दिए। सुन्तलाका लागि पकेट क्षेत्र मानिने वास्कुनामा पोखराबाट आएका व्यापारीहरु यतिबेला सुन्तला टिप्न, प्याकिङ गर्न र पोखराका बजारमा पठाउन व्यस्त छन्।

‘मिहिनेतअनुसारको सुन्तला फलेको छ,’ किसान गुरुङ भन्छन्, ‘बारीबाट नै यहाँका किसानले नगद बुझेका छन्।’ उनका अनुसार व्यपारी बीचको प्रतिस्पर्धाले विगतका तुलनामा किसानलाई फाइदा भएको छ। वास्कुनामा यस वर्ष ६ हजार बोटमा सुन्तला फलेको गुरुङले बताए। १४ हजारभन्दा बढी नयाँ बोटले आगामी वर्षदेखि फल दिने भएकाले तीन वर्षपछि बास्कुनाबाट एक करोड रुपैयाँभन्दा बढीको सुन्तला निर्यात हुने अनुमान छ।

पछिल्लो वर्ष सुन्तला बगैंचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गरेकाले सुन्तलाको दाना राम्रो, रसिलो र बढी गुलियो भएको बताइएको छ। बेनी हुँदै विस्तार गरिएको सडकसँगै सुन्तला बगानसँग सडक जोडिएकोले सुन्तला बिक्री सहज भएको किसानहरु बताउँछन्।

बास्कुनामा २० हजारभन्दा बढी बोट समेत बिस्तार गरिएको छ। खाली जमिन, खोल्साखोल्सी तथा आसपासमा रहेका खेतीयोग्य जमिनहरुमा समेत धमाधम सुन्तला खेती गरिएकाले जिल्लामा सबैभन्दा धेरै सुन्तला बिक्री हुने गाउँ बनाउन सकिने स्थानीय युवा सन्दिप केसीले बताए। उनका अनुसार बास्कुनामा सुन्तलाको व्यावसायिक खेती हाल न्युजिल्याण्डमा रहेका लालबहादुर केसी र तिलक गुरुङले गरेका हुन्। 

बास्कुनाका २२ घरधुरी किसानले व्यवसायिक रुपमा नै सुन्तला खेती गरिरहेका छन्। म्याग्दीमा बास्कुनासँगै भकिम्ली, पात्लेखर्क, बरंजा, अर्मन, देवीस्थान, बिम, ताकम,  मुदी, मराङ, घतान, घार, भुरुङ तातोपानीलगायतका गाउँमा सुन्तला खेती गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.