काठमाडौं : गायक शिरीष देवकोटाले गन्धर्व लयसँग जोडेर नयाँ गीत 'अञ्जुली' सार्वजनिक गरेका छन्। रोइला गीतका लागि परिचित गायक देवकोटाले सोमबार आफ्नै युट्युब च्यानलमार्फत 'अञ्जुली' गीत सार्वजनिक गरेका हुन्।
गीतको लय तथा शब्द संकलन देवकोटा आफैंले गरेका छन्। विशेषगरी समाजका विभिन्न पाटाहरूलाई गीतमा उन्न सिपालु मानिएका देवकोटाले गाउँघरमा घाँसदाउरा गर्दा तथा मेलापातमा गाइने भाका (घाँसे, कोदे, काने)लाई गन्धर्व लयसँग जोड्दै गीत निकालेका छन्।
'धेरै वर्ष पहिले गाउँघरमा घाँसदाउरा, मेलापात गर्दा गाइने भाका (घाँसे,कोदे,काने)सँगै गन्धर्व लय जोडेर गीत तयार भएको छ। असारमा गाइने बाली अनि सुदूर पश्चिममा गाइने ठाडीसँग पनि पनि गीतको शैली मेल खान्छ,' उनले भने, 'यो व्यावसायिक गीत होइन, पुरानो भाका एवं शैली संरक्षणका खातिर यो गीत जन्मिएको हो।' गीत पुरानो भाकामा आधारित भएकाले दर्शक तथा श्रोताले मन पराउनेमा उनी आशावादी देखिन्छन्।
स्मृति तिमल्सिनाले निर्देशन गरेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन्। प्रकाश धमलाले सम्पादन गरेको भिडियोमा स्मृति, आर्यन, शेर, किरन, स्मारिका लगायतको अभिनय रहेको छ।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।