सुवास नेम्वाङ र अग्‍नि सापकोटा अगाडि!

|

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अघिवेशन बोलाएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको चर्चा चुलिन थालेको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा गएसँगै नयाँ सभामुखको लागि नेकपाभित्र चर्चा सुरु भएको हो। 

राष्ट्रपतिले पुस ४ गतेका लागि संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन बोलाएपछि नेकपाभित्र सभामुखका लागि दाबेदारको दौडधुप चलेको हो।

पुस ४ गते सभामुखको टुङ्गो लाग्‍ने भएपछि सभामुखको दाबी गरिहेका नेताहरु आफूनिकट नेताहरुसँगको परामर्शका लागि सक्रिय भएका छन्।

सभामुखको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको स्रोतको भनाई छ। सभामुखका लागि नेकपाभित्र धेरै नेताहरु आकांक्षी छन् ।  

ओली र प्रचण्ड सभामुखका लागि पूर्वसभामुख तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका लागि सहमतिनजिक पुगेको उनीहरुनिकट स्रोत बताउँछ।  तर, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट नहट्ने अडान कायमै राखेपछि ओली-प्रचण्ड सभामुखको लागि नयाँ गृहकार्यमा जुटेका हुन्। 

उपसभामुख तुम्बाहाम्फेलाई यसअघि नै प्रचण्ड र ओलीले राजीनामा गर्न आग्रह गरेका थिए। राष्ट्रपतिकोसमेत साथ पाएपछि तुम्बाहाम्फेले आफ्नो आडान कायमै राखेपछि सभामुखमा नयाँ अनुहार ल्याउने रणनीतिमा पुगेका हुन् दुई अध्यक्ष।

पार्टी एकताअघि तत्कालीन माओवादी केन्द्रको भागमा रहेको सभामुख पद अहिले पनि आफूनिकटकै नेतालाई ल्याउने रणनीतिमा प्रचण्ड लागेका छन्। तत्कालीन माओवादी केन्द्रले सभामुखको पद आफ्नो भागबाट गुमाउन चाहेको छैन। तर प्रधानमन्त्री ओली पनि सभामुखमा आफ्ना विश्वासपात्र ल्याएर कार्यपालिकालाई व्यवस्थापिकाबाट भइरहेको अफ्ठेरो सहज बनाउने पक्षमा छन्।

उपसभामुख तुम्बाहाम्फेले आफ्नो अडान नछाडेपछि विकल्प खोज्न थालिएको छ। ओली र प्रचण्ड दुवैको सहमतिमा नेम्वाङलाई बनाउने तयारीमा पुगे पनि उपसभामुखले आफ्नो दाबी कायमै राख्दा सभामुख पद नेकपाभित्र थप पेचिलो बन्दै गएको छ । 

उपसभामुखको अडानपछि प्रचण्डले पनि आफूनिकट अग्निप्रसाद सापकोटालाई सभामुखमा ल्याउने कसरतमा जुटेको उनीनिकट स्रोतको भनाई छ। तत्कालीन माओवादी केन्द्रको भागमा रहेकाले अध्यक्ष प्रचण्डले आफूनिकटका सापकोटालाई सभामुखमा ल्याउन चाहेका हुन्। 

तत्कालीन पुर्वमाओवादीबाट सभामुख पदका लागि सापकोटासँगै देव गुरुङ, ओनसरी घर्ती मगर र पम्फा भुसालको नाम चर्चामा छ। उनीहरुले सभामुखका लागि आफ्नो दावी गरिहरेका छन् । 

उपसभामुखलाई लिएर नेकपाभित्र फरक खालको भनाइ नेताहरूले राख्दै आएका छन्। पूर्वमाओवादीले सभामुखमा आफ्नो दाबी गरिहेको बेलामा नेकपाभित्रकै अर्को धारका नेताहरुले पनि सुवास नेम्वाङ अनुभवी भएकाले पनि उनैलाई बनाउनुपर्ने अडान लिएका छन्।

