|

इटहरी : आफ्नै महिला अनुयायीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका कृष्णबहादुर गिरी उर्फ कृष्ण दास ’सिद्धबाबा’ यतिबेला अस्पतालमा छन्। उनी अस्पतालमा रहेकाले अदालतबाट अनुसन्धानका लागि तीनपटक म्याद थप गरिए पनि सिद्धबाबाको पूर्णबयान लिन प्रहरीले सकिरहेको छैन।

जतिसक्दो छिटो बयानसहित अनुसन्धानको प्रतिवेदन अस्पतालमा पेस गर्नुपर्ने भए पनि बिरामी भनेर अस्पतालमा बसेकाले प्रहरीले गिरीको बयान लिन नसकेको हो। पक्राउ पर्ने छनक पाएदेखि नै अस्पतालमा बिरामी भन्दै बसेका गिरीलाई प्रहरीलाई हिरासतमा राखेर अनुसन्धान गर्नसमेत पाएको छैन।

उनले प्रहरी हिरासत छल्ने मात्र हैन अस्पतालमा पनि प्रहरीलाई उपचारको नाममा झुलाएर बयान दिएका छैनन्। रोगको यकिन नभए पनि गिरीको यो योजनालाई अस्पतालका चिकित्सकसहित टोलीले पनि साथ दिएकाले प्रहरीलाई गिरीको बयान पूरा गर्न समस्या भएको हो।

कानुनतः २५ दिनसम्म म्याद थप गरेर अनुसन्धान गर्ने समय रहेको छ। प्रहरीले अनुसन्धानका लागि तीन पटकमा अदालतबाट १४ दिनसम्मको म्याद थप गरिसकेको छ। अदालतबाट पहिलोपटक अनुसन्धानका लागि चार दिन, दोस्रो पटक सात दिन र तेस्रो पटक तीन दिनको म्याद थप गरेको थियो। अदालतको म्यादमा बयानको काम पूरा गरेर मुद्दा अदालतमा बुझाउने योजना बनाए पनि गिरीले बयान नदिँदा अनुसन्धान टोलीको नेतृत्व गरिरहेका डिएसपी विनोद शर्माको टिमलाई समस्या भएको हो।

विराटनगर मुनालपथस्थित विराट नर्सिङ होमको डिलक्स रुममा भर्ना भएका गिरीले प्रहरीलाई आफू अस्वस्थ्य भएको बताउँदै जबरजस्ती करणी मुद्दामा बयान दिन अस्वीकार र ढिलाइ गर्ने गरेका छन्। सरकारी वकिल कार्यालयका प्रतिनिधि र प्रहरीको अनुसन्धान टोली पुग्नैबित्तिकै गिरीले सिकिस्त बिरामीको बहाना बनाउने अनुसन्धानमा संलग्न प्रहरी बताउँछन्।

डिएसपी शर्माले पनि गिरीको बयान लिन आफूहरूलाई समस्या भएको स्वीकार गर्छन्। बयान लिन जाँदा अस्पताल परिसरमा प्रहरीलाई मोबाइल लगायतका उपकरण लिएर जान चिकित्सकहरूले रोक्ने गरेका उनी सुनाउँछन्।

बयानको क्रममा गिरीले प्रश्नको जवाफ नै नदिने वा बोल्दै नबोल्ने स्थितिले बयान लिने काम पूरा गर्न समस्या परेको उनले बताए। ‘उहाँ बोल्दै बोल्नु हुन्न, बोल्दा पनि सबै प्रश्नको जवाफ राम्ररी दिनु हुन्न’ शर्मा भन्छन् ’अहिलेसम्म हामीले बयान पूर्ण गर्न सकेका छैनौँ।’

प्रहरीले घटनाको अनुसन्धान लगभग सकिए बताए पनि बयानमा भने समस्या परेको हो। अभियुक्त गिरीको स्वाब, रगत लगायतका परीक्षणको रिपोर्ट आएपछि यसपटक मुद्दा अदालतमा बुझाउने गरी तयारी शर्माले बताए।

बयान लिने बेला सिकिस्त बिरामी जस्ता देखिने गरी अन्य समयमा भने ‍आफ्ना साधकहरू, नजिकका मानिससँग दिनभर कुराकानी गर्दै बस्ने गरेका छन्। मंसिर १२ गतेदेखि विराट नर्सिङ होममा बसेका गिरीले जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा एक दिन पनि नबस्ने योजना बनाएको उनी निकट स्रोत बताउँछ। अनुसन्धानको पूरै समय अस्पतालमै बसेर थुनछेक बहस अदालतबाट सादा तारेख वा घरौटीमा छुट्कारा पाउने सोचमा गिरी रहेको स्रोतको भनाइ छ।

मंसिर २० गते अदालतबाट ७ दिनको म्याद थप गरी अस्पतालमा बसेका गिरीलाई सुनसरी प्रहरीले मंसिर १६ गते अस्पतालबाटै पक्राउ गरेर अदालतमा पहिलो पटक ४ दिनको र दोस्रो पटक सात दिन र तेस्रो पटक तीन दिनको म्याद थपेको छ। तेस्रो पटकको म्याद सोमबार सकिँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.