यद्यपि, उपसभामुखले आफ्नो दावी कायमै राखेपछि यतिबेला नेकपाभित्र सभामुख कसलाई बनाउने अन्योल कायमै छ। सभामुखको बिषयमा पार्टीको यही २७ गते बस्न लागेको सचिवालय बैठकमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

पार्टीको बैठकपछि निर्णय

सभामुखको बिषयमा धेरै चर्चा भएपनि पार्टीको बैठकपछि मात्रै सभामुखको बिषयमा निर्णय हुने नेकपाका स्थायी कमिटी सदस्य तथा प्रमुख सचेतक देव गुरुङ बताउँछन्। ‘सभामुखको बिषयमा पार्टीभित्र धेरै आकांक्षी देखिएका छन्। त्यसका लागि छलफल आगामि सचिवालय र स्थायी समितिको बैठकले निर्णय गर्छ’, उनले भने। 

‘राष्ट्रपतिले हिउँदे अधिवेश डाक्नुभएको छ, त्यही बेलामा सभामुखको टुङ्गो हुन्छ,’ उनले भने, ‘पार्टीभित्र छलफल चलिरहेको छ। कसलाई बनाउने भन्नेमा आगामी सचिवालय र स्थायी कमिटिको बैठकले निधो गर्छ।’    

नेम्वाङ कि सापकोटा बलियो? 

सभामुखका लागि यतिबेला प्रमुख प्रतिस्पर्धीका रुपमा पुर्वसभामुख नेम्वाङ र स्थायी कमिटी सदस्य सापकोटा देखिएका छन्। उनीहरुसँगै उपसभामुख तुम्बाहाम्फे पनि दौडमै छिन्।

नेम्वाङको बिषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहमतिनजिक पुगेका छन्। तर, तुम्बाहाम्फेले आफ्नो दाबी गरिरँहदा नेकपाभित्र सभामुखको चर्चा चुलिँदै आएको छ । 

नेकपामा प्रमुख सभामुख दावेदारको रुपमा नेम्वाङ र सापकोटा नै देखिएका छन्। नेम्वाङ ओलीनिकट हुन् भने सापकोटा प्रचण्डनिकट हुन्। पूर्वमाओवादीले आफ्नो भागमा रहेको भएकाले सभामुखमा सापकोटालाई नै बनाउनुपर्ने अडान लिँदै आएको छ। पूर्वमाओवादीबाट अन्य नेताहरुको नाम पनि चर्चामा भए पनि बलियो दाबेदार सापकोटा छन्।

कांग्रेसको आफ्नै दाबी 

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन पाउँदैनन्। त्यसैले गर्दा सभामुखको बिषयमा नेकपाभित्र पेचिलो बन्दै गएको हो।दुवै पदमा एउटै पार्टीको हुन नपाउने संवैधानिक व्यवस्थाका कारणले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो भएको दाबी गर्दै आएको छ। 

सत्तारुढ दलले सभामुख पद गुमाउन नचाहेको कारण उपभामुखलाई राजीनामा गराउनुको विकल्प छैन। तर, उनले उक्त पदबाट बाहिरिन मानेकी छैनन्। यसले नेकपालाई अफ्ठ्यारो पारेको छ। नेकपाभित्र सभामुखका सकस गहिरिएको छ। नेकपाको सकसको बेलमा प्रतिपक्षी दल कांग्रेसले आफ्नो दाबी छाडेको छैन। 

पार्टीभित्र सभामुखको चर्चा भइरहँदा अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन्। प्रचण्डले देउवालाई भेटेकोबारेमा पार्टीका नेताहरुले अनभिज्ञता जनाइरहेका छन्।

नेकपाबाट सभामुखमा आएमा उपसभामुख अन्य पार्टीकाे हुने स‌ंवैधािनक व्यवस्था छ। नेकपाभित्र सभामुख आफुले राखेर उपसभामुख अरुलाई दिने रणनीति बनिसकेको छ। नेकपाले कांग्रेस र समाजवादी बाहेकको अर्को दललाई उपसभामुख दिने योजना बनाएको छ। उपसभामुखमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाइ ल्याउने सम्भावना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.